जीविको अपडेट: आर्थिक वर्ष २०८३/८४ काे बजेट
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुरु गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भइरहेको बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षका लागि आम्दानी, खर्च, कर नीति, विकास प्राथमिकता र विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्दैछ।
यो बजेट रोजगारी, सीप विकास, उद्यमशीलता, कृषि, वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल अर्थतन्त्र र सामाजिक सुरक्षाजस्ता विषयका दृष्टिले महत्वपूर्ण मानिएको छ। विशेषगरी देशभित्र रोजगारी सिर्जना, युवालाई स्वरोजगार बनाउने कार्यक्रम, सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण र उत्पादनमूलक क्षेत्रमा लगानीका विषयमा सरकारले कस्ता घोषणा गर्छ भन्नेमा धेरैको चासो छ।
Jibiko Media ले यो बजेटमा युवाका लागि के आयो, रोजगारी र सीप विकासमा के घोषणा भयो, कृषि, उद्यमशीलता, वैदेशिक रोजगारी, शिक्षा, कर तथा आम नागरिकको दैनिक जीवनमा असर पार्ने विषयहरूलाई सरल भाषामा अपडेट गरिरहेको छ।
-
कर्मचारीको तलब करिब २१ प्रतिशतसम्म वृद्धि गरिने
सरकारले कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। आगामी साउनदेखि कर्मचारीको सुरु तलबमानमा २१ प्रतिशत वृद्धि गरिने भएको छ।
वैदेशिक रोजगारीमा शून्य लागतलाई प्रोत्साहन गरिने
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि शून्य लागतलाई प्रोत्साहन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक रोजगारीलाई थप श्रमिकमैत्री र मर्यादित बनाइने बताएका छन्।
उनका अनुसार वैदेशिक रोजगारीमा लाग्ने सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने व्यवस्था गरिनेछ।
त्यस्तै, विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ‘विप्रेषण लगानी मिलान’ कार्यक्रम सञ्चालन गरिनेछ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न रिटर्नी माइग्रेसन कार्यक्रम कार्यान्वयन गरिनेछ।
सरकारले युवालाई कार्यस्थलमै आधारित तालिममार्फत सीपयुक्त बनाउने नीति पनि बजेटमा समावेश गरेको छ।
-
जेन-जी आन्दोलनका घाइतेका लागि उद्यमशीलता कार्यक्रम
सरकारले जेन-जी आन्दोलनका घाइतेहरूका लागि उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले जेन-जी आन्दोलनका सहिदको सम्मान गरिने र सहिद परिवारका लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिएको बताए।
उनका अनुसार आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार, अवस्थाअनुसार मासिक भत्ता र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने
सरकारले देशका प्रमुख सहरहरूमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।
बजेटमार्फत विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने घोषणा गरिएको छ।
यी स्टेडियमहरू आगामी तीन वर्षभित्र निर्माण गरिने सरकारको योजना छ।
-
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमा पढ्ने सुविधा
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमार्फत अध्ययन गर्न पाउने सुविधा दिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई उच्च शिक्षा अध्ययनमा जोड्न यस्तो व्यवस्था गरिने बताएका छन्।
- महिलाका लागि देशैभर ‘ब्लु बस’ सञ्चालन गरिने
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न देशभर सीसी क्यामेरासहितको ‘ब्लु बस’ सञ्चालन गरिने भएको छ।
यसका लागि आवश्यक व्यवस्था मिलाइने सरकारले जनाएको छ।
- १० लाखसम्म व्यक्तिगत आयमा कर छुट – आर्थिक वर्ष २०८३/८४ काे बजेटले १० लाखसम्मको व्यक्तिगत आय करमा छुट दिएको छ ।
-
गैरआवासीय नेपालीलाई सेयर बजारमा सहभागी गराउन कानुन संशोधन गरिने
गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजार अर्थात् सेयर बजारमा सहभागी गराउन आवश्यक कानुनी व्यवस्था परिमार्जन गरिने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशी लगानीको स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता लैजाने व्यवस्था र पुँजीगत लाभकरसम्बन्धी कानुनमा सुधार गरिने बताएका छन्।
-
दलित बालबालिकाको पोषण भत्ता दोब्बर बढाइने
सरकारले दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले दलित बालबालिकाका लागि दिँदै आएको पोषण भत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्याइने बताएका छन्।
बजेटका महत्वपूर्ण घोषणा, युवासँग जोडिएका योजना र Jibiko ले निरन्तर कभर गर्दै आएका विषयहरूको सरल व्याख्याका लागि Jibiko Media सँगै रहनुहोस्।
