ललितपुर, चाकुपाटमा ‘नेपालमै बनेको, नव उद्यमी हाटबजार’ सञ्चालन हुँदै

जीविको २०७८ पुष २ गते १३:१२

यही पुष ३ गते शनिबार ललितपुर, चाकुपाटमा ‘नेपालमै बनेको, नव उद्यमी हाटबजार कार्यक्रम’ सञ्चालन हुने भएको छ । कार्यक्रममा २५ भन्दा बढी उद्यमीहरूको स्टल रहने आयोजकले बताएको छ। उक्त कार्यक्रमकी संयोजक श्रीषा नेपालका अनुसार कार्यक्रममा नेपालमै बनेका विभिन्न हस्तकला सामानको प्रदर्शनी, पुस्तक प्रदर्शनीसँगै बालबालिकाहरुका लागि बालमैत्री कथा वाचन कार्यक्रम पनि गरिनेछ । कार्यक्रम पासायार्ड नेपाल र अन्तरप्रेरणा नेपालको संयुक्त आयोजनामा सञ्चालन हुनेछ । 

अन्तरप्रेरणाले यस्तो प्रकारको हाट बजार नियमित रुपमा गर्दै आइरहेकोमा पहिलो पटक पासायार्डसँग सहकार्यमा गर्न लागेको हो । चाकुपाटमा रहेको पासायार्डको कार्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना हुनेछ ।

पासायार्ड युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने हेतुले स्थापना गरिएको संस्था हो । यसले सन् २०१३ देखि उद्यमशीलतालाई प्रवर्द्धन गर्नको लागि आवश्यक श्रोत साधन उपलब्ध गराउँदै आएकोछ । त्यस्तै, अन्तरप्रेरणा उद्यमी उत्पादनको बृहत उद्देश्यले संचालनमा आएको संस्था हो । विगत ७ वर्षदेखि नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्‍याउने उद्देश्यका साथ अन्तरप्रेरणाले विभिन्न परियोजनाहरु गर्दै आइरहेको छ । यसले नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरुलाई नयाँ वा संचालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाइरहेको छ । 

नेपालमा नव उद्यमीहरूले बजार, पुँजी, उचित श्रोत साधनको अभावमा आफ्नो उत्पादनहरू अगाडि ल्याउन समस्या समस्या परिरहेको हुँदा उनिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संयोजक श्रिषाले बताइन्  । उनले भनिन्, “ कति व्यवसायीहरु बजारको उचित अवसर नपाएर  आफ्नो उत्पादन यत्तिकै थन्काउन बाध्य छन्, कति त अवसर नपाएर निरुत्साहित पनि भएका छन् तर यो कार्यक्रमले  त्यस्ता उद्यमीहरुको उत्पादनलाई प्रदर्शन गर्ने अवसर त दिन्छ नै साथै हौसला पनि मिल्ने हामीले अपेक्षा गरेका छौं । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *