केरा सहरमा ३५०, किसानको हातमा ३६

जीविको २०८३ वैशाख १६ गते ५:५९

सुर्खेत, चौकुने: सुर्खेतको वीरेन्द्रनगरदेखि काठमाडौँसम्मका फलफूल पसलमा अहिले एउटा साइनबोर्ड झुण्डिएको देखिन्छ— “केरा प्रतिदर्जन ३५० रुपैयाँ”। कतै-कतै त यो मूल्य ४०० रुपैयाँसम्म पुगेको छ। भारतीय केराको आयात केही कम हुनासाथ बजारमा मूल्यले आकाश छोएको छ। तर, यही बेला सुर्खेतको पश्चिमी भेग चौकुनेका किसान मदन बि.क.को घरमा भने अर्कै तनाव र सन्नाटा छ। उनको परिवारले बारीको ताजा केरा जम्मा ३६ रुपैयाँ दर्जनमा बेच्नुपर्ने बाध्यता छ।

१० गुणाको खाडल बजारमा ३५०, किसानको हातमा ३६। यो १० गुणाको खाडलभित्र एउटा नेपाली किसानको सपना कसरी पुरिन्छ भन्ने उदाहरण हो मदनको परिवार। सामान्य अवस्थामा त कथा झनै दारुण हुन्छ। जब सहरमा केराको भाउ दर्जनको डेढ-दुई सय हुन्छ, चौकुनेका किसानको हातमा जम्मा १५ रुपैयाँ मात्र पर्छ।

मुग्लानको पीडा र माटोको मोह मदनका बुवाले आफ्नो जवानीका ऊर्जाशील १५ वर्ष भारतमा बिताए। गाउँमा जग्गा थियो, तर उब्जाएको वस्तु नबिक्ने रोग र सिँचाइको असुविधाले उनलाई मुग्लान खेदेको थियो। डेढ दशकपछि “आफ्नै माटोमा केही गर्छु” भनेर फर्किएका उनले अहिले दुई बिघाभन्दा बढी जग्गामा केरा, कागती र आँप खेती गरेका छन्। बारीमा फल प्रशस्त छन्, तर ती फलले खुसीभन्दा बढी चिन्ता दिएका छन्।

पसिनाको मूल्य गाईभैँसीको आहार किसानको दुःख सुन्दा कुनै कथा जस्तो लाग्छ। मदनका बुवा केराका गह्रौँ घरीहरू काँधमा राखेर डेढ घण्टाको उकाली-ओराली गर्दै संकलन केन्द्रसम्म पुग्छन्। तर, त्यहाँ पुग्दा कहिलेकाहीँ व्यापारीले केरा किनिदिँदैनन्। “त्यो बेला बुवा त्यति नै बाटो फेरि भारी बोकेर घर फर्कनुहुन्छ र त्यो फल गाईभैँसीलाई काटिदिनुहुन्छ,” मदन भन्छन्। मान्छेले मूल्य नदिएको फल अन्त्यमा वस्तुभाउको आहार बन्छ।

खास किसानी गर्नेका दुःखहरू अनेकौँ छन्— न बाटोघाटोको सुविधा छ, न सरकारले दिने सुविधा वास्तविक किसानसम्म पुगेको छ। बढी भएको उत्पादन कि सडककै छोड्नुपर्छ, कि त गाईवस्तुलाई खुवाउनुपर्छ। बजार र किसानको बीचमा रहेको यो अदृश्य पर्खालले किसानलाई सधैँ गरिब र बिचौलिया व्यापारीलाई मात्र धनी बनाइरहेको छ।

“छोराले यो दुःख नपाओस्” यही हण्डर र ठक्कर खाएपछि मदनका बुवाआमाले एउटै संकल्प गरेका छन्— छोराले कृषि नगरोस्। “हामीले दुःख पायौँ, छोराले दुःख नपाओस्” भन्दै उनलाई सुर्खेत राखेर पढाइरहेका छन्। मदन अहिले लोकसेवाको तयारी गर्दैछन्। आमाबुवाको पसिना र आँसु देखेका मदनलाई पनि माटोमा जोतिने हिम्मत छैन।

उनी भन्छन्: “मलाई कृषि गर्न मन नभएको होइन, तर यहाँको प्रणाली देखेर डर लाग्छ। मेहेनत गर्ने किसान जहिल्यै रुनुपर्ने, अनि फाइदा अर्कैले लैजाने? यस्तो देखेपछि कसरी कृषिमा भविष्य खोज्नु?”

मदन लोकसेवाको किताब पल्टाउँछन्, तर उनको दिमागमा भने भारी बोकेर फर्कँदै गरेका बुवाको थकित अनुहार घुमिरहन्छ। उनी एउटै कुरा दोहोर्‍याउँछन्, “रुनु पर्ने त जहिल्यै किसान नै त हो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित