विकास, समृद्दि र चेतनाको सपना देख्न बन्देज लगाइएको प्रदेश हो कर्णाली प्रदेश । बन्देज यो मानेमा, यहाँ अथाह सम्भावना छन् तर सरकारका नजर भने कर्णालीका पहाडमा अझैपनि ठोकिएका छैनन् । चरम गरिबीदेखि बालविवाह, अशिक्षा र सामाजिक उत्पीडनसँग कर्णालीलाई वर्षौं वर्षदेखि पर्यायवाची बनाइएको छ । केन्द्रले अझैपनि कर्णालीलाई ‘दुरको प्रदेश’ र कर्णालीवासीलाई ‘बिचरा’ नागरिकका रूपमा हेर्दै आइरहेको छ । तर कर्णालीले बिस्तारै परिवर्तनको गति भने लिँदै छ । ‘बिचरा’ भनिएका नागरिकहरू ‘बिचार’ बोकेर जाग्दै छन् । यसैको उदाहरण हो; कर्णाली प्रदेशको एउटा जिल्ला दैलेख नगरपालिकाको ‘धुलेश्वर बुहारी समूह’
पाँच वर्ष अगाडि मात्रै यस ठाउँका किशोर किशोरीहरू आठ कक्षा पास नगर्दै रोजगारीका लागि भारततिर लाग्थे । सात कक्षामा पढ्न आउने किशोरीका हातभरि चुरा र सिउँदोमा सिन्दुर हुन्थ्यो । उच्च शिक्षा त परको कुरा किशोरीहरू महिनावारी हुनुपूर्व नै वैवाहिक बन्धनमा बाँधिन्थे । अशिक्षा र चेतनाको कमीले कति किशोरीहरूले अकालमै ज्यान गुमाए लेखाजोखा नै छैन । एउटा बालिकाले उमेर नपुगी आमा बन्नुपर्ने अवस्था थियो दुल्लूमा । दुल्लूका बुढापाकाले भन्थे, “दैलेखमा जन्मिएपछि केटीहरूले पढ्छु भन्नु व्यर्थका कुरा हुन्, समयमै चुलो चौको गरेर घरव्यवहार हेर्नुपर्छ”
अवस्था पनि उस्तै थियो पाँच वर्ष अघिसम्म ८ कक्षा पास गर्ने किशोरीहरू मुस्किलले भेटिन्थे । किशोरीहरूलाई शिक्षा दिक्षा र आयआर्जनमा जोड्ने न कसैको सोच थियो न योजना नै ।
तर अहिले भने दुल्लूले मुहार फेरेको छ । मेहन्दीले रङ्गिने किशोरीहरूका हातमा अहिले किताब भेटिन्छन्, चुलो चौको गर्नुपर्ने भनिएकाहरू अहिले विद्यालय जान्छन् । हिजो बालविवाहमा भोज खान जानेहरू अहिले त्यसलाई पाप सम्झन्छन् । दुल्लूमा चेतना अंकुराएको केही वर्ष भयो । यहाँका किशोरीहरूले पनि अहिले उडानको सपना देख्न थालेका छन् । शिक्षाको उडान, स्वतन्त्रताको उडान अनि स्वावलम्बी बन्ने उडान भर्दैछन् यहाँका किशोरीहरूले ।
दुल्लू नगरपालिकामा चेतनाको बीउलाई मलजल गर्ने काम गर्यो आवाज संस्थाले र गोडमेल गर्ने काम गर्यो दुल्लू नगरपालिका र यहाँका प्रतिनिधिहरूले । अनि चेतनाको बिरुवा भएर उम्रिए धुलेश्वर बुहारी समूहका महिलाहरू ।
धुलेश्वर बुहारी समूहका सदस्यहरूले उमेर नपुग्दै विवाह गर्नु पर्यो । तर उनीहरूको अहिले एउटै उद्देश्य छ, “हाम्रो जस्तो नियती अबका बालबालिकाले भोग्नु नपरोस्”
केही दिन अगाडि भाइरल भएको एउटा तस्वीरमा लेखिएको छ, “मलाइ दुलाह होइन किताब देऊ – बुहारी समुह” भर्खर लेख्न सिक्दै गरेको जस्तो अक्षरले लेखिएका यी चेतनाका नाराहरू धुलेश्वरको बुहारी समूहले गुञ्जायमान गर्ने काम गरिरहेको छ ।
बालविवाह रोक्नुपर्छ, बालिकालाई पनि शिक्षाको अवसर दिनुपर्छ अनि उनीहरूलाई घरभित्रै सीमित गर्नुहुन्न भन्ने बुहारी समूहको यो अभियानलाई आवाज संस्थाले साथ दिँदै आइरहेको छ भने दुल्लू नगरपालिकाले पनि यो अभियानमा हातेमालो गर्दै आएको छ ।
हिजोआज दुल्लूमा बालविवाहका घटना बिरलै भेटिन्छन् । कहिँ कतै बालविवाह हुँदै छ भन्ने थाहा पाउन साथ धुलेश्वर बुहारी समूहका सदस्यहरू त्यहाँ पुगेर विवाह रोकिहाल्छन् अनि बालबालिकाका अभिभावकलाई सम्झाउँछन् “महिनावारी अगाडि विवाह दान दिनु पुण्य होइन पाप हो । पुण्य गर्नका लागि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुहोस्”
हिंसा प्रभावित १५ जना महिलाहरू मिलेर स्थापना भएको समूह हो, धुलेश्वर बुहारी समुह । महिला भएकै कारण परिवार अनि समाजबाट उनीहरूले विभिन्न हिंसा र यातना सहनु पर्यो । महिला हिंसा विरुद्ध अब जुट्नु पर्छ भनेर उनीहरु सङ्गठित हुन थाले । यो समुहलाई सशक्तीकरण गर्यो आवाज संस्थाले ।
“जुन दुःख र सङ्घर्षमा हामीले कष्ट पायौँ, अबका सन्ततीले यो भोग्नु नपरोस् भनेर नै हामीले अभियान चलाएका हौं । महिलामाथि हुने सबै प्रकारका हिंसाहरुको अन्त्य हुनुपर्छ र उनीहरूले पनि समान अधिकार र अवसर पाउनु पर्छ । यसका लागि हामी निरन्तर लडिरहनेछौं ।” धुलेश्वर बुहारी समुहको अध्यक्ष सरला खत्री भन्छिन्, “परिवर्तनको सुरुवात परिवार र आफ्नै समाजबाट हुनुपर्छ भनेर हामीले चेतनामूलक कामहरू आफ्नै ठाउँमा गर्दै आइरहेका छौं”
भित्तामा कोरिएका नाराहरूका बारेमा प्रष्ट्याउँदै उनी भन्छिन्, “ हामीले त्यति धेरै पढेका छैनौँ तर हाम्रो भावनालाई हामीले अक्षरका माध्यमबाट व्यक्त गरेका हौं । कुनैपनि बालिकाले विद्यालय जानबाट वञ्चित हुनु नपरोस् र उनीहरूको भविष्य निर्माणमा अभिभावक, समाज र सरकार जिम्मेवार होस् भनेर हाम्रा गाउँठाउँका भित्ताहरूमा हामीले यस्ता नाराहरू कोरिरहेका छौं ”
दुल्लूमा अहिले बाल विवाह रोक्नका लागि बुहारी समुह मात्र होइन भाइ समूह, धार्मिक समूह, बाल क्लब, युवा क्लब पनि उत्तिकै लागिपरेका छन् ।
आवाज संस्थाले सञ्चालन गरेको संकल्प परियोजनाका संयोजक चेतन गिरी भन्छन्, “५ वर्ष अगाडि र अहिलेको दुल्लूको अवस्थामा पुरै परिवर्तन आएको छ । यहाँका महिला र किशोरीमा आएको चेतनाको विकासले गर्दा अहिले दुल्लू नगरपालिकाका ३ वटा वडा बालविवाह मुक्त भएको छ भने अर्को तीनवटा वडा छिट्टै नै यसको प्रक्रियामा छ,”
उनी थप्छन्, “दुल्लूका किशोरी र महिलाहरू अहिले विद्यालयमा मात्र होइनन् उद्यम गर्नपनि उत्तिकै अगाडि बढेका छन् ।”
दुल्लू नगरपालिकाका निवर्तमान मेयर घनश्याम भण्डारी पनि यहाँ आएको परिवर्तन देखेर उत्साहित छन् । यो अभियानमा किशोरी र महिलालाई साथ दिन पाएकोमा गर्व महसुस भएको उनी बताउँछन् । “हिजो बालविवाहलाई पुण्य सम्झनेहरू अहिले यसैलाई पाप सम्झन्छन्। महिनावारी अगाडि कन्यादान नगरी स्वर्ग देखिदैँन भन्ने अभिभावकहरूले अहिले आफ्ना बालबालिकालाई विद्यालय पठाउनु भनेको सानो परिवर्तन होइन,” उनी भन्छन्, “अब यो सामाजिक परिवर्तनलाई आर्थिक परिवर्तनसँग जोड्ने अभियान बनाइनु पर्दछ र यसलाई यहाँका सम्पूर्ण सरोकारवालाले साथ र सहयोग दिनुपर्दछ ।”
हिजो किशोरी र महिलासँगै सर्वपक्षिय पहल भएका कारण यो उपलब्धी हाँसिल हुन सकेकोमा आगामी दिनमा यहाँको आर्थिक सशक्तीकरणका लागि एकीकृत पहल हुनुपर्ने उनको धारणा छ ।
दैलेखको दुल्लू नगरपालिकाबाट जागेको यो चेतनाको दियोले केही समययता छिमेकी जिल्लामा पनि उज्यालो छर्दै छ । चाँडै नै यो दियोले समग्र कर्णालीलाई नै उज्यालोले बनाओस् अनि त्यो उज्यालो देशले देखोस् । देशले कर्णालीको यो उज्यालो देख्नु जरुरी छ किनभने विकास, समृद्दि र चेतनाका सपना देख्न मात्र होइन अब पाइला चाल्न पनि सक्षम छ कर्णाली ।
फोटोहरू: आवाज संस्थाले सञ्चालन गरेको संकल्प परियोजनाका संयोजक चेतन गिरीको सहयोगमा