व्यवसायिक तरकारी खेती यसरी गरौँ: मुनाफा उच्च, जोखिम न्यून

जीविको २०७९ चैत २४ गते १६:४०

तरकारी खेतीमा हुने नोक्सानी न्यूनिकरण गर्दै यसबाट उच्च मुनाफा गर्न के कस्ता कुरामा कृषकले ध्यान दिने भन्दै जीविकोले बागवानी विज्ञ डा.सुरेन्द्र लाल श्रेष्ठसँग संवाद गरेको छ । व्यवसायिक तरकारी खेतीका लागि उनले मलखाद, बिउ बिजन, भण्डारणदेखि बजारीकरणसम्म कृषकहरूलाई ६ वटा महत्वपूर्ण कुराहरू सुझाएका छन् ।

प्रस्तुत छ, बागवानी विज्ञ डा.सुरेन्द्र लाल श्रेष्ठसँगको जीविको संवाद:

तरकारी खेती गर्दा बिउ कसरी छान्ने ?

तरकारी यस्तो बाली हो जसबाट सानो क्षेत्रबाट नै प्रशस्त रूपमा फाइदा लिन सकिन्छ । तरकारी खेती गर्दा पनि दुई प्रकारका बीउहरू हुन्छन् । एउटा हुन्छ, वर्णशंकर बीउ जो किसान दाजुभाइले उत्पादन गर्न सक्नुहुन्न । दोस्रो चाहिँ हाम्रै लोकल जातहरू जसलाई स्थानीय बीउ भनिन्छ, किसानहरूले घरमै बीउहरू पनि राख्न सक्नुहुन्छ । हाइब्रिडदेखि बाहेकका बीउहरू चाहिँ थोरै प्राविधिक ज्ञान भए गुणस्तरीय बीउ आफैँले उत्पादन गर्न सक्नुहुन्छ । वर्णशंकर बीउ हामीले छनोट गर्दा चाहिँ रजिस्टर भएको जातलाई छान्नुपर्ने हुन्छ जसलाई उन्मोचन गरिएका बीउ भन्ने गरिन्छ। यसरी पञ्जिकरण गरेका जातहरू परीक्षण गरेर नै उन्मोचन गरिने हुँदा राम्रो उत्पादन दिन्छन् । 

बीउहरू किन्दा प्याकेटमा पनि हेर्नुपर्ने हुन्छ । जसमा कुन जात, कुन हावापानीका लागि उपयुक्त, यसको उमार शक्ति कति हुन्छ भन्ने जस्ता कुराहरू तोकिएको हुन्छ जसमा बीउको डेट समेत तोकिएको हुँदा यसरी मज्जाले प्याकेटमा हेरेर आफ्नो जग्गाको हावापानी अनुकुल बीउ छनोट गरे उत्पादनमा समस्या आउँदैन ।

उत्पादन धेरै हुँदा भण्डारण कसरी गर्ने ?

उत्पादित बालीलाई भण्डारणका लागि कोल्ड स्टोर छ भने कोल्ड स्टोरमा राख्न सकिन्छ । नभए अहिले घरको कोठालाई नै कोल्डस्टोर बनाउन मिल्ने गरि कुल बोट भन्ने प्रविधि आएको छ त्यस प्रविधिलाई प्रयोग गरेर पनि बालीअनुरूप त्यसलाई भण्डारण गर्न सकिन्छ । 

आफ्नै उपयोगका लागि मात्र थोरै उत्पादन भएका बालीहरू छन् भने शून्य शक्तिमा भण्डारण भन्ने प्रविधि पनि छ । जो माटो र इँटाको प्रयोग गरेर बनाइन्छ । यसमा पनि केही दिनसम्म बालीहरूलाई सुरक्षित गरेर राख्न सकिन्छ ।

तरकारी खेतीलाई कस्तो मलखाद उपयुक्त हुन्छ ?

बालीअनुसार मलखादको व्यवस्थापन फरक छ । धान, गहुँ मकै कोदो जस्ता अन्नबालीमा भन्दा तरकारीमा मलखाद बढि चाहिन्छ । अहिले बजारमा आउने तरकारीमा कृषकहरूले अलि बढि युरिया र डिएपोको प्रयोग गर्नुहुन्छ जसले दीर्घकालीन उत्पादनमा ह्रास ल्याएको हुन्छ । त्यसैले मलखादको प्रयोग गर्दा डिएपोसँगै उत्तिकै मात्रामा प्राङ्गारिक मलको पनि प्रयोग गर्नुपर्दछ । अझ तरकारीमा गाईभैँसीको कम्पोस्ट मलको प्रयोग बढी गर्नुपर्दछ । 

बागवानी विद् डा. सुरेन्द्र लाल श्रेष्ठ , फोटो – पुस्कल श्रेष्ठ /जीविको

तरकारीको बजारीकरणको व्यवस्था कसरी गर्ने ?

