पोखरामा अन्तर्राष्ट्रिय बुटक्याम्प, उत्कृष्ट खाद्य उद्यमलाई ३० लाखसम्म पूँजी
काठमाडौं। सामाजिक उद्देश्यसहित खाद्य तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्न चाहने युवा उद्यमीका लागि पोखरामा पाँचदिने आवासीय ‘इन्क्युबेसन बुटक्याम्प’ सञ्चालन हुने भएको छ। कार्यक्रममा नेपालसहित अफ्रिका, ल्याटिन अमेरिका, पूर्वी युरोप र एसियाका १० जना युवा उद्यमी छनोट गरिनेछन्।
‘द सोसल क्याटरिङ इनिसिएटिभ’ अन्तर्गत आयोजना हुने बुटक्याम्प सन् २०२६ नोभेम्बर १५ देखि १९ तारिखसम्म पोखरामा सञ्चालन हुनेछ। छनोट भएका सहभागीको नेपाल आउने र फर्किने हवाई टिकट, आवास, खाना, नेपालभित्रको स्थानीय यातायात तथा बुटक्याम्पका आवश्यक सामग्री आयोजकले बेहोर्नेछ। आवेदन दिने अन्तिम मिति सन् २०२६ अगस्ट १० तोकिएको छ।
कसले आवेदन दिन सक्छन्?
सामाजिक क्याटरिङ व्यवसाय सुरु गर्ने योजना बनाएका वा हाल सञ्चालनमा रहेको व्यवसायलाई विस्तार तथा सुदृढ बनाउन चाहने युवा उद्यमीले आवेदन दिन सक्नेछन्।
आवेदकसँग खाद्य प्रणाली, खाना उत्पादन, कृषि, क्याटरिङ, आतिथ्य सेवा वा सम्बन्धित क्षेत्रमा व्यावहारिक सीप तथा अनुभव हुनुपर्नेछ। केही नेतृत्व अनुभव, उद्यमशील सोच र सामाजिक क्याटरिङ व्यवसाय विकास गर्ने स्पष्ट योजना भएका व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
नेपालका इच्छुक युवा उद्यमीले पनि आवश्यक योग्यता पूरा गरेको अवस्थामा आवेदन दिन सक्नेछन्। कार्यक्रमको भौगोलिक प्राथमिकतामा एसियासहित अफ्रिका, ल्याटिन अमेरिका र पूर्वी युरोप समेटिएका छन्।
सामाजिक क्याटरिङ व्यवसाय भनेको के हो?
विद्यालय, अस्पताल तथा अन्य संस्थाले दैनिक रूपमा ठूलो परिमाणमा खाना खरिद गर्छन्। त्यस्तो नियमित मागलाई स्थानीय किसानसँगको स्थायी खरिद सम्झौता, सुलभ र पोषणयुक्त खाना तथा युवाका लागि रोजगारी सिर्जनासँग जोडेर सञ्चालन गरिने व्यवसायलाई सूचनामा सामाजिक क्याटरिङ व्यवसायका रूपमा प्रस्तुत गरिएको छ।
यस प्रकारको व्यवसायले स्थानीय किसानबाट खाद्य सामग्री खरिद गर्ने, संस्थालाई स्वस्थ खाना उपलब्ध गराउने, युवालाई खाद्य तथा क्याटरिङसम्बन्धी सीप सिकाउने र रोजगारी सिर्जना गर्ने उद्देश्य राख्छ।
कार्यक्रममा नेपालको सर्वगुण फुड्स एन्ड किचनलाई प्रत्यक्ष अध्ययन उदाहरणका रूपमा प्रयोग गरिनेछ। सूचनाअनुसार उक्त संस्थाले ५०० भन्दा बढी साना किसानबाट खाद्य सामग्री खरिद गरी विद्यालय तथा अस्पतालमा दैनिक नौ हजारभन्दा बढी खाना उपलब्ध गराउँदै आएको छ। संस्थाले आफ्नै एकेडेमीमार्फत युवा भान्से तथा खाद्यकर्मीलाई तालिमसमेत दिँदै आएको उल्लेख छ।
पाँच दिनमा के सिकाइन्छ?
बुटक्याम्पमा सहभागीले आफ्नो व्यवसायको अवधारणा, सञ्चालन प्रणाली, आर्थिक सम्भाव्यता र कार्ययोजना विकास गर्ने अवसर पाउनेछन्।
पहिलो दिन सहभागीको व्यक्तिगत उद्देश्य र व्यावसायिक सपना पहिचान गर्दै व्यवसायको दीर्घकालीन दृष्टिकोण निर्माण गरिनेछ। यस क्रममा सर्वगुण फुड्स एन्ड किचनको व्यावसायिक अभ्यास अध्ययन गरिनेछ।
दोस्रो दिन खाद्य नेटवर्क निर्माण, खाद्य प्रणालीको संरचना, विभिन्न पक्षको भूमिका र सरोकारवालासँग सहकार्य गर्ने योजना तयार गरिनेछ।
तेस्रो दिन बिजनेस मोडल क्यानभास, सञ्चालन योजना र व्यवसाय सञ्चालन गर्दा आउन सक्ने चुनौती समाधान गर्ने विषयमा काम गरिनेछ।
चौथो दिन व्यवसायको आर्थिक सम्भाव्यता, खर्च र आम्दानी बराबर हुने अवस्था अर्थात् ‘ब्रेक इभन’, आर्थिक जोखिम र व्यवसाय विस्तारका लागि आवश्यक लगानी व्यवस्थापनबारे सिकाइनेछ।
पाँचौँ दिन कार्ययोजना, व्यवसायसम्बन्धी प्रस्तुति, भावी तयारी तथा भेन्चर निर्माण चरणका लागि आवश्यक योजना तयार गरिनेछ।
बुटक्याम्पभर सहभागीले अन्तर्राष्ट्रिय खाद्य प्रणाली विज्ञको सहयोगमा आफ्नै व्यवसायिक अवधारणामा काम गर्नेछन्। सर्वगुण फुड्स एन्ड किचनको सञ्चालन प्रक्रिया प्रत्यक्ष अध्ययन गर्ने अवसरसमेत उपलब्ध हुने सूचनामा जनाइएको छ।
तीन उद्यमले २० हजार अमेरिकी डलरसम्म पाउने
बुटक्याम्पमा सहभागी १० जनामध्ये व्यवसाय सुरु गर्न तयार भएका उद्यमीले त्यसपछिको ‘भेन्चर बिल्डिङ’ चरणका लागि छुट्टै आवेदन दिन सक्नेछन्।
उक्त चरणका लागि १० मध्ये तीनवटा उद्यम छनोट गरिनेछन्। छनोट भएका प्रत्येक उद्यमले विशेषज्ञबाट व्यावसायिक परामर्श तथा प्रशिक्षणका साथै व्यवसाय सञ्चालन गर्न अधिकतम २० हजार अमेरिकी डलरसम्म बीउ पूँजी प्राप्त गर्न सक्नेछन्।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य तालिम उपलब्ध गराउनु मात्र नभई सहभागीलाई वास्तविक व्यवसाय सुरु गर्न सक्ने अवस्थामा पुर्याउनु हो।
छनोट प्रक्रिया कस्तो हुन्छ?
इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। प्राप्त आवेदनलाई तोकिएका योग्यता तथा मापदण्डका आधारमा परीक्षण गरिनेछ।
प्रारम्भिक छनोटमा परेका आवेदकलाई व्यक्तिगत अनलाइन अन्तर्वार्ता तथा मूल्यांकनका लागि बोलाइनेछ। यात्रा गर्नुअघि छनोट भएका प्रत्येक सहभागीका लागि तयारी तथा आवश्यकताको मूल्यांकन गर्न छुट्टै अनलाइन छलफलसमेत आयोजना गरिनेछ।
आवेदन ‘सोसल ग्यास्ट्रोनोमी मुभमेन्ट’मार्फत स्वीकार गरिनेछ। कार्यक्रम फुड नेटवर्क्स, फोरफोल्ड, भिजियो पर्माकल्चर, कुजिन सान फ्रन्टियर्स र नेपालको सर्वगुण फुड्स एन्ड किचनको सहकार्यमा सञ्चालन हुन लागेको हो।
कुन-कुन खर्च आयोजकले बेहोर्छ?
छनोट भएका सहभागीलाई आफ्नो देशबाट नेपाल आउन र फर्किन आवश्यक हवाई टिकट आयोजकले उपलब्ध गराउनेछ। बुटक्याम्प अवधिको खाना तथा आवास, नेपालभित्रको स्थानीय यातायात र प्रशिक्षण सामग्री पनि आयोजकले बेहोर्नेछ।
सहभागी सन् २०२६ नोभेम्बर १३ तारिखसम्म नेपाल आइपुग्नुपर्ने र नोभेम्बर २० मा फर्किने गरी यात्रा योजना बनाउनुपर्नेछ। नोभेम्बर १३ देखि २० सम्मको आवास तथा खाना कार्यक्रमअन्तर्गत समेटिनेछ।
सहभागी निर्धारित मितिभन्दा पहिले नेपाल आएमा, ढिलो फर्किएमा वा त्यसपछिको सोसल ग्यास्ट्रोनोमी मुभमेन्ट समिटमा सहभागी हुन बसेमा थप अवधिको खर्च आफैँले बेहोर्नुपर्नेछ।
भिसाको जिम्मेवारी सहभागीको
नेपाल आउन आवश्यक भिसा प्राप्त गर्ने जिम्मेवारी सम्बन्धित सहभागीको हुनेछ। यद्यपि, आयोजकले निमन्त्रणा पत्र र दूतावासले मागेका कार्यक्रमसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउने जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय खाद्य समिट पनि हुँदै
सोसल ग्यास्ट्रोनोमी मुभमेन्टले सन् २०२६ नोभेम्बरमा नेपालमा अन्तर्राष्ट्रिय समिट तथा सिकाइ यात्रा पनि आयोजना गर्दैछ। उक्त कार्यक्रममा शेफ, किसान, शिक्षक, अनुसन्धानकर्ता, समुदायका अगुवा तथा खाद्य प्रणाली सुधारमा कार्यरत व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ।
आधिकारिक वेबसाइटअनुसार नेपाल समिट नोभेम्बर २१ देखि २७ सम्म सञ्चालन हुने र त्यसमा स्थानीय कृषि तथा खाद्य नेटवर्कको भ्रमण, सर्वगुणको सिकाइ यात्रा, खाद्य मेला, सामूहिक छलफल र खाद्य प्रणाली सुधारसम्बन्धी कार्यक्रम समावेश हुनेछन्।
आवेदन कसरी दिने?
योग्य तथा इच्छुक युवा उद्यमीले अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति सन् २०२६ अगस्ट १० हो।
आवेदन फाराम:
https://forms.gle/ufdEk5X315sDQq6q8
आवेदन गर्नुअघि आफ्नो खाद्य क्षेत्रको अनुभव, नेतृत्व अनुभव, प्रस्तावित सामाजिक क्याटरिङ व्यवसायको उद्देश्य, लक्षित ग्राहक, स्थानीय किसान तथा समुदायसँगको सम्भावित सहकार्य र व्यवसाय सञ्चालन योजना स्पष्ट रूपमा तयार गर्न सुझाव दिइएको छ।
स्रोत: द सोसल क्याटरिङ इनिसिएटिभ तथा सोसल ग्यास्ट्रोनोमी मुभमेन्ट
हेर्नुहोस् सूचना

