मोबाइलबाटै बिना धितो १० लाख रुपैयाँसम्म ऋण: कसले पाउँछ, प्रक्रिया के हो?

जीविको २०८३ जेठ ३१ गते ११:३०

काठमाडौं। अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’ मा पहिलो संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको हो।

तर, १० लाख रुपैयाँसम्मको सीमा सबै ग्राहकका लागि होइन। यो सीमा लघु, साना तथा मझौला व्यवसायीले दीर्घकालीन प्रकृतिको चालू पुँजी कर्जा लिन पाउने अधिकतम सीमा हो। व्यवसायीले अल्पकालीन चालू पुँजी कर्जाका लागि भने बढीमा ५ लाख रुपैयाँसम्म लिन सक्नेछन्।

राष्ट्र बैंकको संशोधित व्यवस्थाअनुसार तलब, पेशागत वा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका व्यक्तिले बढीमा ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन्। यस्तो कर्जाको भुक्तानी अवधि ३ वर्षसम्म हुनेछ। यस्ता खाता नभएका अन्य व्यक्तिका लागि भने डिजिटल कर्जाको सीमा २ लाख रुपैयाँसम्म तोकिएको छ, जसको भुक्तानी अवधि पनि ३ वर्षसम्म हुनेछ।

लघु, साना तथा मझौला व्यवसायीका लागि भने दुई प्रकारको व्यवस्था गरिएको छ। अल्पकालीन चालू पुँजी कर्जा बढीमा ५ लाख रुपैयाँसम्म एक वर्षका लागि लिन सकिनेछ। दीर्घकालीन चालू पुँजी कर्जा भने बढीमा १० लाख रुपैयाँसम्म लिन सकिनेछ। यसको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जा नीतिअनुसार निर्धारण गर्नेछन्।

कर्जा कसरी लिने?

डिजिटल कर्जा लिन ग्राहकले बैंक वा वित्तीय संस्थाको मोबाइल एप वा बैंकले उपलब्ध गराएको डिजिटल पोर्टल प्रयोग गर्नुपर्नेछ। बैंकले आफ्नो मोबाइल एपमार्फत पनि यस्तो कर्जाको आवेदन लिन सक्ने व्यवस्था गरिएको छ।

आवेदन दिएपछि बैंकले ग्राहकसँग सम्बन्धित सूचना र तथ्यांक डिजिटल माध्यमबाट संकलन गर्नेछ। यसमा बैंक खाता, डिजिटल कारोबार, भुक्तानीसम्बन्धी विवरण, व्यवसायको कारोबार विवरण, आम्दानीको प्रवाह, ऋण तिर्न सक्ने क्षमता लगायतका आधार प्रयोग हुन सक्छन्।

बैंकको प्रणालीले ग्राहक कर्जा लिन योग्य छ वा छैन भनेर विश्लेषण गर्नेछ। योग्य देखिएमा ग्राहकलाई डिजिटल माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी दिइनेछ। त्यसपछि स्वीकृत कर्जा रकम ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।

कस्ता ग्राहकलाई प्राथमिकता?

डिजिटल कर्जाको प्रमुख आधार ग्राहकको कारोबार र भुक्तानी इतिहास हो। नियमित कारोबार हुने बैंक खाता, अद्यावधिक केवाइसी, आम्दानीको स्रोत, खाताको सक्रियता, कर्जा तिर्ने क्षमता र कर्जा सूचना केन्द्रको अवस्था जस्ता विषय बैंकले मूल्यांकन गर्न सक्छ।

लघु, साना तथा मझौला व्यवसायीका हकमा डिजिटल कारोबार, भुक्तानी सेवा प्रदायकमार्फत भएको बिक्री, व्यवसायको कारोबार विवरण र अन्य व्यावसायिक तथ्यांक पनि कर्जा विश्लेषणमा प्रयोग हुन सक्छन्। तर यस्तो विवरण ग्राहकको सहमतिमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

भुक्तानी सेवा प्रदायक र प्रविधि कम्पनीको भूमिका

बैंक तथा वित्तीय संस्थाले आवश्यक परे भुक्तानी सेवा प्रदायक वा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न सक्नेछन्। यस्ता संस्थाले आवेदन, ग्राहक मूल्यांकन, कर्जा स्वीकृतिको जानकारी, कर्जा भुक्तानी र साँवा–ब्याज असुली प्रक्रियामा प्राविधिक सहयोग गर्न सक्छन्।

तर कर्जाको जोखिम र जिम्मेवारी सम्बन्धित बैंक वा वित्तीय संस्थामै रहनेछ। कुनै पनि भुक्तानी सेवा प्रदायक वा प्रविधि कम्पनीले ग्राहकलाई कुनै विशेष बैंकको कर्जा लिन दबाब दिन पाउने छैन। ग्राहकलाई कुन बैंक वा वित्तीय संस्थाबाट कर्जा लिन लागेको हो भन्ने कुरा स्पष्ट जानकारी दिनुपर्नेछ।

ब्याजदर र शुल्कबारे के बुझ्ने?

