
शहरको कोलाहलमा बजिरहेको मुरली
५० वर्ष देखी सडक र चोकका गल्ली गल्लीमा मुरली बाँसुरी बेच्दै, जीविका चलाउँदै
लगनखेल बसपार्कमा गाडिहरुको कर्कश आवाज अनि सार्वजनिक यातायातकर्मीले यात्रुलाई बोलाएको एकोहोरो तानाको बिचमा एउटा कुनामा मुरलीको धुन बज्छ, “रेशम फिरीरी‘।” मध्य दिनमा मुरलीको धुनले बसपार्कको कोलाहलको माझ हिँडिरहेका मान्छेहरु एक पटक अडिएर हेर्छन्, केही जम्मा हुन थाल्छन् ।
भीडको बीचमा आधा सेतो कपाल फुलेको, सेतो कमिज सुरुवाल अनि खुट्टामा कालो चप्पल, कालो वर्णको अनुहारमा झ्याप्प दाह्री जुँगा पालेका अधबैंसे मानिस मुरली फुकिरहेका छन् । झण्डै ५० वर्ष देखी सडक र चोकका गल्ली गल्लीमा मुरली बाँसुरी बेच्दै, जीविका चलाउँदै छन् ५७ वर्षीय मोहमद मनिल ।

शहरमा उनी नयाँ पात्र होइनन्, तर दिन दिनै बिरानो हुदैं गएका छन् । डिजिटल युगको यो घडिमा मानिसहरूको ध्यान मोबाइल र सामाजिक सञ्जालमा साँघुरिदै गएको छ । धेरैले मुरली र बाँसुरी छोडे तर मोहमदले मुरली र बाँसुरीलाई अझै छोडका छैनन् । शहर बजारका भिडमा मुरली बजाई राख्छन्, केहीले केही बेर सुन्छन्, कतिले मोबाइलमा कैद गर्छन् अनि थोरैले किन्छन् पनि । बस् यसैगरी उनको दिन बित्छ, जीविका चल्छ ।
मुरलीको धुन जस्तै विरहले भरिएको छ उनको जिन्दगी । हास्न भने अझै छोडेका छैनन् । औपचारिक कक्षाहरु लिने अवसर कहिल्यै पाएनन् तर जसो तसो अनेक धुनहरू मुरली र बाँसुरीबाट निकाल्छन् र हास्दैं भन्छन्, “गर्वमै सिकेको हजुर, यो त हाम्रो पुस्तौनी पेशा हो नि” ।
मोहमदका बुबा पहिले काठमाडौंको गल्लीगल्लीमा मुरली, बाँसुरी बेच्दै हिँड्ने गर्दथे । उनलाई सिराहाबाट कहिले र कसरी काठमाडौं आए भन्ने पनि राम्रोसँग थाहा छैन । तीन वर्षको हुँदा उनको आमाको निधन भयो । घरमा उनलाई स्याहार सुसार गर्ने कोही नहुँदा २०२२ सालतिर बुबाले ताते गराउँदै काठमाडौं ल्याएको उनी बताउँछन् ।
उनी मात्र होइन, उनीसँगै उनका ४ दाजुभाइलाई बुबाले काठमाडौंमै लिएर आए । त्यतिबेला अहिले जस्तो महँगी थिएन काठमाडौंमा । “पाँच सुका बोतलको दूध पाइन्थ्यो, हामी सबै दाजुभाइलाई त्यही दिएर बुबा आफ्नो काममा जान्थे,” उनी सम्झन्छन् ।
बुबाको त्यही बाँसुरी बिक्रीबाट भएको आम्दानीले काठमाडौंमा उनको परिवार धानेको थियो । यो करिव ६० वर्ष अगाडिको कुरो हो, जुनबेला काठमाडौँमा बाजा बजाउने कलाकार पनि सीमित थिए । बाँसुरी पनि भारतबाट ल्याउनु पर्ने अवस्था थियो । गाना तयार गर्न पनि भारत नै जानु पर्ने समय थियो । कसैले बाँसुरी बजायो भने स्रोता पनि धेरै अनि सम्मान पनि हुने समय थियो ।
यो पनि पढ्नुहोस् – जसको साथले हजारौं महिलाहरू हण्डरसँग जुधेर आत्मनिर्भर बने (भिडियो कथा)
तर २०३१ मा एउटा धुन एकाएक बन्द भयो । बुबाको मृत्यु भयो । मोहमदको उमेर ९ वर्षको मात्र थियो त्यसबेला । उनका अरु दाजुभाइहरू पनि परिपक्क भइसकेका थिएनन् । जेठो दाजु पनि त्यत्ति बेला जम्मा ११ वर्षको मात्र थिए ।
काठमाडौं जस्तो ठाउँ, न बुबाको सहारा, न त आमाको ममता । “बेसहारा टुहुरा हामी पाँच दाजुभाइ असनस्थित एउटा घरको चिसो छिँडीमा भोकभोकै रुँदै बसेका थियौँ,” भन्दै गर्दा गहभरि आँसु पारे मोहमदले । “मनिसलाई जति नै पीरमर्का किन नपरोस्, पेटले भने कहिले बुझ्दैन । बाबु बितेपछि कमाइ गर्ने कोही भएनन् । कत्ती दिन त हामी भोकै सुत्यौ भने कहिले अरुले दिएको फुका चिउरा र पानी खाएर बस्यौँ । ओल्लो पल्लो कोठामा बस्नेले मासु भात खाएको मगमग बास्ना आउँथ्यो, तर हामी त्यो सुँघेर थुक निल्न बाहेक केही गर्न सक्ने थिएनौं।”
खानलाई मात्र होइन बस्नलाई पनि दिनदिनै घरबेटीले भाडाको लागि कराएर बसी टिक्न दिएनन् । त्यति बेला उनको कोठा भाडा मासिक २० रुपैयाँ थियो ।
खान बस्न समस्या पर्दै गएपछि अब कसरी पैसा कमाउने भन्ने सोच मोहमदका दाजुभाइलाई पर्यो । बाहिर काममा जान पनि सानो उमेरको भएकोले हत्तपत्त काम कसैले नदिने हुँदा चिन्ता झन् बढ्यो । “हामीले बाबुले गरेको पेशा र उनले छाडेर गएको बाँसुरी अनि मुरली बेच्ने काम गर्ने निर्णय गर्यौँ । बुबाजस्तै काँधमा बाँसुरी अनि मुरली बोकेर हामी हिँड्न सुरु गरियो ।” उनी सुनाउँछन् ।
मोहमदले बाँसुरी अनि मुरली बोकेर बिक्री गर्न थालेको पाँच दशक कटेछ । समयसँगै धेरै कुराहरू फेरियो । गानाबजाना, कलाकारिता, सामाजिक सोच अनि मूल्य मान्यता नै फेरियो । उनको जीविकोपार्जनको माध्यम चाहिँ उही रह्यो.. बाँसुरी अनि मुरली बोकेर बेच्न हिँड्ने।
“त्यति बेला एउटा बाँसुरीको पाँच सुका भन्ने अनि एक रुपैयाँमा बेच्थें। कमाइको पैसा; खाएर कोठा भाडा तिरेर, लुगा किनेर पनि अझ फिलिम हेर्न जान्थें । १ रुपैयाँमा मैले जय नेपालमा फिलिम हेरेको हुँ।” उनी खित्का छाडी हाँस्न थाल्छन् । पाँच सुकामा बिक्री हुने बाँसुरी अहिले २०० रुपैयाँमा बिक्री गर्न उनलाई कुनै समस्या पर्दैन । अझ त्यसमा विभिन्न कलात्मक बुट्टा भरेर थोरै रङ्गसँग खेल्ने हो भने त झन् एउटै बाँसुरीको २५ सयसम्ममा बिक्री हुन्छ ।
मोहमद मुरली-बाँसुरी बोकेर काठमाडौंको गल्ली मात्र होइन, पुरै नेपालमा जहाँ जात्रा, मेला, महोत्सव हुन्छ त्यहाँ पुगी हाल्छन् । पाल्पा, बुटवल, पोखरा, धनगढी, भैरहवा,बेनी, बागलुङ, बनेपा, धुलिखेल, धादिङ, धनकुटा, जनकपुर ,नेपालगञ्ज लगायतका अधिकांश जिल्लाहरु घुमिसकेका छन् उनी ।
बाँसुरी बेच्दै नेपालको कुनाकुना पुगेका मोहमदले बाँसुरी बेच्दाबेच्दै बजाउन पनि सिके । उनी नेपाली गीतमा मात्र होइन नेवारी, तामाङ, भोजपुरी, मैथिली, हिन्दी गीतहरूमा पनि बाँसुरी बजाउन सक्छन् ।
बाँसुरी बेचेर दिनमा तीन हजारसम्म कमाइ हुने गर्दछ मोहमदको । यही कमाइबाट उनको घर व्यवहार चलेको छ । उनले आफ्नो विवाह पनि यही कमाइबाट गरे । एक छोरा अनि दुई छोरीको पालन पोषण, पढाई लेखाइ मात्र होइन विवाह पनि यही बाँसुरी बेचेर कमाएको पैसाले गरेको उनी बताउँछन् ।
तस्विर: प्रतिक ढकाल/जीविको
उमेरले ६० पुग्न लागेको अनि थोरै हिँड्दा पनि हात गोडा गल्ने समस्या हुन थालेको छ मोहमदलाई अचेल । पहिले जसरी देशभर बाँसुरी बेच्दै डुल्न गाह्रो पर्छ उनलाई । हुन त उनका छोराछोरीले पनि काम गर्न पर्दैन, आराम गरेर घरमै बस्न भन्छन् उनलाई । तर उनको भने काम नगरी बस्न मन मान्दैन । “सकुन्जेल काम गर्नुपर्छ, खाली बस्नु भन्दा काम गरेकै राम्रो,” उनी भन्छन् ।
डिजिटल रेकर्डिङ्ग अनि सिंथेसाइजरको प्रयोगले संगीत सहज भएको उनको ठम्माइ छ । धन्न बाँसुरीको धुनको मिठास भने नेपालीहरुको मनमा जमेकै छ ।
मोहमदको बादन ठूलो मन्च मार्फत स्रोतासम्म पुर्याउने जमर्को कहीँ कतैबाट कहिले भएन । तर उनी हिडेरै मधेश, पहाड अनि हिमालका स्रोता र ग्राहकसम्म पुगेर आफ्नो जीविको धानिरहेका छन् । ‘पेशामा लगाव भए जीवन चलाउन गार्हो हुन्न’ भन्ने एउटा ज्वलन्त उदाहरण बनेका छन् मोहमद। “ बाँसुरी बजाउनु मेरो लागि त जिउनु हो । म कलाकार चाहिँ बन्न सकिन तर बाँसुरी बजाउने अनि बिक्रि गर्ने कला भने मसँग छ । मेरो जीवनको पहिचान नै यही हो,” उनी बताउँछन् ।
आजभोली मोबाइलले अनेक धुन निकाल्छ, मानिसहरू टिकटक र फेसबुक रिलमा आफ्नो मन लाग्दो धुन हाल्छन् । मोमहदले आफैले बजाएको मुरली र बाँसुरीको धुनमा आफ्नो जिन्दगी कटाए । यो डिजिटल क्रान्तिले मुरली र बाँसुरीको धुनलाई कहाँ पुर्याउँछ मोहमदलाई थाहा छैन । आफ्नो पेशाको भविष्य के होला भन्ने चिन्ता अवश्य छ । त्यही चिन्तालाई मुरलीमा फुकेर मोहमद विरहको धुन बजाइदिन्छन् । उता सडकमा एकोहोरो गाडीको, मान्छेको आवाज एक नाशले बजिरहेको छ ।
थप कथाहरु पढ्न यहाँ क्लिक गर्नुहोस् ।
