१५ सेकेन्डले बाँचेँ” अहिले हराएका साथी खोज्न चितवनसम्म…
भदौ १० गते बिहान करिब ८:४५ बजेतिर एक्कासि अफिसभित्र ढ्याङ्ग–ढ्याङ्ग गर्दै ठूलो आवाज आयो। भूकम्प हो कि, नजिकै घट्टेखोलातिर ठूलो पहिरो गएको हो कि, बाढी आएको हो कि वा कतै ज्वालामुखी त होइन भन्दै अत्तालियौँ।
‘के भएको हो, भगवान्? यो त कुनै न कुनै प्रलय हो। अब पक्का मरिने भयौँ,’ भन्दै कम्पन र ढ्याङ्ग–ढ्याङ्ग आवाज सुनेको दस सेकेन्डमै आधा होस उडिसकेको थियो। त्यत्तिकैमा एक्कासि हेलिकप्टर अवतरण गर्न लागेका बेला जस्तै ठूलो चक्रवातसहितको हावा आयो। टिनका पाता नै उडाउला जस्तो भयो। अवस्था झनै डरलाग्दो बन्यो।
यी सबै घटना लामो समयको अन्तरालमा नभई सेकेन्ड–सेकेन्डमै देखिएका प्राकृतिक प्रकोपका पूर्वसंकेत थिए। मरिन्छ जस्तो लाग्यो। मुटु थरथर काँप्यो। होस गुम्दै अर्धचेत हुँदै गएका थियौँ। चर्को हावाहुरी चलेको केही सेकेन्डमै करिब १०० मिटरको दूरीमा बाढीको डरलाग्दो कालो मुस्लोसहितको छाल देख्यौँ। जमिनभन्दा करिब ५० मिटर उचाइमा देखिएको त्यो छाल हामीतिरको केही परको भित्तामा ठोकिएर पल्लोपट्टिको भित्तामा बज्रिँदै पुनः हामीतिरको भित्तातर्फ आउन लाग्यो।
हामीपट्टिको केही अगाडिको पाखोबाट पल्लोपट्टिको पाखोमा ठोकिएर बाढी टिमुरे बजारभित्र पस्न करिब १० सेकेन्ड मात्र लाग्यो। त्यति समयमा जो पाखोतिर भाग्न सके, ती बाँचे। जो तेर्सोतिर भागे वा भूकम्प आएको ठानेर खुला ठाउँतिर भागे, उनीहरू बाँच्न सकेनन्। पाखोतिर भाग्दा माथिबाट पहिरो आउन सक्छ वा भोटेकोशी यति माथिसम्म आउँदैन कि भन्ने अनुमान र विभिन्न अड्कलबाजीका कारण धेरै मानवीय क्षति हुन पुग्यो।
सबैले पानीको उग्र रूप देखेका थिएनन्। हावा र जमिन ढ्याङ्ग–ढ्याङ्ग गरेको आधारमै १० सेकेन्डभित्र आफ्नो गन्तव्य तय गरी जीवन सुरक्षित गर्नुपर्ने अवस्था थियो। मेरो अर्धचेत दिमाग, आत्तिएको मुटु र भट्किरहेको मनको अवस्थामा म कसरी १० सेकेन्डमै पाखोतिर भाग्न सफल भएँ, मलाई नै थाहा छैन। मैले यही नै ठीक हो भन्ने अनुमान गरेर भागेको पनि होइन। ‘पाखोमा पहिरो खस्न सक्छ, खुला ठाउँमा भागौँ कि?’ भन्दै थिएँ। तर चिफसाहेब र केही कर्मचारी साथीहरू माथितिर भाग्नुभयो। म पनि उहाँहरूको पछिपछि त्यतै भाग्दा पुनर्जीवन प्राप्त भयो।
उहाँहरू माथितिर भागेको नदेखेको भए म खुला ठाउँतिर भाग्ने सुर गर्दै थिएँ। जो–जो मानिस १०–१५ सेकेन्डभित्र पाखोतिर भाग्न सफल भए, ती मात्र बाँचे। भान्सा, बाथरुम, पसल, बिस्तारा, भन्सार यार्डलगायत स्थानमा भएकाहरू बगे। बच्चा र वृद्धवृद्धा बगे। पाखो नजिक नभएका, सेकेन्ड–सेकेन्डमा बदलिएको अवस्थाको आकलन गर्न नसकेका तथा परिस्थिति आकलन गरे पनि १० सेकेन्डभित्र पाखोमा पुग्न नसक्नेहरू बगे।
हाम्रो टिमुरे भन्सार कार्यालयभन्दा माथि चीनको सीमासम्मको तीन किलोमिटर क्षेत्रमा रहेका कोही पनि बाँचेनन्। नेपालतर्फ त्यो बाढीबाट भागेर बाँच्ने हामी नै पहिलो मानिस हौँ। रसुवा भन्सार कार्यालय टिमुरेबाट चीनको सीमा तीन किलोमिटर माथि पर्छ। उक्त क्षेत्रमा व्यापारी, मानसरोवर जाने तीर्थयात्री, होटल व्यवसायी, अध्यागमन कार्यालयका कर्मचारी, आर्मी क्याम्प, जनपथ प्रहरी र सशस्त्र प्रहरीका पोस्ट, भन्सार कार्यालयको यात्रु शाखा, रसुवागढी जलविद्युत् आयोजना र सडक निर्माणमा संलग्न मानिसहरू थिए।
रसुवागढीमा हरेक दिन बिहान मेलाजस्तै मानिसको भिड हुन्थ्यो। सशस्त्र र जनपथ प्रहरीका सुरक्षाकर्मी ठूलो सङ्ख्यामा सम्पर्कविहीन हुनुको कारण पनि उनीहरू त्यही भिड व्यवस्थापनका लागि खटिएका थिए भन्ने हुन सक्छ। नेपाली समयअनुसार बिहान ८ बज्दा चीनमा १० बज्ने हुँदा भर्खर चीनतर्फको कार्यालय खुलेर काम भइरहेको अवस्था थियो। रसुवागढी र टिमुरे भन्सारबीचको तीन किलोमिटर क्षेत्रमा गाडी र मानिसको भिड हुन्थ्यो। उक्त सडकको माथि चट्टानी पहाड र तल भोटेकोशी भएकाले भाग्ने ठाउँ नै थिएन। विपत्तिका बेला त्यत्तिकै ठिङ्ग उभिन नसकेर ‘राम–राम’ भन्दै तेर्सोतिर भागे पनि बाँच्ने कुनै अवस्था थिएन।
हामी भाग्ने क्रममा आत्तिएर चिफसाहेब र म एउटा घरभित्र पुगेछौँ। किन घरभित्र छिर्यौँ, थाहै भएन। घरभित्रबाट बाहिर निस्केर पुनः घरको पछाडिको पाखोमा जाने समय हामीसँग थिएन। त्यसो गर्नुपरेको भए हामीलाई भोटेकोशीले बगाइसक्थ्यो। तर भाग्यवश त्यो घरको पछाडिपट्टि निस्कने अर्को ढोका घरभित्रै देख्यौँ। त्यो घरका मानिसहरू केही क्षणअघि त्यही ढोका प्रयोग गरेर भागिसकेका रहेछन्। हामी पनि त्यही पछाडिको ढोकाबाट निस्केर पाखोतिर भाग्यौँ।
पाखोमा करिब १० फिट उचाइ चढेका बेला तल हेर्दा बाढीले टिमुरे बजार पुरिसकेको थियो। घर र बिजुलीका पोल ढल्दै थिए। हाम्रो कार्यालय र हामी भाग्ने क्रममा भित्र पसेको घर बाढीले बगाइसकेको थियो। ईभी गाडी, एम्बुलेन्स र सामान बोक्ने कन्टेनरहरू टिमुरे बजारमा पानीको तीव्र वेगसँगै बगिरहेका थिए।
पानीको बहाव अझै धेरै माथिसम्म आउँछ भन्ने डरले हामी अत्यन्त त्रसित हुँदै पाखोमा घाँस र झाडी समातेर धेरै माथिसम्म गयौँ। बाबियो र घाँस भएकाले त्यसलाई समात्दै उकालो चढ्न केही सजिलो भयो। तर बाढीसँगै उडेर आएको ओसिलो बालुवा, फोहोर र धुलोका कारण हामीलाई श्वासप्रश्वासमा समस्या भयो। सबैको छाती दुखेको थियो।
करिब तीन किलोमिटर माथि गएर एउटा सानो बारीको पाटोमा पुगेर सुस्तायौँ। करिब एक घण्टापछि भोटेकोशीबाट उडेको धुलो हट्दै गएपछि तल भोटेकोशी देखियो। भोटेकोशीभन्दा करिब डेढ सय मिटर उचाइमा अवस्थित टिमुरे बजार बगरमा परिणत भएको देखेँ। म टिमुरे गेस्टहाउसको पाँचौँ तलामा बस्थेँ। मेरो कोठा रहेको भवन र रसुवा भन्सार कार्यालय दुवै बगरमा परिणत भएको देखेँ।
हामी पाखोमा पुग्न सफल भएपछि केहीबेर चकमन्न परेर सुस्तायौँ। हामी अवाक् र स्तब्ध भयौँ। यो सपना हो कि विपना, छुट्याउन सकिरहेका थिएनौँ। क्षणभरको प्राकृतिक प्रकोपले ठूलो जनधनको सर्वनाश गरेको थियो। हामी केही सोच्न सक्ने अवस्थामा थिएनौँ।