डिजिटल कर्जा छिटो र सजिलो हुने भए पनि यो स्वतः सस्तो कर्जा हो भन्ने होइन। ब्याजदर, सेवा शुल्क, भुक्तानी तालिका, जरिवाना र अन्य सर्त बैंकअनुसार फरक हुन सक्छन्। त्यसैले कर्जा स्वीकृत गर्नुअघि एपमा देखिने ब्याजदर, मासिक किस्ता, सेवा शुल्क र ढिला भुक्तानी गर्दा लाग्ने जरिवाना ध्यानपूर्वक पढ्नुपर्छ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकले डिजिटल कर्जामा लाग्ने शुल्कबारे ग्राहकलाई कर्जा प्रवाह गर्नुअघि नै स्पष्ट जानकारी दिनुपर्छ। कर्जा सेवा शुल्क र तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य अतिरिक्त शुल्क लिन पाइने छैन।

कर्जा नतिरे के हुन्छ?

डिजिटल कर्जा पनि सामान्य बैंक कर्जाजस्तै दायित्व हो। समयमा किस्ता नतिरे बैंकले जरिवाना लगाउन सक्छ, अर्को पटक कर्जा लिन रोक लगाउन सक्छ र आवश्यक परे कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउन सक्छ।

त्यसैले मोबाइल एपमा कर्जा सजिलै देखियो भन्दै आवश्यकता नबुझी ऋण लिनु हुँदैन। नियमित आम्दानी, व्यवसायको नगद प्रवाह र किस्ता तिर्ने क्षमता हेरेर मात्र कर्जा लिनु सुरक्षित हुन्छ।

थप जानकारीको लागि आफ्नो खाता भएको बैंकमा बुझ्न सक्नुहुन्छ।

सावधानी

डिजिटल कर्जाका नाममा ठगी हुन सक्ने भएकाले ग्राहकले बैंकको आधिकारिक मोबाइल एप वा आधिकारिक डिजिटल पोर्टल मात्रै प्रयोग गर्नुपर्छ। सामाजिक सञ्जालमा आएको लिंक, अपरिचित व्यक्तिको फोन, एजेन्ट वा मेसेजका आधारमा कर्जा आवेदन दिनु जोखिमपूर्ण हुन सक्छ।

ओटीपी, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर वा बैंक खातासम्बन्धी गोप्य जानकारी कसैलाई दिनु हुँदैन। बैंकले कर्जाका लागि आवश्यक जानकारी आफ्नो सुरक्षित प्रणालीबाट लिन्छ। कुनै व्यक्तिले अग्रिम शुल्क मागेमा वा छिटो कर्जा मिलाइदिन्छु भनेमा सम्बन्धित बैंकसँग प्रत्यक्ष पुष्टि गर्नुपर्छ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले डिजिटल कर्जालाई साना व्यवसाय र नियमित कारोबार गर्ने ग्राहकसम्म विस्तार गर्न खोजेको छ। तर सुविधा प्रयोग गर्दा ग्राहकले कर्जाको रकमभन्दा पनि कर्जा तिर्ने क्षमता, ब्याजदर, शुल्क र समयमै भुक्तानी गर्ने योजना स्पष्ट बनाउनुपर्छ।

प्रतिक्रिया

5 thoughts on “मोबाइलबाटै बिना धितो १० लाख रुपैयाँसम्म ऋण: कसले पाउँछ, प्रक्रिया के हो?

  1. yo parkirya malaini man pareko xa tara kari yepli garne ho thaha navayera Aalamalla pari rako xu

  2. राम्रो छ तर हामीले पाउन सकेनौँ। हामी नयाँ सुरुवाती भएको मान्छे हो। किनकि हामीले फोन गरेर हाँस पारेका छौं र जुनै पनि बैंकमा जाँदा खेरि अहिले मिल्दैन भन्ने कुरो राख्नुपर्ने कुरो तपाईहरुले केही राख्नुपर्छ भन्ने कुरो यस्तो आयो। त्यही भएर हामी हरेस खायौ। अब सही ठाउँ हामीले सुन्न नसकेका होलान् अलि गाह्रो हामीलाई भयो हामीले बुझ्न सकेनौं या उहाँहरुले हामीलाई बुझाउन सकेनन् त्यही भएर भयो

  3. मैले बिना धितो कर्जा लिन के गर्न सकिन्छ

  4. यदि याे कुरा सहि हाे भने मेराे ब्यवशाय चलाउन मलाई ऋण चाहेकाे छ सर।यदि मैले ऋण पाएकाे खण्डमा मेराे ईमान्दारीकाे साथ ऋण चुक्ता गर्ने छु ।

  5. बैंक ले डिजिटल कर्जा सर्बसाधारण मजाैला ब्यवशायलाई खाेलिदिएकाेमा म धेरै खुशि छु यसमा मैले पनि केही गर्न सक्छु भन्ने लागेकाे छ।र याे अवसर गरिनु पनि पर्दछ पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *