जन मुक्ति सेनाको कमान्डर हुँदै उद्यमीसम्मको यात्रा

जीविको २०८३ वैशाख १३ गते १०:५४

सिन्धुलीका प्रविन तामाङ माओवादी सशस्त्र द्वन्द्वको बेलामा, जन मुक्ति सेनाको कमान्डर भए, अहिले आफ्नै व्यवसाय गरेर उद्यमी बनेका छन्।

सिन्धुलीको मरिण खोलाको तिरैतिर दौडिएको त्यो बालापन र गाउँको शान्त परिवेशलाई २०५४ सालको राजनीतिक रापले एकाएक तताइदियो। मरिणको माटोमा हुर्किएका प्रविण तामाङ, जोसँग समाज फेर्ने एउटा सुन्दर सपना थियो, त्यही सपनाको पछि लाग्दालाग्दै घरदैलो छोडेर ‘जनमुक्ति सेना’ को सिपाही बने।

सुरुका दिनहरूमा संगठन निर्माणका लागि गाउँ-गाउँ डुल्दा उनले भोगेका दुःखहरू आज पनि उनको मानसपटलमा ताजा छन्। प्रविणको सैन्य कौशल र नेतृत्व गर्ने क्षमताले उनलाई छिट्टै जिम्मेवारीको उचाइमा पुर्‍यायो। मरिणबाट सुरु भएको उनको यात्रा पूर्वको मेची अञ्चलको कमाण्ड सम्हाल्नेसम्म पुग्यो। पूर्वका चिया बगानदेखि इलाम र पाँचथरका भिरालो पाखाहरू सम्म प्रविणले संगठनको जग बसाल्न र युद्धको मोर्चा सम्हाल्न अहोरात्र खटिए।

त्यही कठोर युद्धकै बीचमा प्रविणको जीवनमा प्रेमको पालुवा पनि पलाएको थियो। पाँचथरको मोर्चामा खटिएकै बेला उनले युद्धमैदानमै पहिलो विवाह गरे। बन्दुकको नाल समातेका हातहरूले एउटा सुन्दर सपना साटासाट गरे। तर, त्यो वैवाहिक खुसी धेरै समय टिकेन। प्रविणको जीवनको सबैभन्दा बिर्सनलायक र क्रुर मोड उदयपुरको ताप्ली चिसापानीको त्यो कालरात्रि बन्यो।

ताप्ली चिसापानीमा सेल्टर लिएर बसेको बेला अचानक सुरक्षा फौजको घेरामा परेपछि सुरु भएको त्यो दोहोरो भिडन्तले प्रविणलाई कहिल्यै निको नहुने घाउ दियो। एकातिर कमाण्डरको रूपमा आफ्ना साथीहरूलाई जोगाउनु पर्ने चुनौती थियो भने अर्कोतिर उनकै अगाडि उनकी पहिलो श्रीमती रगताम्मे भएर छटपटाइरहेकी थिइन्। श्रीमतीको तड्पाइ देख्दादेख्दै पनि उनले न त उनको हात समातेर सान्त्वना दिन पाए, न त अन्तिम बिदाइका दुई शब्द नै बोल्न पाए। युद्धको नियम कठोर थियो—व्यक्तिगत भावनाभन्दा संगठन र बाँकी साथीहरूको सुरक्षा माथि थियो। श्रीमतीको प्राण उड्दै गर्दा उनी जसोतसो घेरा तोडेर बाहिर त निस्किए, तर उनको मनको एउटा ठूलो हिस्सा त्यहीँ खरानी भयो।

त्यो रिक्तता र युद्धको कठिन यात्राकै बीचमा पछि मोरङको सलकपुरमा उनले दोस्रो विवाह गरे। यो विवाह पनि जनयुद्धकै ताका भएको थियो, जहाँ जीवन र मृत्युको कुनै निश्चितता थिएन। तर नियतिले उनलाई अर्को चोट दियो। एउटा भिडन्तको क्रममा बमको छर्रा उनको अनुहारमा लाग्यो। पर्याप्त औषधि र उपचारको अभावमा ती आँखाहरू विस्तारै ज्योतिहीन हुँदै गए। एउटा कमाण्डर, जसले हजारौँलाई बाटो देखाउँथ्यो, आज आफैँ अर्काको सहारामा हिँड्नुपर्ने अवस्थामा पुग्यो।

शान्ति सम्झौतापछि जब हतियार बिसाएर नेतृत्व मूलधारमा आयो, प्रविणले सोचेका थिए अब त ती गरिब बस्तीहरूमा खुसी आउला, अब त पूर्वका चिया मजदुरका दुःख अन्त्य होलान्। तर समयले अर्कै मोड लियो। हिजो सँगै भोकभोकै हिँडेका नेतृत्व सत्ताको शिखरमा पुगेर सुखसयलमा भुले, तर आम नागरिकको अवस्थामा खासै सुधार आएन।

“मलाई मेरा आँखाहरू गुमेकोमा त्यति ठूलो पछुतो छैन, न त व्यक्तिगत क्षतिको नै कुनै गुनासो छ,” प्रविण शान्त भावमा भन्छन्, “किनकि ती त युद्धका मूल्यहरू थिए। तर मेरो १० वर्षको लगानी र ती हजारौँ शहीदको रगतले जब आम जनता (भूइँमान्छे) को जीवनलाई छुन सकेन, तब मलाई नेतृत्वप्रति वितृष्णा लाग्छ।”

प्रविणलाई लाग्छ, उनले ज्यान मुठीमा राखेर ल्याएको परिवर्तनले केवल केही व्यक्तिको जीवन मात्रै चम्कायो। तर जुन सपनाका लागि मरिणका युवकले आफ्नो सर्वस्व त्यागेका थिए, त्यो सपना आज पनि कतै अलपत्र परेको छ। आज प्रविण तामाङ आफ्नो अँध्यारो कोठामा बसेर यही सोच्छन्—के ती १० वर्षको संघर्ष र बलिदान केवल केही मान्छेलाई सत्तामा पुर्‍याउनका लागि मात्रै थियो त? उनको यो प्रश्न आजको राजनीतिक नेतृत्वका लागि एउटा गम्भीर ऐना बनेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित