प्रवासमा रहेका नेपालीको पत्र सरकारलाई
वैदेशिक रोजगारीले गर्दा नेपालका सीमान्त व्यक्तिहरूको घरमा हात मुख जोर्ने माध्यम बनेको झण्डै आधा शताब्दी भयो । २०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपछि नेपालबाट विदेशिने नागरिकहरूको सङ्ख्यामा अत्याधिक वृद्धि हुँदै गयो। त्यसयता घरका दुःख पीडा, भोक अनि गरिबी परदेशीले धानेका छन् । देशको अर्थतन्त्र धराशायी बन्न नदिन यिनै परदेशीले काँध थापेका छन् । तर, वैदेशिक रोजगारीमा नेपालीको ४ दशक बितिसक्दा पनि उनीहरूका पीडा जस्ताको त्यस्तै छ । देशलाई उकास्ने चिन्ता, परिवारको भोक टार्ने चिन्ता ज्युँका त्युँ नै छ ।
दशकौँ दशकदेखि रगत र पसिनासँग पैसा साटेर देशको अर्थव्यवस्था धानेका परदेशीहरूको जीवन भने अझै पनि न्यूनतम रूपमा सुरक्षित र मर्यादित हुन सकेको छैन । हरेक राजनीतिक दल र सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सम्झन त सम्झन्छन् तर कदर भने कहिल्यै गरेनन् ।
देश र सरकारले परदेशी नेपालीहरूलाई ‘अनगारिक’ को व्यवहार गरिरहँदा पनि ।उनीहरू भने देशलाई एकतर्फी रूपमा माया गरिरहेका छन् ।
यस्तै अवस्थाबाट गुज्रिरहेका दूरदेशमा रहेका नेपालीहरूले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंका नाममा पत्र लेखेका छन् ।
हाल मलेशियामा कार्यरत इलाम सन्दकपुरका ललित ढकाल ढकाल लेख्नुहुन्छ ;
श्री, प्रधानमन्त्री ज्यू
सिंहदरबार काठमाडौं ।
विषय : भावी पुस्ताको भाग्य भविष्य उज्यालो बनोस् भन्ने बारे ।
महोदय,
दूरदेशबाट थकित शरीर र व्यग्र मनले यहाँलाई सानो पत्र लेख्दै छु । देशको अवस्था ठीक नभएको खबरले समुन्द्र पारी लाखौँ नेपाली मनहरू स्वदेशको माटो सम्झेर रुने गरेका छन् । देशप्रति असीमित माया भएको एक प्रवासीमा म पनि पर्छु । प्रवासमा १७ वर्ष बिताउँदै गर्दा यहाँको विकास यहाँको नियम कानुन र देशले जनताप्रति देखाउने उत्तरदायित्वले प्रभावित भएको छु । त्यसैले नागरिक प्रति उत्तरदायी सरकार भएमात्र देशमा समृद्दि आउँछ भन्ने सुझाव दिन चाहन्छु । विदेश बस्दा धेरै देशका नागरिकहरूसँग भेट भयो उनीहरू आफ्नो देशको पासपोर्ट बोकेर गर्व गर्छन् र पासपोर्टमा पनि त्यस्तै छ । तर हाम्रो देशको कमजोर पासपोर्ट बोकेर परदेसिने हामीझैँ कमजोर नागरिकको अवस्था बेहाल नै छ । रेमिट्यान्सले मुलुक धानेको देशको बागडोर अहिले तपाईंले सम्हाल्नुभएको छ । अहिलेको अवस्थामा भ्रष्ट्राचार, नातावाद अनि कृपावादले मुलुक ग्रस्त भएको खबर सुन्दा मेरो भावी पुस्ताको भाग्य र भविष्यको चिन्ताले सताएर म रोगी भइसकेँ । वर्षै पिछे देशमा अनेकौँ वाद अनि तन्त्रहरू फेरिए तर प्रवासीको अवस्था भने फेरिएन फेर्न सकिएन । अहिले म परदेशमा भएपनि हरपल देशकै माटोको माया लाग्छ अनि नयाँ आउने पिँडीको भविष्य प्रति जिम्मेवारीको बोध पनि हुन्छ । मेरो आउने पुस्ताको भविष्यका लागि अझै खाडीमा गिटीको कुटाइमा नै मेरो सपना कुट्दै बस्न तयार छु । तर चुनावमा मेरो आगामी पुस्तालाई नझुक्याइयोस् र परदेशमा पसिनाका धारा बगाउन आउने पुस्ता आउन नपरोस् ।
प्रधानमन्त्री ज्यू तपाईंको परिवेश फेरिएझैँ सामान्य नागरिकको स्थिति कहिले फेरिएला ? नेता नभइ अभिभावक बन्न सक्ने प्रधानमन्त्री हामीले कहिले पाउँला ? यी र यस्तै अनेकौँ प्रश्नले चिन्तित छु । राज्य निर्माणमा नागरिकको दायित्वमा हामी परदेशीको दायित्व पनि थपिन्छ । पाँचौँ पटकको तपाईंको कार्यकाल पनि विगतमा झैँ राष्ट्र दोहन र माटोको लिलाममा नदोहोरियोस् यही कामना गर्दछु । पुनः अर्को पत्र पठाउने छु । तपाईंको जवाफ चाँडै पाउने आशा गर्दै बिदा चाहान्छु ।
हाल कतारमा कार्यरत इलाम ६ कि आशिका नेपाल लेख्नुहुन्छ ;
श्री
सम्माननीय प्रधानमन्त्री ज्यू
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिंहदरबार काठमाडौं
विषय : परदेशी नेपालीलाई अन्य नागरिक सरह नै गनियोस् ।
महोदय,
म जस्तै पसिनासँग पैसा साटेर परिवार पाल्ने युवाको जमात लाखौँमा छ । सिंहदरबारमा बसेर खाडी र अरबको दुःखपीडा सहजै बुझिन्न । तर, टन्टलापुर घाममा तालु तताएर बचाएको दुई पैसा नेपाल पठाउँदा हामीलाई गर्व लाग्छ । मैले हातका रेखा मेटाएर कमाएको केही पैसाले मेरो घर चलेको छ देश चलेको छ । तर, खाडीमा पसिना बेच्न जब हामी विमानस्थल छिर्छौँ त्यहीँबाट आफू नेपाली नागरिकको रूपमा नगनिएको हो कि भन्ने लाग्छ । दोस्रो दर्जाको नागरिक झैँ विमानस्थलबाट हामी यहाँसम्म पुग्छौँ यहाँ पुगेपछि त नागरिक हैन आफूलाई मानिस जस्तो पनि लाग्न छाड्छ । देशको पासपोर्ट कमजोर छ तर त्यही पासपोर्टको माया लाग्छ । केही कमाउनु छ देशलाई दिनु छ जस्तै लाग्छ । म केही साल चाहेर पनि नेपाल फर्किन्न तर फर्किएपछि सरकार मेरो हराएको पहिचान फर्कियोस् गर्वले नेपालकै माटो खन्न सकूँ नेपालमै पसिना बगाउन सकूँ । मेरो स्वास्थ्यको ख्याल सरकारले राखिदियोस् दुई छाक टार्ने वातावरण बनोस् म फेरी गैरनागरिक बन्दै विदेशिन विमानस्थल पुग्न नपरोस् ।
हाल कतारमा कार्यरत झापा चारआलीका कमल बराल लेख्नुहुन्छ ।
श्री सम्माननीय प्रधानमन्त्री ज्यू,
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
बिषय – श्रमिकका गुनासो सुनियोस् ।
महोदय,
म खाडीको ४० डिग्री गर्मीमा पसिनाले लतपत भएर तपाईंलाई चिठी लेख्दै छु । देशमा देखेका सपना पूरा भएनन्, अध्ययन राम्रो गर्न पाइन पढ्न नपाएकाले राम्रो जागिर पाउने कुरा पनि सकियो । व्यापार गर्न खोजेँ सकिन । नेपालमा गर्न खोज्दा खोज्दै पनि गर्न नसक्नु सायद मेरो नै गल्ति होला । केही सीप नलागेपछि मैले कतार रोजेँ र निर्माणको काम गर्न यहाँ आइपुगेँ ।
विदेशिँदा पनि सोचेझैँ जिन्दगी बनाउँन सकिन । ३५ हजारमा पसिनाका धारा छुट्नेगरि अनि हातका रेखा मेटिने गरि काम गर्नुपर्छ । यहाँका पीडा तपाईंलाई पनि धेरै थाह नै होला । मलाई यहाँको चिन्ता भन्दा बढी देश फर्केपछि के गर्ने भन्ने चिन्ताले बढी सताउँछ । विदेशिएको आठ वर्ष भयो ४ वर्षे छुट्टिमा देश फर्किएँ तर के गरेर जीवन धान्ने उपाय सोच्न सकिन । म फेरी विदेशिए ठूलो दाम तिर्न नसक्ने भएकाले मैले सस्तो टिकट काटेँ सस्तो टिकट भएर होला प्लेनमा खानेकुरा सम्म पाइन । सोचेँ हामी खाडीका मजदुर तल्लो दर्जाका नागरिकमा पर्छौँ क्यारे ।
प्लेनबाट तल्लो नागरिक झैँ लाग्ने परिस्थिति यहाँ कतारमा पनि रोकिँदैन । साहु माझन अनि म्यानेजरको गुलामी गरेरै हात मुख जोर्नुपर्छ बोलीबचनको त कुरा पनि नगरौँ । तर, देशबाटै शोषित हामी मजदुरहरू विदेशका कम्पनीबाट शोषित हुँदा खासै नौलो त लाग्दैन । अहिले त व्यवस्था फेरिएको छ भन्छन् गाउँ गाउँमा सिंहदरबार पुग्यो भन्छन् अघिल्लो पटक नेपाल आउँदा त्यो सिंहदरबार मैले देख्न पाइन । यसपटक आउँदा गाउँमा सिंहदरबार देख्न पाइयोस् अनि गाउँपनि राजधानी झैँ विकसित देख्न पाइयोस् । नेपाल फर्किएपछि अघिल्लो पटक जस्तै सपना तुहाएर फर्किनु नपरोस् ।
हाल दुबईमा कार्यरत काभ्रे धुलिखेलकी मन्जु तिमल्सिना लेख्नुहुन्छ ;
श्री
माननीय मन्त्री ज्यू,
श्रम तथा रोजगार मन्त्रालय
सिंहदरबार काठमाडौं
विषय : स्वदेशमै रोजगारी सृजना गरिदिने सम्बन्धमा ।
महदोय,
देशमा चाड पर्व लागेको छ । परदेशमा न दशैँ न तिहार घर सम्झेर आशु झार्नु बाहेक अन्य कुनै उपाय छैन । ३ वर्षअघिसम्म ५ हजार पारिश्रमिकमा नेपालमा नै पढाउने काम गर्थे । तर, बिहान बेलुका खानसम्म त्यो पैसाले पुगेन । देशमा के गर्ने कसरी बाँच्ने उपाय नै नदेखेपछि विदेशिने निर्णय गरेँ । म मात्र होइन ५ वर्षको छोरा छाडेर मेरो श्रीमान पनि विदेशिए । आमा बाबु दुवैको साथ नहुँदा छोरो एक्लिएको छ । हामीलाई परदेशमा मात्र होइन स्वदेशमा भएको छोरोलाई पनि दशैँ तिहारले छोएन । फोन गर्दा छोरो रुँदै भन्छ ‘मामु तपाईंहरू हुनुहुन्न मलाई कहिलेपनि दशैँ आउँदैन’ यसपटकको दशैँ पनि खल्लो भयो । छोरोको यस्तो कुरा सुन्दा सबै चटक्क छाडेर स्वदेश आँउ जस्तो लाग्छ तर यहाँ आएर गर्ने के ? त्यसैले हामी जस्ता युवाका लागि देशमा सानो भएपनि रोजगारी पाए केही गर्न सक्ने तालिम पाए बालबच्चासँगै देशमै बस्न पाउँथ्यौँ । त्यसैले खाडीको तातो मरूभूमिबाट यो पत्र लेखेको छु सम्भव भएसम्म छिट्टै रोजगारीको अवसर देशमा बनोस् र हामी फर्कि आउन पाउँ ।
मन्जु तिमल्सिना
हाल युएई
(काभ्रे धुलीखेल-२)