१२ कक्षादेखि स्नातक उत्तीर्णसम्मलाई लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं। राष्ट्रियस्तरका दुई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेका छन्। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक इकाइ प्रबन्धक पदमा ३७ जना माग गरेको छ भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृतदेखि कनिष्ठ सहायक प्रशिक्षार्थीसम्मका पदमा केही कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको छ।
यो पनि पढ्नुहोस् – साताका १० अवसर : अस्पताल र बैंकमा रोजगारीदेखि निःशुल्क एआई फेलोसिपसम्म
छिमेक लघुवित्तमा ३७ जना सहायक इकाइ प्रबन्धक माग
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक चौथो तहअन्तर्गत सहायक इकाइ प्रबन्धक पदमा ३७ जना कर्मचारी माग गरेको छ।
यस पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। ग्रामीण तथा दुर्गम क्षेत्रका शाखामा बसेर काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
उमेर सीमा
आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारले १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ।
छनोट र नियुक्ति प्रक्रिया
प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोट अर्थात् सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी गराइनेछ।
लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारलाई कम्तीमा छ महिनाको विषयगत तथा व्यावहारिक तालिममा सहभागी गराइनेछ। तालिमपछि पुनः परीक्षा लिइने र उत्तीर्ण उम्मेदवारलाई छ महिनाको परीक्षणकालमा नियुक्त गरिने संस्थाले जनाएको छ। परीक्षणकालको कार्यसम्पादन सन्तोषजनक भएमा स्थायी नियुक्ति दिइनेछ।
कसरी आवेदन दिने?
आवेदन फाराम छिमेक लघुवित्तका तोकिएका कार्यालयबाट वा संस्थाको वेबसाइटको डाउनलोड सेक्सनबाट प्राप्त गर्न सकिनेछ।
पूर्ण रूपमा भरिएको आवेदन फारामसँगै निम्न कागजात पेस गर्नुपर्नेछः
- व्यक्तिगत विवरण तथा नागरिकताको प्रतिलिपि
- पासपोर्ट साइजका तीनप्रति फोटो
- शैक्षिक योग्यता, तालिम र अनुभवका प्रमाणपत्रका प्रतिलिपि
- परीक्षा शुल्क बुझाएको भौचर
आवेदन फाराम पाँचथरको फिदिम, सुनसरीको इटहरी, बाराको जीतपुर, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, दाङको कमिरेचौर, रुकुम पूर्वको सिस्ने, सुर्खेत, कैलालीको गेटा, डोटीको गोपघाट, बाजुरा तथा काठमाडौंस्थित केन्द्रीय कार्यालयलगायत तोकिएका शाखामा बुझाउन सकिनेछ।
आवेदन शुल्क र अन्तिम मिति
परीक्षा शुल्क ३ सय रुपैयाँ तोकिएको छ। शुल्क प्रभु बैंकको नयाँ बानेश्वर शाखामा रहेको संस्थाको खातामा जम्मा गर्न वा आवेदन बुझाउने तोकिएका शाखामा नगदै बुझाउन सकिनेछ।
आवेदन दिने अन्तिम मिति २०८३ भदौ २ गते कार्यालय समयभित्र रहेको छ। उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन दिन सकिनेछ।
थप जानकारी संस्थाको वेबसाइट www.chhimekbank.org बाट लिन सकिनेछ।
उन्नति सहकार्य लघुवित्तमा चार प्रकारका पदमा आवेदन खुला
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीका विभिन्न पदमा केही कर्मचारी माग गरेको छ। संस्थाले संख्या भने निश्चित रूपमा उल्लेख गरेको छैन।
खुला गरिएका पदहरूमा:
- अधिकृत वा वरिष्ठ अधिकृत
- कनिष्ठ अधिकृत वा अधिकृत
- सहायक, वरिष्ठ सहायक वा सुपरभाइजर
- कनिष्ठ सहायक प्रशिक्षार्थी
समावेश छन्।
पदअनुसार आवश्यक योग्यता
अधिकृत वा वरिष्ठ अधिकृत: मान्यताप्राप्त संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट, सीपीए, एसीसीए वा सोसरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। स्नातक वा सोसरह उत्तीर्ण गरी सेमी सीए गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
कनिष्ठ अधिकृत वा अधिकृत: अधिकृत पदका लागि स्नातक वा सोसरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तहमुनिको पदमा कम्तीमा चार वर्ष काम गरेको हुनुपर्नेछ। कनिष्ठ अधिकृतका लागि स्नातक वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी एक तहमुनिको पदमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ।
सहायक, वरिष्ठ सहायक वा सुपरभाइजर: प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तहमुनिको पदमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ।
कनिष्ठ सहायक प्रशिक्षार्थी: मान्यताप्राप्त संस्थाबाट एसईई वा सोसरह उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।
उमेर सीमा
अधिकृत श्रेणीका पदमा आवेदन दिन २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ। अन्य पदका लागि १८ वर्ष पूरा गरी ३६ वर्ष ननाघेको हुनुपर्नेछ।
महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ। संस्थामा हाल कार्यरत कर्मचारीलाई उल्लेखित उमेर सीमा लागू नहुने सूचनामा जनाइएको छ।
आवेदन प्रक्रिया
आवेदकले निम्न कागजात अनलाइन पेस गर्नुपर्नेछः
- नेपाली नागरिकताको प्रतिलिपि
- शैक्षिक योग्यताका प्रमाणपत्र
- अनुभव तथा तालिमका प्रमाणपत्र
- संस्थामा काम गर्न चाहनुको कारण समेटिएको एक पृष्ठको हस्तलिखित निवेदन
- व्यक्तिगत विवरण अर्थात् सीभी
आवेदन उन्नति सहकार्य लघुवित्तको वेबसाइट www.unnatislbs.com.np/Careers मार्फत दिन सकिनेछ।
छनोट प्रक्रिया र म्याद
सहायक श्रेणीका उम्मेदवारको छनोट अन्तर्वार्ताबाट गरिनेछ। अधिकृत श्रेणीका उम्मेदवारले अन्तर्वार्तासँगै प्रस्तुतीकरण पनि दिनुपर्नेछ।
प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने संस्थाले जनाएको छ। अन्तर्वार्तामा सहभागी हुँदा सम्बन्धित कागजातका सक्कल प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ।
आवेदन सूचना प्रकाशित भएको मिति २०८३ साउन १२ गतेदेखि १५ दिनभित्र पेस गर्नुपर्नेछ। तलब, भत्ता तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछन्
हेर्नुहोस् सूचना