कृषक दाजुभाइ कहाँको हुनुहुन्छ त्यही अनुसार आफ्नो क्षेत्रको बजारको तरकारीको मूल्य कहाँ कति छ भनेर हेर्ने गर्नुपर्छ । दैनिक इन्टरनेटमा बजारमूल्यलाई हेरेर कुन समयमा कुन बालीको माग र मूल्य बढी हुनेरहेछ भन्ने विश्लेषण गरेर तरकारी उत्पादन गर्न सके तरकारीले राम्रो मूल्य पाउने गर्छ र तरकारी खेर पनि नजाने हुन्छ । 

अर्को महत्वपूर्ण कुरा चाहिँ यदि हाम्रा कृषक दाजुभाइहरूले सहकारी मोडलमा तरकारी उत्पादन गर्न सके बजार पुर्याइरहनु पर्ने झन्झट बेहोर्नु पर्दैन । परिणाममा उत्पादन हुने हुँदा बजार आफैँ तरकारी लिनका लागि तपाईँसम्म आइपुग्छ ।  

यसरी उत्पादनदेखि बजारसम्मको व्यवस्थापन गर्न सके तरकारी खेतीलाई बजार भेटाउन गार्हो छैन ।

तरकारी खेतीबाट हुनसक्ने घाटा, नोक्सानीबाट बच्न के गर्ने ?

केही किसान दाजुभाइहरूले विविध कारणहरूले तरकारी खेतीबाट मुनाफा गर्न नसकेको हुनसक्छ । जसमा धेरै फ्याक्टरहरूले भूमिका खेलेको हुन्छ ।

जसमा प्राविधिक ज्ञानको अभाव, तरकारीको व्यवस्थापन गर्न नसक्नु, रोग किराको व्यवस्थापन समयमा गर्न नसक्नु, एकैपटक एकै प्रकारको तरकारी किसानहरूले उत्पादन गर्न नसकेर, सही जातको बीउहरू छनोट गर्न नजानेर उहाँहरूले मुनाफा गर्न नसकेको हुनसक्छ । यदि माथिका विषयहरूलाई व्यवस्थापन गर्नसके लगानी डुब्ने जोखिमबाट मुक्त हुन सकिन्छ ।

तरकारी खेती गर्नका लागि उपयुक्त जग्गाको छनोट गर्नुपर्छ । तरकारी खेती गर्ने ठाउँमा यातायातको सुविधा हेर्नुपर्छ जहाँ मलखाद लिएर जान, उत्पादन गरेका सामानलाई बजारसम्म पुर्याउनका लागि उपयुक्त यातायातको व्यवस्थापन हुने ठाउँलाई छनोट गर्नुपर्छ ।

त्यसपछि बजार भाउ पनि अध्ययन गर्न सक्नुपर्छ । कुन समयमा कुन तरकारी उत्पादन गर्दा बढि मुनाफा कमाउन सकिन्छ त्यो कुरालाई मध्यनजर गर्दै त्यही अनुसारको बाली उत्पादन गर्नुपर्छ । त्यस्तै जातको छनोट र प्राविधिक ज्ञानलाई मिलाएर लगे हामीले तरकारीबालीबाट अधिक मुनाफा लिन सक्छौँ ।

कृषिका अनुदान, तालिम र अन्य सहयोग कहाँबाट पाइन्छ ?

कृषि ज्ञान केन्द्र, स्थानीय सरकार, प्रदेश सरकारहरूले आफ्ना कार्यक्रमहरूमा कृषकहरूलाई विभिन्न किसिमको तालिमहरू दिने, सहुलियत दरमा उपकरण दिने, बीउ बिजन दिने, अनुदान दिने जस्ता कार्यक्रमहरू समावेश गरेको छ । त्यस्तै टनेल निर्माणहरूमा पनि स्थानीय सरकार, प्रदेश सरकारले सहयोग गरेको छ र सहुलियत पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *