सीप तथा रोजगार मेला सम्पन्न, १००० भन्दा बढी युवाको सहभागिता
ललितपुर । ललितपुर महानगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा जिबिको मिडिया इनिसिएटिभ्सको प्राविधिक सहयोगमा जावलाखेलमा आयोजित “सीप तथा रोजगार मेला” सफलतापूर्वक सम्पन्न भएको छ।
२०८३ असार १२ गते शुक्रबार ललित मण्डप, जावलाखेल पार्कमा सम्पन्न मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपप्रमुखले गर्नुभएको थियो। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष, जेनजी आन्दोलनका शहीदकी आमा, विभिन्न सीप तथा तालिम प्रदायक संस्था, रोजगारदाता, युवा, महिला, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा रोजगारी खोजिरहेका युवाहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवा तथा महिलालाई सीप प्रदायक संस्था, रोजगारदाता र रोजगार सेवासँग एउटै स्थानमा प्रत्यक्ष जोड्नु रहेको थियो। मेलामा सीप सिक्न चाहने, रोजगारी खोजिरहेका तथा स्वरोजगार र उद्यमशीलतामा रुचि राख्ने युवाहरूले विभिन्न तालिम, रोजगारी, करियर परामर्श तथा व्यावसायिक अवसरबारे जानकारी लिएका थिए।

मेलामा २४ भन्दा बढी सीप तथा रोजगार प्रदायक संस्थाले स्टल राखेका थिए। मेलामा १००० भन्दा बढी व्यक्तिले अवलोकन तथा सहभागिता जनाएका थिए। विभिन्न तालिम प्रदायक संस्थाहरूले २०० भन्दा बढी व्यक्तिले तालिम सेवाका लागि नाम दर्ता गरेको जानकारी दिएका छन्। त्यस्तै, रोजगारी तथा रोजगारसम्बन्धी सेवाका लागि १०० भन्दा बढी व्यक्तिले आफ्नो नाम दर्ता गराएका छन्।
मेलामा प्राविधिक तालिम, हस्पिटालिटी, केयरगिभर, ब्युटी, मोटरसाइकल मर्मत, हस्तकला, डिजिटल सीप, करियर परामर्श, रोजगार मिलान तथा रोजगारीसम्बन्धी सेवा प्रदान गर्ने संस्था सहभागी थिए। केही संस्थाले स्थलमै परामर्श, अन्तर्वार्ता, सीप प्रदर्शन तथा दर्ता सेवा सञ्चालन गरेका थिए।
ललितपुर महानगरपालिकाले युवालाई सीप, तालिम र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले यो मेला आयोजना गरेको हो। आयोजकका अनुसार यस्तो कार्यक्रमले स्थानीय श्रम बजारमा आवश्यक सीप, उपलब्ध तालिम र रोजगारीका अवसरबीच प्रत्यक्ष समन्वय गर्न सहयोग पुर्याउँछ।
जिबिको मिडियाले मेलाको प्रचारप्रसार, डिजिटल सामग्री निर्माण, प्रत्यक्ष प्रसारण तथा मिडिया कभरेजमा प्राविधिक सहयोग गरेको थियो। मेलाको पूर्वप्रचारका लागि जिबिकोले प्रवर्द्धनात्मक भिडियो, सामाजिक सञ्जाल अभियान तथा फेसबुक इभेन्टसमेत सञ्चालन गरेको थियो।
मेलामा सहभागी युवाहरूले एउटै स्थानमा विभिन्न तालिम, रोजगारी र करियरसम्बन्धी जानकारी लिन पाएकोमा कार्यक्रम उपयोगी भएको बताएका थिए। आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित, रोजगारदातामुखी र परिणाममुखी बनाउँदै लैजान सकिने जनाएको छ।
मेलामा २४ भन्दा बढी सीप तथा रोजगार प्रदायक संस्थाले स्टल राखेका थिए। मेलामा Manjari Arts, Jobs Dynamics, United Technical School, CNF Nepal, Home Care Service Nepal, CTF Nepal, National Skill Academy, Antarprerana, Nepal Youth Foundation, Motherland Skills, Yours Humanly Nepal, Garud Securities, Prixa Academy, Rojgari, Merojob, Culinary Arts Institute, UCEP Nepal, FHAN, KTS Nepal, inDrive, Sahara Foundation Nepal, Doorsteps Nepal लगायतका संस्थाहरूले आफ्नो सेवा, तालिम तथा रोजगारीसम्बन्धी जानकारी प्रदान गर्दै स्टल सञ्चालन गरेका थिए।
