४८० जनालाई CTEVT मा निःशुल्क पढ्ने अवसर, मासिक ३,५०० भत्तासमेत

जीविको २०८३ असार ३ गते १०:०५

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत डिप्लोमा/प्रमाणपत्र र प्रि–डिप्लोमा तहका कार्यक्रममा निःशुल्क अध्ययनका लागि अनलाइन आवेदन खुलाएको छ।

सूचनाअनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत दलित, मुस्लिम, विपन्न, सीमान्तकृत समुदाय र प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने विद्यार्थीलाई लक्षित गरी कुल ४८० सिटमा छात्रवृत्ति खुलाइएको हो।

कुल सिटमध्ये डिप्लोमा/प्रमाणपत्र तहमा ४५७ जनाप्रि–डिप्लोमा तहमा २३ जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन्। आवेदन फाराम २०८३ असार ४ गते बिहीबारदेखि २०८३ असार १८ गते बिहीबार राति ११:५९ बजेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। यस विशेष छात्रवृत्तिका लागि आवेदन शुल्क लाग्ने छैन

छनोटमा परेका विद्यार्थीले तोकिएको शिक्षण संस्थामा भर्ना भई CTEVT रजिस्ट्रेशन कायम गरेपछि मासिक ३,५०० रुपैयाँ निर्वाह भत्ता, वार्षिक १,५०० रुपैयाँ यातायात खर्चवार्षिक २,५०० रुपैयाँ पोशाक खर्च पाउने सूचनामा उल्लेख छ। आर्थिक अवस्था कमजोर भएका तथा प्राविधिक शिक्षामा पहुँच नपुगेका समुदाय र स्थानीय तहका विद्यार्थीलाई प्राथमिकता दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

कुन समूहले आवेदन दिन पाउँछन्?

यस छात्रवृत्तिमा मुख्य रूपमा निम्न समूहका विद्यार्थीले आवेदन दिन सक्नेछन्।

लक्षित वर्ग: दलित, मुस्लिम, विपन्न, सीमान्तकृत समुदाय र प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहमा स्थायी बसोबास गर्ने विद्यार्थी।
सीमान्तकृत समुदाय: नेपाल सरकारबाट सूचीकृत सुविधा वञ्चित २२ आदिवासी जनजाति समुदायका विद्यार्थी।
स्थानीय तह: सूचनामा उल्लेख गरिएका ७८ वटा स्थानीय तहका स्थायी बासिन्दा। ती स्थानीय तहहरू कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका छन्।

CTEVT को आधिकारिक दस्तावेजमा पनि प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तह लक्षित आवासीय छात्रवृत्ति व्यवस्थापन कार्यविधि राखिएको छ, जसले यस्तो कार्यक्रमको नीतिगत आधार देखाउँछ।

कति सिट कुन वर्गका लागि?

सूचनाअनुसार कुल ४८० सिट यसरी छुट्याइएको छ।

वर्ग सिट संख्या
दलित ११५
मुस्लिम ४६
विपन्न १६७
सीमान्तकृत ३२
प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तह १२०
जम्मा ४८०

कुन–कुन विषयमा पढ्न पाइन्छ?

छात्रवृत्ति सिटहरू स्वास्थ्य, इन्जिनियरिङ, कृषि, होटल, वन, सौन्दर्य तथा सेवामूलक क्षेत्रका विभिन्न विषयमा छुट्याइएको छ। मुख्य कार्यक्रमहरू यस प्रकार छन्।

कार्यक्रम सिट
प्रमाणपत्र तह नर्सिङ १२
प्रमाणपत्र तह सामान्य चिकित्सा १२
डिप्लोमा इन फार्मेसी ६४
प्रमाणपत्र तह मिडवाइफरी
प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी
डेन्टल साइन्स / डेन्टल हाइजिन
डायग्नोस्टिक रेडियोग्राफी १२
फिजियोथेरापी
सिभिल इन्जिनियरिङ ८०
इलेक्ट्रिकल इन्जिनियरिङ ३०
इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ
कम्प्युटर इन्जिनियरिङ ३०
रेफ्रिजेरेसन एन्ड एसी इन्जिनियरिङ
जियोमेटिक्स इन्जिनियरिङ
सिभिल, हाइड्रोपावर स्पेशलाइजेशन
अटोमोबाइल इन्जिनियरिङ २१
मेकानिकल इन्जिनियरिङ २३
होटल म्यानेजमेन्ट २४
ब्युटी एन्ड कस्मेटोलोजी
एग्रिकल्चर, प्लान्ट साइन्स ३६
एग्रिकल्चर, एनिमल साइन्स ६०
फरेस्ट्री १२
प्रि–डिप्लोमा अटोमोबाइल इन्जिनियरिङ
प्रि–डिप्लोमा एग्रिकल्चर, लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ १२
प्रि–डिप्लोमा होटल म्यानेजमेन्ट

