३ पुस्तादेखि ताला-चाबी बनाउँदै

जीविको २०८३ असार १९ गते २२:२६

काठमाडौंको ठमेलमा जन्मिए–हुर्किएका ईश्वर नकर्मीको परिवार तीन पुस्तादेखि ताल्चा र साँचो बनाउने पेसामा जोडिएको छ। उनका हजुरबुवा र जिजुबुवाले राजा–राणाका दरबारमा प्रयोग हुने ताल्चा र साँचो बनाएका थिए।

बक्सर वा रेस्लर जस्ता देखिने, हातभरि ट्याटु खोपेका ईश्वर पेसाले साँचो र ताल्चा बनाउने काम गर्छन्। घर वा कार्यालयमा ताल्चा बिग्रिएमा उनी त्यहीँ पुगेर मर्मत गर्ने तथा नयाँ साँचो बनाउने काम पनि गर्छन्।

पुरानो समयमा चलनचल्तीमा रहेको ठूलो र बलियो ताल्चालाई धेरैले ‘भोटे ताल्चा’ पनि भन्ने गर्थे। त्यो समय विस्तारै सकिँदै गयो। आधुनिक ताल्चा र साँचोको युग सुरु भयो। प्रविधि र बजारको माग फेरिएसँगै उनका बुवाले पनि नयाँ तरिकाले ताल्चा र साँचो बनाउन थाले।

ईश्वर १६ वर्षका हुँदा उनले आफ्ना बुवासँगै घरमै ताल्चा र साँचो बनाउने सीप सिक्न थाले। बुवासँगै सिक्दै गर्दा बुवाको निधन भयो। त्यसपछि उनी र उनका दाजुभाइले पुस्तौँदेखि चल्दै आएको यो पेसालाई निरन्तरता दिए।

झन्डै २४ वर्षदेखि ईश्वरले बुवासँग सिकेको यही सीपलाई अघि बढाउँदै आएका छन्। अहिले ललितपुरको पुल्चोकमा ‘Key Concern’ नामक पसल सञ्चालन गरेर उनीहरू ताल्चा र साँचो बनाउने व्यवसाय गरिरहेका छन्।

ईश्वर भन्छन्, “नयाँ प्रविधि आएपछि हामीले पनि समयअनुसार नयाँ–नयाँ कुरा सिक्दै काम गर्न थालेका छौँ।”

उनका अनुसार महिनामा सरदर डेढ लाख रुपैयाँसम्मको कारोबार हुन्छ। तर पछिल्लो समय डिजिटल लक र आधुनिक सुरक्षा प्रणालीको प्रयोग बढ्दै गएपछि तीन–चार पुस्तादेखि चल्दै आएको आफ्नो पेसा र व्यवसायको भविष्य के होला भन्ने चिन्ता उनलाई छ। त्यसैले कहिलेकाहीँ अब वैकल्पिक बाटो पनि सोच्नुपर्ने हो कि भन्ने लाग्न थालेको उनी बताउँछन्।

यद्यपि उनी आफ्नो पेसाप्रति गर्व गर्छन्। उनका बाजे–बराजुले दरबारका ताल्चा बनाए। बुवाबाट घरमै सिकेको सीपले आज उनको परिवार चलिरहेको छ। बदलिँदो समयसँगै चुनौती थपिए पनि ईश्वरका लागि यो पेसा केवल कमाइको माध्यम होइन, परिवारको इतिहास र पुस्तौंपुस्ताको सीपसँग जोडिएको पहिचान पनि हो। “ईश्वर भन्छन्, जे काम गर्दै छु, त्यसमा खुसी छु। आखिर मिहिनेतको फल मिठो नै हुन्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *