वैदेशिक रोजगारीमा हुनेको मुख्य चिन्ता नेपाल फर्किएपछि के गर्ने ? फोटो : अन्तराष्ट्रिय श्रम संगठन

प्रतिक ढकाल २०७९ असार १५ गते १०:३०

तथ्याङ्कले भन्छ नेपालमा प्रत्येक वर्ष झण्डै साढे पाँच लाख युवा अवसरको नयाँ सम्भावना खोज्दै श्रम बजारमा प्रवेश गर्छन् । जसमध्ये वैदेशिक रोजगार विभागको तत्थ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नौ हजार ४ सय ३० छ। वैदेशिक रोजगारीमा जाने कतिपय भन्छन्, “अहिले कमाउँला चालीस कटेसी रमाउँला तर वैदेशिक रोजगारीमा जाने धेरै युवाको चिन्ता हुन्छ विदेशबाट नेपाल फर्कने कहिले, फर्किएपछि के गर्ने ? ।”

“नेपाल फर्किएपछि घर चलाउन सकिन्न कि भनेर नै हो म १५ वर्षसम्म खाडीमा हराएको,” रूकुम पूर्वमा थल बहादुर बि.क ले यसरी गुनासो पोखे । रूकुमबाट २०६५ सालमा परिवार चलाउन नसक्ने भएपछि मजदुरी गर्न भन्दै थल बहादुर (४५) साउदी उडे । २४ साल साउदीमा पैसा कमाउँछु कमाएको केही पैसा लिएर नेपालमा व्यापार गर्छु भन्ने सोच थियो थल बहादुरको । 

तर पटक पटक नेपाल फर्कँदा उनले नेपालमा भनेजस्तो  काम भेटेनन् । व्यापार गर्ने न केही आँट आयो न त आफूलाई चित्त बुझ्ने आइडिया नै निक्लियो । घरमा छाडेका ४ छोराछोरी र श्रीमतीलाई छाड्न मन नहुँदा नहुँदै पनि प्रत्येक पटक छुट्टीमा आउँदा  थलबहादुर जीविका धान्न साउदी नै पुग्नु पर्‍यो। 

“देश फर्किएको म एक मजदुर नेपाल बस्न सकिन । अहिले पनि फर्कन मन छ तर मनमा एउटै डर छ नेपाल फर्किएपछि के गर्ने ?,” थल बहादुर प्रतिप्रश्न गर्छन् । थल बहादुरले जीवनको ३० वर्ष रूकुम पश्चिममा नै खेती किसानी गरेर बिताए । जग्गा जमिन प्रशस्त थिएन । साहुको कमाउनु पर्थ्यो । अधिँया तिर्दा तिर्दै उनको कमाई त्यहीँ सकिन्थ्यो । विवाह भइसकेको थियो दुई भाइ छोरा जन्मिसकेका थिए उनलाई राम्रो विद्यालयमा छोराछोरी पढाउँछु भन्ने हुटहुटी थियो । अन्ततः उनी धनकमाउने आशले विदेशमै जाने निधो गरे । 

अहिले उनले आफ्नो परिवारलाई कलङ्कीमा राखेका छन् । खाडीको कमाईले जेनतेन परिवार चल्दै छ । दुई छोराले माध्यमिक शिक्षा पढिसके प्लस टु पढाउँदै छन् त्यसको पनि थोर बहुत ऋण छ । 

“सक्छु गर्छु भन्ने जीवन खाडीमै बित्यो । अब नेपाल फर्केर जेनतेन बुढेसकाल कटाउनु बाहेकको उपाय देख्दिन ।” थल जस्तै झापा अर्जुनधाराका सुधीर सिवाकोटी २ वर्ष अगाडि पुनः तेस्रो पटकलाई कतार उडे । पहिलोपटक सन् २००९ मा बहराइन पुगेका उनी बहराइनमा राम्रो कमाई नभएपछि २ वर्ष बहराइन बसेर नेपाल फर्किएका थिए । 

त्यसपछि पटक पटक गरेर उनी ३ चोटी कतार पुगे । कतारमा हुँदा मन बेचैन हुन्थ्यो । विवाह गरेको थिएन नेपालमा नै केही गरौँ भन्ने सोच चलिरहन्थ्यो । उनी नेपाल फर्कँदा अनेकन व्यवसाय गर्ने सोच नबुनेका पनि होइनन् तर के गर्दा अरबको गर्मीमा पसिना चुहाएर कमाएको पैसा डुब्दैन भन्ने पत्तै पाउन सकेनन् । 

उनी पछिल्लो पटक अघिल्लो वर्ष नेपाल आउँदा उनले सानो लगानीको चप्पल कारखाना खोल्ने योजना पनि बुने । ५ लाख लगानीमा फित्ता चप्पल बनाउन मिल्ने सानो मेसिन पनि भेटाए । तर आफ्नो उत्पादनलाई बजार कसरी पठाउने भन्ने चिन्ता थपियो । 

“१३ वर्ष विदेशमा बस्दा प्रत्येक पटक नेपाल फर्किने, फर्किएर के गर्ने सोच आइरहन्थ्यो बल्लतल्ल एउटा योजना बन्यो त्यो पनि पूरा गर्न सकिन,” सुधीर दुखेसो गर्छन् ।  त्यसो त वैदेशिक रोजगारीका क्रममा विदेशमा बस्ने अधिकांशको नियति यस्तै नै हो । विदेशमा कमाएको थोर बहुत पूँजीलाई कसरी उपयोग गर्ने अनि नेपाल फर्किएपछि के गर्ने उनीहरूको सोच बनिरहन्छ ।  त्यसरी नेपाल फर्किएपछि के गर्ने भन्ने उपयुक्त आइडिया नहुँदा नेपाली अधिकांश श्रमिकहरू विदेशिनु पर्ने नै नियति छ । विदेशिने अधिकांश नेपालीले राम्रो शिक्षा लिन पाएका हुँदैनन्, सरकारले पनि रिटर्नी माइग्रेन्टका लागि भनेर खासै ठूला कदमहरू चालेको छैन । त्यसैले पनि अधिकांश विदेशिने युवाहरूले जीवनको उत्पादनशील समय विदेशमा नै खर्चिनुपरेको छ ।”रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी भन्छन् । 

वैदेशिक रोजगार विभागको एक तत्थ्यांक अनुसार श्रम स्वीकृति लिएर नेपालबाट झण्डै ४० लाखको हाराहारीमा नेपाली विदेशिएका छन् । तर यी जनशक्तिलाई नेपाल फर्किएपछि के काममा लगाउने भन्नेबारे नेपाल सरकारसँग कुनै ठोस कार्ययोजना नहुँदा नेपाली श्रमिकहरू चाहेर पनि नेपाल फर्किन सकेका छैनन् ।   

“विदेशबाट फर्किएकाहरूको लागि नेपाल सरकारले ठोस कार्ययोजना ल्याउन सकेन, ल्याएका छिटफुट कार्यक्रमहरू पनि बालुवामा पानी समान भएका छन्,” उत्तम बताउँछन् । 

उनी भन्छन्, “विदेशबाट फर्किएका नेपालीहरूलाई देशमा स्थापित गराउन कुनै एउटा पहल भएको छैन विदेशबाट फर्किएका युवालाई  सहुलियतपूर्ण कर्जा भनेर एक कार्यक्रम सञ्चालनमा छ तर त्यो पनि प्रभावकारी भने छैन ।”विदेशबाट फर्केका नेपाली युवाका लागि भनेर सरकारले केही कार्यक्रम घोषणा गरेतापनि ती कार्यक्रमको बारेमा धेरैलाइ जानकारी नै छैन । 

यस्ता छन् सरकारले वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि ल्याएका केही कार्यक्रमहरू,

१. विदेशबाट फर्किएका युवाहरूलाई सहुलियतपूर्ण कर्जा

२. आइपिओमा वैदेशिक रोजगारीमा जानेका लागि आरक्षण

३.वैदेशिक रोजगारीबाट फर्किएर  व्यवसाय गर्नेलाई सहुलियत कर्जा उपलब्ध गराउन च्यालेन्ज फन्ड

छाँयामा फर्किएका विदेशी, सरकारको छिटपुट कार्यक्रमहरू असफल

नेपाल सरकारले विदेशबाट फर्किएका नेपालीहरूका लागि भनेर खासै उल्लेख्य कार्यक्रमहरू सुरुवात गर्न सकेको छैन । सरकारले सुरुवात गरेका छिटफुट कार्यक्रमहरू पनि प्रभावकारी भएका छैनन् । वैदेशिक रोजगार बोर्डले   यसअघि विदेशबाट फर्किएकाहरूका लागि छुट्टै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भनेर विशेष कार्यक्रम पनि ल्याएको थियो । जसमा १८ हजार भन्दाबढी विदेशबाट फर्किएका युवाहरूले आवेदन दिएका थिए । जसमध्ये ३ वर्षमा १ हजारले पनि सुविधा उपभोग गर्न पाएका छैनन् ।

सरकारले यसपटकको बजेटमा पनि विदेशबाट फर्किएका युवाहरूलाई आफ्ना कार्यक्रममा समावेश गर्न सकेन बजेटको एक बुँदामा युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्किएर  व्यवसाय गर्नेलाई सहुलियत कर्जा उपलब्ध गराउन च्यालेन्ज फन्ड स्थापना गर्ने बजेटमा उल्लेख गरिएपनि यसले गति पाउने कुरामा विश्वस्त नभएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष बिदुर कार्की बताउँछन् ।

यसरी वैदेशिक रोजगारीबाट फर्किएर आएका नेपालीहरूले देशमा पुनःस्थापनाको अवसर खोजिरहँदा    सरकार भने वर्षौँ देखि पुनः एकीकरणका  निर्देशिका र ढाँचा तयार गर्नमै व्यस्त देखिन्छ । “हामीले स्थानीय तहसँग समन्वय गरेर वैदेशिक रोजगारी पुनःस्थापना र आर्थिक सहयोग गर्ने हिसाबले विभिन्न कार्यक्रमको ढाँचा तयार गर्दै छौँ । निर्देशिका बनेपछि यस किसिमका कार्यक्रमहरूले गति लिन्छन् ,” वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन बन्धु सुवेदी भन्छन् 

सरकारले विदेशमा काम गरेर फर्किएका कामदारहरूको अभिलेख र उनीहरूसँगको छलफलबाट तीन किसिमका पुनर्स्थापना रणनीति अख्तियार गर्ने सोच बनाएको छ। त्यसै अनुसार निर्देशिकामा प्रावधानहरू राखिएको उनको भनाइ छ।

फोटो: युवराज बराल

उनले भने, “विदेशबाट फर्किएकामध्ये एकखाले उद्यमशील बन्न चाहने, अर्काखाले रोजगार बन्न चाहने र कमाइ गर्न नपाइ फर्केका वा अङ्गभङ्ग भएकाहरूले समाजमा पुनर्स्थापना हुने चाहने देखियो।” यस्ता तीनै किसिमका कामदारहरूलाई पुनर्स्थापना गर्न फरक कार्यक्रम चलाउनुपर्ने आवश्यकता भएकाले आवश्यकताका आधारमा विभिन्न संस्था र देशहरूलाई अनुमति दिँदै आगाडि बढ्नेछौँ उनले भने । 