न्यूनतम शैक्षिक योग्यता

डिप्लोमा/प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमका लागि SEE वा सो सरहको परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिएर कम्तीमा २.० GPA प्राप्त गरेको हुनुपर्नेछ। स्वास्थ्यबाहेकका अन्य डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रमका लागि SEE वा सो सरहमा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयसहित कम्तीमा १.६ GPA आवश्यक छ।

अक्षरांकन प्रणाली लागू हुनुअघिको SLC उत्तीर्ण विद्यार्थीका लागि विषयगत तथा कुल प्राप्तांकका आधारमा छुट्टै योग्यता तोकिएको छ। प्रि–डिप्लोमा तहका १८ महिने कार्यक्रमका लागि SEE/SLC वा सो सरहको परीक्षामा सहभागी विद्यार्थीले आवेदन दिन सक्ने व्यवस्था सूचनामा उल्लेख छ।

आवेदनसँगै अपलोड गर्नुपर्ने कागजात

आवेदन दिने विद्यार्थीले आफ्नो अवस्था अनुसार नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, SEE/SLC को मार्कसिट वा ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइज फोटो, लक्षित वर्ग खुल्ने प्रमाणपत्र वा सिफारिस, स्थायी बसोबास प्रमाणित गर्ने कागजात र आवश्यक परे सम्बन्धित स्थानीय तह वा निकायको सिफारिस अपलोड गर्नुपर्नेछ।

दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीले सम्बन्धित निकायबाट प्रमाणित कागजात पेश गर्नुपर्नेछ। प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका विद्यार्थीले आफ्नो स्थायी बसोबास प्रमाणित हुने कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

छनोट कसरी हुन्छ?

विद्यार्थीको SEE/SLC वा सो सरहको नतिजा, GPA/ग्रेड प्वाइन्ट र तोकिएको कागजातका आधारमा योग्यताक्रम तयार गरिनेछ। समान अंक भएमा सरकारी वा सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिइनेछ। त्यसमा पनि बराबरी भएमा उमेरका आधारमा प्राथमिकता दिइने व्यवस्था सूचनामा छ।

अन्तिम नतिजा CTEVT परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गर्नेछ। CTEVT को आधिकारिक परीक्षा पोर्टलमा “Online Application Form” र छात्रवृत्ति आवेदनसम्बन्धी लिंक राखिने उल्लेख छ।

आवेदन दिने तरिका

अनलाइन आवेदन फाराम सम्बन्धी व्यवस्था : (अनलाइन आवेदन फाराम प.नि.का.को वेवसाईट www.ctevtexam.org.np मा उपलब्ध रहेको फाराम भरी कागजातहरु संलग्न राखी Submit गर्नुपर्नेछ ।विद्यार्थीले CTEVT परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा गएर अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। फाराममा आफ्नो व्यक्तिगत विवरण, शैक्षिक विवरण, लक्षित वर्गसम्बन्धी विवरण, अध्ययन गर्न चाहेको कार्यक्रम र संस्थाको प्राथमिकता भरेर आवश्यक कागजात अपलोड गरी Submit गर्नुपर्छ। आवेदन निःशुल्क भएकाले यस विशेष छात्रवृत्तिका लागि कुनै शुल्क तिर्नु पर्दैन।

CTEVT को कार्यविधिमा प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका युवाले तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, नियमित प्रशिक्षणका लागि विद्यार्थीले शुल्क तिर्नु नपर्ने व्यवस्था पनि उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *