उद्यम गर्न चाहानेलाई काठमाडौं महानगरको ३.२% ब्याजदरको ऋण
काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका युवाहरूलाई स्वरोजगार बनाउने र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ सँग महत्वपूर्ण साझेदारी गरेको छ। महानगरपालिका र कोषबीच भएको यो सम्झौताले पूँजीको अभावमा खुम्चिएर बसेका क्षमतावान् युवाहरूका लागि सहुलियतपूर्ण ऋणको बाटो खोलेको हो। विशेषगरी सीप भएर पनि लगानी जुटाउन नसकेका र चर्को व्याजदरका कारण व्यवसाय सुरु गर्न डराएका उद्यमीहरूलाई लक्षित गर्दै दुवै निकायले संयुक्त रूपमा ४ करोड रुपैयाँको कोष स्थापना गरेका छन्।
यस कार्यक्रमको सबैभन्दा सबल पक्ष ऋणीले पाउने भारी व्याज अनुदान हो। सुरुमा ८ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिए पनि तोकिएको समयमै सावाँ र व्याज भुक्तानी गर्ने असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान दिइने व्यवस्था गरिएको छ। यसरी सरकारले दिने अनुदानपछि ऋणीले वास्तविक रूपमा मात्र ३.२ प्रतिशत व्याज तिर्नुपर्ने हुन्छ, जुन बजारको तुलनामा निकै सस्तो र सुलभ हो। यो ऋण व्यक्तिगत रूपमा ५ लाख रुपैयाँसम्म र समूहमा काम गर्न चाहनेहरूका लागि अधिकतम ५० लाख रुपैयाँसम्म उपलब्ध गराइनेछ।
यो कर्जा सुविधा विशेषगरी आर्थिक रूपमा विपन्न, महिला, दलित, आदिवासी जनजाति र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूका लागि केन्द्रित गरिएको छ। सूचना प्रविधि, फोहोर प्रशोधन, कृषि, हस्तकलादेखि लिएर प्लम्बिङ र इलेक्ट्रोनिक्स जस्ता विविध क्षेत्रमा व्यवसाय गर्न चाहनेहरूले बैंक तथा सहकारीमार्फत यो रकम प्राप्त गर्न सक्नेछन्। महानगरको ‘एक वडा एक नमूना’ कार्यक्रम र विभिन्न सीपमूलक तालिम लिएका व्यक्तिहरूलाई उद्यमशीलतासँग जोड्न यसले पुलको काम गर्ने विश्वास लिइएको छ।