करिब आधा घण्टापछि दुईवटा हेलिकप्टर आएर रसुवागढीसम्म घुम्दै घाइतेहरूको खोजी गर्न लागेको माथिबाट देख्यौँ। एक घण्टापछि हामी को–को भागेर बाँच्न सफल भयौँ भनेर खोजी गर्न थाल्यौँ। पाखाभरि नदेखिएका साथीहरूलाई बोलाउँदै र फोन गर्दै खोजी गर्यौँ। त्यसपछि सबै जना एकै ठाउँमा बस्यौँ।
रसुवा भन्सार कार्यालयका दुई जना नायब सुब्बासहित अन्य घाइतेलाई हेलिकप्टरले तुरुन्त उद्धार गरेर त्रिशूलीतर्फ लग्यो। करिब दुई–तीन पटक घाइतेहरूको उद्धार गरेपछि दिउँसो करिब २ बजे हेलिकप्टरले हामी बसेको ठाउँमा सात–आठ कार्टुन चाउचाउ, बिस्कुट, पानी, मोबाइल चार्ज गर्ने पावर बैंक र तीनवटा टेन्ट खसालेर गयो।
मैले टेलिभिजनमा बाढीपीडितलाई राहत दिँदा खानेकुरा लिन पीडितहरू दौडिएको र खोसाखोस गरेको देखेको थिएँ। तर यहाँ त्यस्तो पाइएन। स्थानीय टिमुरेवासीहरू १५ सेकेन्डको भागदौडमा आफ्ना बच्चा, वृद्ध बुबाआमा तथा घरबास गुमाएको पीडामा छाती पिटीपिटी रोइकराइ गरिरहेका थिए। हामीले उनीहरूलाई चाउचाउ र पानी दिँदै खान आग्रह गर्यौँ।
पहिले उनीहरूलाई हेलिकप्टरबाट त्रिशूलीतर्फ पठायौँ। हामी पनि दिउँसो करिब ४ बजे हेलिकप्टरमा त्रिशूलीस्थित आर्मी ब्यारेक पुग्यौँ। त्यहाँ स्वास्थ्य परीक्षण गर्दा हाम्रो स्वास्थ्य अवस्था सामान्य देखिएपछि सोझै काठमाडौंतर्फ लाग्यौँ।
बाटोमा कान्तिपुर टेलिभिजनका रिपोर्टरहरूसँग भेट भयो। उहाँहरूले हामीलाई पुनर्जीवन प्राप्त गरेकोमा बधाई दिनुभयो र टिमुरे, रसुवाको अवस्थाबारे समाचार सङ्कलन गर्नुभयो। त्यसपछि हामी सोझै भन्सार विभाग पुग्यौँ। त्यहाँ अर्थमन्त्रीज्यू, अर्थसचिवज्यू र महानिर्देशकज्यू हामीलाई पर्खिरहनुभएको थियो।
१५ जना सम्पर्कविहीन सहकर्मीलाई छाडेर आएका हामीले भन्सार विभागमा आफ्ना अभिभावकहरूको अभिभावकत्व प्राप्त गर्दा ती साथीहरूलाई सम्झेर अझ भावविह्वल भयौँ। राति ९ बजेसम्म विभागमा टिमुरेको अवस्थाबारे जानकारी गराएपछि हामी आफ्ना व्याकुल परिवारजनकहाँ गयौँ।
भोलिपल्ट र पर्सिपल्ट हामीले दिनभर खोजी गर्दा पनि भेट्न नसकेका रसुवा भन्सार कार्यालयका १५ जना कर्मचारीका परिवार र आफन्तसँग सम्भावित सुखद् वा अप्रिय अवस्थाबारे छलफल गर्यौँ। १०–१५ सेकेन्डले पुनर्जीवन प्राप्त गरेका हामी १६ जना साथीहरू, त्यही १०–१५ सेकेन्डका कारण हराएका १५ जना साथीहरूको अवस्था पत्ता लगाउन टोली बनाएर चितवन, नवलपरासी, कपिलवस्तु, नुवाकोट, रसुवा, पोखरा र गोरखातिर लाग्यौँ।
यसै क्रममा तीन दिनदेखि चितवन–नवलपुर खण्डमा हामी खोजीमा छौँ। सेकेन्ड–सेकेन्डले बाँच्न सफल भएका हामी सहकर्मीहरू, सेकेन्डकै अन्तरले हराएर सम्पर्कविहीन भएका साथीहरूको खोजी गरिरहेका छौँ। चार दिनअघिसम्म सँगै काम गरेका ती साथीहरूको बोली र व्यवहार सम्झँदै, १५ सेकेन्डले बाँच्न सफल म, त्यही १५ सेकेन्डका कारण गुमाएका साथीहरूलाई चितवन र नवलपुर क्षेत्रमा खोजिरहेको छु।
उनीहरूलाई सकुशल भेटेर आफन्तको जिम्मा लगाउन पाउनु मेरो जीवनको सर्वाधिक सुनौलो अवसर हुनेछ। हाल म चितवन र पूर्वी नवलपुर क्षेत्रमा खोजतलासमा छु।
प्रेमप्रसाद सुवेदी
भन्सार अधिकृत
रसुवा भन्सार कार्यालय
भरतपुरबाट
