खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेञ्जसम्म
काठमाडौं। नेपाली उद्यमी दिप जंग थापा सहसंस्थापक रहेको भारतस्थित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित साइबर सुरक्षा कम्पनी क्राटिकल टेक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन—आईपीओमा मागभन्दा २०५.०८ गुणा बढी आवेदन परेको छ।
भारतको बम्बई स्टक एक्सचेञ्ज—बीएसईको एसएमई प्लेटफर्ममा निष्कासन गरिएको आईपीओ ३० जुन २०२६ मा खुलेर २ जुलाईमा बन्द भएको थियो। सर्वसाधारण तथा अन्य लगानीकर्ताका लागि उपलब्ध करिब २१ लाख नौ हजार कित्ता सेयरका लागि ४३ करोड २५ लाखभन्दा बढी कित्ता बराबरको आवेदन परेको विवरणमा उल्लेख छ।
कम्पनीले आईपीओबाट भारु ३९ करोड ६९ लाख अर्थात् करिब ६३ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको पुँजी उठाएको छ। आईपीओको प्रतिकित्ता मूल्य भारु १२८ देखि १३५ रुपैयाँसम्म तोकिएको थियो। कम्पनीले कुल २९ लाख ४० हजार कित्ता नयाँ सेयर जारी गरेको थियो, जसमध्ये केही सेयर संस्थागत तथा एङ्कर लगानीकर्ताका लागि छुट्याइएको थियो।
पहिलो दिनमै ४२ प्रतिशत बढी मूल्यमा सूचीकृत
क्राटिकल टेकको सेयर ७ जुलाईमा बीएसईको एसएमई प्लेटफर्ममा सूचीकृत भएको थियो। भारु १३५ को आईपीओ मूल्यमा जारी भएको सेयर पहिलो कारोबारका लागि भारु १९२ मा सूचीकृत भयो। यो आईपीओ मूल्यभन्दा ४२.२२ प्रतिशत बढी हो।
क्राटिकल टेकका प्रवर्द्धक तथा सहसंस्थापकमा पवन कुमार, परतोष कुमार र दिप जंग थापा रहेका छन्। कम्पनीको आधिकारिक विवरणअनुसार थापा प्रमुख सञ्चालन अधिकृत—सीओओ हुन्। उनी सन् २०१६ देखि कम्पनीको सीओओका रूपमा संलग्न छन्।
खोटाङ मूल घर भएका थापाले भारतको मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान—एमएनएनआईटी इलाहाबादबाट सन् २०१५ मा मेकानिकल इन्जिनियरिङमा बीटेक पूरा गरेका हुन्। उनले कम्पनीको ‘पिपल सेक्युरिटी म्यानेजमेन्ट’ प्लेटफर्मको विकास तथा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आईपीओसम्बन्धी आधिकारिक दस्तावेजमा उल्लेख छ।
कलेजमा भएको एउटा घटनाबाट सुरु भएको कम्पनी
क्राटिकल टेकको यात्रा सन् २०१३ मा भारतको नोएडाबाट सुरु भएको थियो। कलेजमा अध्ययन गरिरहेका बेला सार्वजनिक प्रयोगको कम्प्युटरबाट एक सहसंस्थापकको इमेल ह्याक भएपछि उनीहरूले साइबर सुरक्षाको आवश्यकता नजिकबाट महसुस गरेका थिए। यही घटनाबाट साइबर सुरक्षा सेवा दिने कम्पनी स्थापना गर्ने सोच बनेको कम्पनीले जनाएको छ।
हाल कम्पनीले एआईमा आधारित ‘सफ्टवेयर एज अ सर्भिस’—सास समाधान, साइबर सुरक्षा परामर्श, जोखिम परीक्षण, नियामकीय मापदण्ड पालना तथा डिजिटल प्रणालीको सुरक्षा परीक्षणसम्बन्धी सेवा प्रदान गर्छ।
कम्पनीका ग्राहकमा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, दूरसञ्चार सेवा प्रदायक, सूचना प्रविधि कम्पनी, स्वास्थ्य तथा औषधि उद्योग, ई-कमर्स र उत्पादनमूलक उद्योगसमेत छन्। कम्पनीले भारतसहित अमेरिका, संयुक्त अरब इमिरेट्स तथा अन्य विदेशी बजारमा पनि सेवा विस्तार गरेको छ।
अमेरिका र खाडी क्षेत्रमा विस्तार गर्ने योजना
आईपीओबाट प्राप्त रकममध्ये भारु २३ करोड आठ लाख कम्पनीका अमेरिका र संयुक्त अरब इमिरेट्सस्थित सहायक कम्पनीको बिक्री, बजार प्रवर्द्धन र जनशक्ति विस्तारमा प्रयोग गर्ने योजना छ। थप भारु नौ करोड २३ लाख उत्पादन तथा प्रविधि विकासमा लगानी गरिनेछ। बाँकी रकम कम्पनीका सामान्य व्यावसायिक प्रयोजनमा उपयोग गरिने विवरणमा उल्लेख छ।
थापाले खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेञ्जसम्मको यात्रा असाधारण रहेको बताएका छन्। उनले आईपीओलाई अन्तिम उपलब्धि नभई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार र साइबर सुरक्षा क्षेत्रमा थप प्रभाव सिर्जना गर्ने यात्राको सुरुवातका रूपमा लिएको बताएका छन्।
क्राटिकल टेकले हाल नेपालमा प्रत्यक्ष कार्यालय सञ्चालन नगरे पनि काठमाडौंस्थित ग्याप टेक्नोलोजीसँग सहकार्य गरिरहेको बताइएको छ।
एजेन्सीहरुको सहयोगमा