विदेशी सेनामा भर्ती हुने र भारतमा काम गर्न जाने चलनलाई पन्छाउने हो भने औपचारिक रूपमा श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सुरुभएको २ दशक पूरा भएपनि विदेशबाट फर्कने युवाहरूलाई पुनः एकीकरण साथै पुनः स्थापना गर्न भने सरकारले हालसम्म निर्देशिका तयार गर्न समेत सकेको छैन जसका कारण नेपाल वैदेशिक रोजगारीबाट नेपाल फर्किएका अधिकांश युवाहरूको नियति पुनः विदेश नै फर्कनुपर्ने रहेको छ । “विदेशबाट फर्किएका युवा केन्द्रित सरकारका कार्यक्रम नभएपनि युवा केन्द्रित कार्यक्रमहरू जस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कोषका परियोजनाहरू असफल बनेका छन् रोजगारी केन्द्रित सरकारका केही कार्यक्रमहरू पनि नराम्ररी फल्प भए, जसले गर्दा विदेशबाट फर्कने युवाको नियति एउटै बन्यो विदेशबाट फर्किएपछि पुनः विदेशमै होमिने,” उत्तम सुनाउँछन्  

 रिटर्नी माइग्रेन्ट : यस्ता छन् अन्य मुलुकमा प्रावधान 

सरकारले विदेशबाट फर्किएका युवाहरूका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम सुचारू गर्यो त्यसबाहेक पनि बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका लगायत मुलुकमा पुनः एकीकरण सम्बन्धी प्रावधान छन्। फिलिपिन्सले विदेशबाट फर्केकालाई निःशुल्क स्टार्ट अप तालिम तथा आवश्यक सामग्रीसमेत उपलब्ध गराउँछ। विशेष गरी प्राविधिक तालिममा जोड दिइएको छ। 

फिलिपिन्सले आप्रवासी कामदार ऐन १९९५ जारी गरेर सोही अनुरूप विदेशबाट फर्किएका नेपालीहरूलाई पुनः स्थापना गर्न र पुनः देशमा स्थापित गर्न त्यहाँको श्रम तथा रोजगार मन्त्रालयमा प्रतिस्थापन र अनुगमन केन्द्र स्थापित गर्न बाध्यकारी बनायो । जसको कारणले प्रवासबाट फर्किएका फिलिपिनो नागरिकहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरियो । फलस्वरूप विभिन्न गन्तव्य मुलुकबाट फिलिपिन्स फर्किएका फिलिपिनो नागरिकहरू पुनः स्थापित हुन सहयोग पुग्यो । 

 

फोटो : युवराज बराल

इण्डोनेसीयाले आफ्नो आप्रवासी श्रमिक सुरक्षा सम्बन्धी कानुनमा पनि आप्रवासी र देश फर्किएका श्रमिकहरू साथै उनीहरूका परिवारलाई राज्यले सुरक्षा गर्नुपर्ने प्रमुख जिम्मेवारी राज्यको भनी परिभाषित गरेको छ । जसमा धारा धारा ७ ले विदेशिने सम्भावना भएका र विदेशिन चाहने  आप्रवासी कामदारको संरक्षण गर्नुपर्ने  उल्लेख गरेको छ । त्यस्तै धारा २४ देखि २८ ले विदेशबाट फर्किएका कामदारको सुरक्षाको जिम्मेवारी लिनुपर्ने भनी तोकेको छ । धारा ३९ देखि  ४२ माथि उल्लेखित विषयहरू स्थापित गर्न राज्यले खेल्नुपर्ने भूमिका बारे तोकिदिएको छ । कम्बोडियाको राष्ट्रिय आप्रवासन नीति २०१४ को लक्ष्य १६ मा पनि आप्रवासी श्रमिकको पुनः एकीकरणको विषयलाई राखिएको छ ।  

जसमा आप्रवासी कामदारलाई  सामाजिक र आर्थिक रूपमा सेवा प्रबन्धलाई बलियो बनाएर अधिकार दिइएको छ । रोजगारी सेवा, सीप विकास र मान्यता, उद्यम विकास तालिम, र सहित पुनर्एकीकरण गर्ने अभियानका साथ कम्बोडियाले पनि आप्रवासी कामदारको हकहितमा नीति तथा कार्यक्रम नै ल्याएर काम गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

‘बजेट हेर्दा देशमै बसौँ जस्तो लाग्छ, अवस्था देख्दा विदेश उड्नु पर्छ’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *