महिला हिंसा, दुर्व्यवहार वा शोषण भएमा ११४५ मा फोन गर्नुहोस्, २४ सै घण्टा निःशुल्क सहयोग पाइने
काठमाडौं। महिला तथा किशोरीमाथि हिंसा, दुर्व्यवहार, शोषण वा अन्य कुनै प्रकारको लैङ्गिक हिंसा भएमा वा त्यस्ता घटनाबारे जानकारी पाएमा तत्काल ११४५ मा फोन गरेर सहयोग लिन सकिने भएको छ।
नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले हिंसाका घटनाबारे तत्काल खबर गर्न र हिंसाविरुद्ध आवाज उठाउन आग्रह गरेको छ।
११४५ राष्ट्रिय महिला आयोगले सञ्चालन गरेको निःशुल्क हेल्पलाइन सेवा हो। यो सेवा हप्ताको सातै दिन, २४ सै घण्टा उपलब्ध छ। देशको जुनसुकै स्थानबाट पनि फोन गरेर हिंसाका घटनाबारे जानकारी दिन वा सहयोग माग्न सकिन्छ।
कस्ता घटनामा फोन गर्न सकिन्छ?
महिला तथा किशोरीमाथि हुने घरेलु हिंसा, शारीरिक कुटपिट, मानसिक यातना, यौन दुर्व्यवहार, आर्थिक शोषण, धम्की तथा अन्य प्रकारका लैङ्गिक हिंसाका घटनामा ११४५ मा सम्पर्क गर्न सकिन्छ।
हिंसामा परेको व्यक्ति आफैँले मात्र होइन, परिवारका सदस्य, छिमेकी, साथीभाइ वा घटनाबारे जानकारी पाएका अन्य व्यक्तिले पनि खबर गर्न सक्छन्।
११४५ मा फोन गरेपछि कस्तो सहयोग पाइन्छ?
राष्ट्रिय महिला आयोगका अनुसार यस हेल्पलाइनबाट घटनाको प्रकृति र आवश्यकताका आधारमा परामर्श, सल्लाह तथा सम्बन्धित सेवा प्रदायक निकायसँग समन्वय गरेर सहयोग उपलब्ध गराइन्छ।
आवश्यकताअनुसार कानुनी परामर्श तथा सहायता, मनोसामाजिक परामर्श, आधारभूत स्वास्थ्य सेवा, हिंसाबाट प्रभावित महिला तथा किशोरीका लागि सुरक्षित आश्रय र १८ वर्षमुनिका प्रभावित व्यक्तिका लागि विशेष सेवामा पहुँच पुर्याउन सहयोग गरिन्छ।
हेल्पलाइनमा उपलब्ध गराइएका व्यक्तिगत तथा घटनासम्बन्धी विवरण गोप्य राखिने व्यवस्था रहेको आयोगले जनाएको छ।
कसरी सम्पर्क गर्ने?
हिंसाका घटनाबारे जानकारी दिन वा सहयोग लिन निम्न माध्यम प्रयोग गर्न सकिन्छ।
- हेल्पलाइन: ११४५ (निःशुल्क, २४ सै घण्टा)
- एसएमएस: ११४५ मा सन्देश पठाएर
- अनलाइन उजुरी: https://nwchelpline.gov.np
- कार्यालय: राष्ट्रिय महिला आयोगमा सम्पर्क गरेर
तत्काल प्रहरीको सहयोग आवश्यक परेमा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गर्न सकिन्छ। बालबालिकासम्बन्धी घटनामा बाल हेल्पलाइन १०९८ मा पनि सम्पर्क गर्न सकिन्छ।
हिंसा सहेर बस्नुको सट्टा समयमै सहयोग माग्न, पीडितलाई आवश्यक साथ दिन र घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउन सबैलाई आग्रह गरिएको छ।
हिंसाविरुद्ध आवाज उठाऔँ, सुरक्षित र सम्मानजनक समाज निर्माण गरौँ।
