१८ वर्षमै आमा, २८ वर्षपछि फेरि पढाइ;  तीन सन्तान हुर्काउँदै क्यान्भासमा सपना कोर्ने कला

जीविको २०८३ साउन २२ गते १८:०१

१६–१७ वर्षमै आमा, २८ वर्षपछि फेरि पढाइ; आज मुन्धुम, प्रकृति र पुर्खाको कथा क्यान्भासमा कोर्दै कला लिम्बु

उनकी हजुर आमा थिइन् जीवनमा हार नखाने। उनको हजुर बुवा बिहे गरेको केही वर्षमै घरबाट गायब भए। घर सम्हाल्ने सारा जिम्मेवारी हजुर आमाको थियो। जसले एक्लै भए पनि घर सम्हालिन्। उनी हजुरआमाकी नातिनी हुन् कला लिम्बू, जसलाई आजसम्म उनीहरू आमाको साहसलै प्रेरणा दिन्छ।

पाँचथरकी कला लिम्बुको नाम जस्तै काम पनि कला क्षेत्रमा नै गर्छिन्। तर यो क्षेत्रमा लाग्नु अगाडि उनले पनि जीवनमा जिम्मेवारीको लामो उकालो चढ्नु पर्यो।

कलाको पढ्ने इच्छा थियो। केही आफ्नै सिर्जना गर्ने चाहना पनि थियो। तर सानै उमेरमा विवाह र मातृत्वको जिम्मेवारी आएपछि पढाइ र रहर केही समय यत्तै अलपत्र रह्यो।

१८ वर्षकै उमेरमा आमा बनेकी कलाको जीवन त्यसपछि घरपरिवार र सन्तानको जिम्मेवारीमा अघि बढ्यो। तर आफूभित्रको पढ्ने र चित्र कोर्ने इच्छा भने हराएन।

तीन सन्तान हुर्काउँदै उनले करिब २८ वर्षको उमेरमा फेरि औपचारिक पढाइ सुरु गरिन्। +२ पढिन्, त्यसपछि उच्च शिक्षा र ललितकलाको अध्ययनलाई अघि बढाइन्। छोराछोरी पढाउँदै आफू पनि पढिन्।

त्यही यात्रासँगै झण्डै दुई दशकदेखि चित्रकलासँग उनको सम्बन्ध निरन्तर छ।

सुरुमा कला सिक्नका लागि उनीसँग ठूलो स्टुडियो वा विशेष सुविधा थिएन। घरमै बसेर चित्र बनाउन थालिन्। पारिवारिक जिम्मेवारीका कारण बीचबीचमा काममा अन्तराल आयो। सुरुका दिनमा अपेक्षित पारिवारिक साथ नपाएको अनुभव पनि उनीसँग छ। तर शिक्षक तथा वरिष्ठ कलाकारहरूको सहयोग र आफ्नै निरन्तर अभ्यासले उनलाई अघि बढायो।

उनको विश्वास छ—कला सिक्न सधैँ ठूलो अवसर वा विशेष ठाउँ नै चाहिन्छ भन्ने छैन; भित्रबाट इच्छा छ भने घरबाटै पनि सुरुआत गर्न सकिन्छ।

हजुरआमाबाट सुरु हुने प्रेरणा

कलाका धेरै सिर्जनाको जरो उनको बाल्यकाल र हजुरआमासँग जोडिएको छ।

करिब पाँच वर्षको उमेरदेखि हजुरआमासँग हुर्किएकी उनले गाउँघर, प्रकृति, परम्परा र पुर्खाका धेरै कथा त्यहीँबाट देखिन् र सुनिन्। ती स्मृति अहिले उनका चित्र र इन्स्टलेसनमा फर्किरहेका छन्।

हजुरआमाले घरव्यवहार चलाउँदा अपनाउने सामान्य तर अनौठा अभ्याससमेत उनको कलाको विषय बनेका छन्। रक्सी बिक्री गर्दा बोतलको संख्या र भित्तामा गरिने हिसाबलाई सम्झेर उनले फुटेका बोतल र सांकेतिक चिन्ह प्रयोग गर्दै इन्स्टलेसन आर्टसमेत सिर्जना गरेकी छन्।

उनका लागि त्यो केवल पुरानो सम्झना होइन, एउटी महिलाको जीवन, श्रम र आर्थिक सङ्घर्षको कथा पनि हो।

प्रकृति, मुन्धुम र लिम्बु संस्कृति

कलाका चित्रहरूमा प्रकृति बारम्बार आउँछ।

हिमाल, ढुङ्गा, माटो, वनस्पति, झ्याउ, जडीबुटी, अन्न र प्रकृतिसँग जोडिएका सांस्कृतिक अभ्यास उनका सिर्जनाका विषय हुन्।

लिम्बु समुदायको मुन्धुममा प्रकृति र मानिसको सम्बन्धलाई दिइएको महत्त्वले उनलाई विशेष रूपमा आकर्षित गर्छ। नयाँ अन्नलाई प्रकृति र पितृसँग जोडेर हेर्ने परम्परा होस् वा ढुङ्गा, पानी र वनस्पतिसँगको सम्बन्ध—यी विषयलाई उनी आफ्नै दृष्टिले क्यान्भासमा उतार्न चाहन्छिन्।

परम्परागत बुट्टा र लिम्बु पहिचानसँग जोडिएका सांस्कृतिक संकेत पनि उनका काममा देखिन्छन्।

यसको पछाडि एउटा स्पष्ट उद्देश्य छ—हराउँदै वा कम देखिँदै गएका लिम्बु संस्कृति, जीवनशैली र पुर्खाका कथालाई कलामार्फत फेरि सम्झाउने।

कपी होइन, आफ्नै काम गर्न मन लाग्छ’

अहिले अरूको काम हेरेर त्यस्तै बनाउने प्रवृत्ति धेरै भएको उनको अनुभव छ। तर उनी त्यसबाट अलग रहन चाहन्छिन्।

उनको प्राथमिकता आफ्नै अनुभव, आफ्नै संस्कृति र आफूलाई भित्रबाट छुने विषय हुन्।

अरूको काम कपी गर्नुभन्दा मलाई के गर्दा खुसी लाग्छ, म त्यही काम गर्न चाहन्छु,” उनको भनाइको सार हो।

त्यही कारण उनका लागि चित्रकला केवल पेशा वा बिक्रीको वस्तु होइन। आफ्नो पहिचान खोज्ने र आफ्ना पुर्खाका कथा नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम पनि हो।

प्रदर्शनीमा अधिकांश काम बिक्री

कलाका सिर्जना प्रदर्शनीसम्म पनि पुगेका छन्। नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा उनले आफ्ना चित्र तथा अन्य कलाकृति प्रस्तुत गरेकी थिइन्।

उनका अनुसार उक्त प्रदर्शनीमा राखिएका करिब ८०–९० प्रतिशत काम बिक्री भएका थिए। उनका एउटा कलाकृति अधिकतम करिब ४० हजार रुपैयाँसम्ममा बिक्री भएको अनुभव छ।

तर कलाको मूल्य केवल पैसाले निर्धारण नहुने उनको बुझाइ छ।

एउटा चित्रमा कति सूक्ष्म काम गरिएको छ, त्यसमा कलाकारले कति समय र मेहनत खर्चिएको छ भन्ने बुझाइ दर्शकमा अझै विकास हुनुपर्ने उनी बताउँछिन्।

राई–लिम्बुलगायत समुदायमा मौलिक कलाकृति किन्ने संस्कृति अझै व्यापक नभए पनि विस्तारै परिवर्तन आइरहेको उनको अनुभव छ।

तीन सन्तानकी आमाले सपना छोडिनन्

कलाको जीवनयात्राको सबैभन्दा प्रेरणादायी पक्ष सम्भवतः यही हो—जीवनको कुनै चरण ढिलो भयो भन्दैमा उनले त्यसलाई अन्त्य मानिनन्।

सानैमा पढाइ रोकियो। तीन सन्तान भए। घरपरिवारको जिम्मेवारी आयो। चित्रकलामा कहिले निरन्तरता रह्यो, कहिले अन्तराल आयो।

तर उनी फेरि पढाइमा फर्किइन्। चित्र बनाउन फर्किइन्। आफ्नो कला र पहिचान खोज्न फर्किइन्।

आज पनि उनको योजना आफ्नै मौलिक सिर्जनामा अझ धेरै काम गर्ने र भविष्यमा आफ्नै प्रदर्शनी आयोजना गर्ने छ।

उनको जीवन दर्शन पनि त्यत्तिकै सरल छ—

मानिस धेरै पढेको होस् वा कम पढेको, प्रकृतिले हरेक मानिसलाई केही न केही विशेष गुण दिएको हुन्छ। आफ्नो त्यो गुण चिन्न र त्यसलाई पछ्याउन सक्नुपर्छ।

कला लिम्बुले आफ्नो त्यो गुण चित्रकलामा भेटिन्।

र अहिले उनी क्यान्भासमा केवल रंग भरिरहेकी छैनन्।

हजुरआमाका सम्झना, प्रकृतिसँगको सम्बन्ध, मुन्धुमको दर्शन र हराउँदै गएका पुर्खाका कथालाई रंगमार्फत अर्को पुस्तासम्म पुर्‍याउने प्रयास गरिरहेकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *