राष्ट्रियस्तरका चार लघुवित्तमा दर्जनौं रोजगारीको अवसर
एनएमबी, उन्नति सहकार्य र नाम नखुलाइएको एक प्रतिष्ठित लघुवित्तमा विभिन्न पदमा ‘केही’ कर्मचारी माग; व्यवस्थापकीय तहदेखि एसईई उत्तीर्णसम्मलाई अवसर
काठमाडौं। राष्ट्रियस्तरका चार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएका छन्। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक इकाइ प्रबन्धक पदमा ३७ जना कर्मचारी माग गरेको छ।
एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त अर्को एक राष्ट्रियस्तरको लघुवित्त संस्थाले विभिन्न पदमा ‘केही’ कर्मचारी माग गरेका छन्।
यो पनि पढ्नुहोस् – साताका १० अवसर : अस्पताल र बैंकमा रोजगारीदेखि निःशुल्क एआई फेलोसिपसम्म
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त एक राष्ट्रियस्तरको प्रतिष्ठित लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदमा स्थायी रूपमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको छ। सूचनामा संस्थाको नाम भने उल्लेख गरिएको छैन।
संस्थाले जोखिम व्यवस्थापन, वित्त तथा आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, प्रदेश तथा शाखा व्यवस्थापन र फिल्ड सञ्चालनसम्बन्धी पदमा कर्मचारी माग गरेको हो।
जोखिम व्यवस्थापन, वित्त तथा आन्तरिक लेखापरीक्षण
विभागीय प्रमुख वा सहायक प्रमुखका लागि व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीमा केही कर्मचारी माग गरिएको छ।
व्यवस्थापकीय श्रेणीका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। चार्टर्ड अकाउन्टेन्ट्स—सीए वा एसीसीए—उत्तीर्ण अथवा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
अधिकृत श्रेणीका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्नेछ। सीए वा एसीसीए उत्तीर्ण अथवा चार्टर्ड अकाउन्टेन्ट्स कोर्सको क्याप–द्वितीय वा आईपीसीसी तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दुई वर्षको अनुभव भएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
सहायक श्रेणीका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी संगठित संस्थामा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ। क्याप–द्वितीय वा आईपीसीसी तह उत्तीर्ण सेमी क्वालिफाइड सीएले पनि आवेदन दिन सक्नेछन्।
सूचना प्रविधि विभाग
सूचना प्रविधितर्फ पनि विभागीय प्रमुख वा सहायक प्रमुखका लागि व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीमा कर्मचारी माग गरिएको छ।
व्यवस्थापकीय श्रेणीका लागि कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर साइन्स, सूचना प्रविधि वा एमआईएस विषयमा स्नातक वा सोसरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्नेछ। स्नातकोत्तर तह उत्तीर्णलाई विशेष प्राथमिकता दिइनेछ।
अधिकृत श्रेणीका लागि सम्बन्धित विषयमा स्नातक वा सोसरह उत्तीर्ण गरी कम्तीमा दुई वर्षको अनुभव आवश्यक छ। स्नातकोत्तर उत्तीर्ण उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
हार्डवेयर तथा सफ्टवेयर समस्या समाधान, नेटवर्किङ, स्विच, फायरवाल, एसएएन वा एनएएस, डाटाबेस, एसक्यूएल, पूर्वाधार व्यवस्थापन, कोर बैंकिङ प्रणाली, लिनक्स तथा विन्डोज प्रशासन, ग्राफिक्स र वेबसाइट डिजाइनसम्बन्धी अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सहायक श्रेणीका लागि कम्प्युटर साइन्स वा सूचना प्रविधि विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
प्रदेश प्रमुख तथा अनुगमन अधिकृत
अधिकृत श्रेणीअन्तर्गत प्रदेश प्रमुख र अनुगमन अधिकृत पदमा केही कर्मचारी माग गरिएको छ।
प्रदेश प्रमुखका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा पाँच वर्ष अनुगमनसम्बन्धी काम गरेको अनुभव हुनुपर्नेछ। प्रदेश प्रमुखका रूपमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
अनुगमन अधिकृतका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा शाखा प्रमुखका रूपमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ। प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त संस्थामा शाखा प्रमुखका रूपमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्। अनुगमनको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
शाखा प्रमुख
शाखा प्रमुख पदमा अधिकृत तथा सहायक श्रेणीका कर्मचारी माग गरिएको छ।
अधिकृत श्रेणीका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त संस्थामा सुपरभाइजर वा वरिष्ठ सहायक पदमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव आवश्यक छ।
सहायक श्रेणीका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्नेछ। शाखा प्रमुखका रूपमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
फिल्ड सहायक
फिल्ड सहायकअन्तर्गत सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा आवेदन खुलाइएको छ।
सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्नेछ।
कनिष्ठ सहायकका लागि एसईई वा सोसरह उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तीमा एक वर्ष काम गरेको अनुभव आवश्यक छ।
प्रशिक्षार्थी सहायकका लागि कम्तीमा एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उमेर सीमा
व्यवस्थापकीय श्रेणीका लागि २१ वर्ष पूरा गरी ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ।
आवेदन कसरी दिने?
इच्छुक उम्मेदवारले हालै खिचिएको पासपोर्ट साइजको फोटो, आवेदन दिन चाहेको पद उल्लेख गरिएको निवेदन, व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्र संलग्न गरी आवेदन दिनुपर्नेछ।
आवेदन [email protected] मा इमेल गर्न सकिनेछ। सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८३ साउन २१ गतेदेखि १५ दिनभित्र आवेदन पठाउनुपर्नेछ।
प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई टेलिफोन, एसएमएस वा इमेलमार्फत जानकारी गराइनेछ। छनोटका लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्तामध्ये कुनै एक वा सबै परीक्षा लिन सकिने सूचनामा उल्लेख छ। सवारीचालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ।
छिमेक लघुवित्तमा ३७ जना सहायक इकाइ प्रबन्धक माग
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक चौथो तहअन्तर्गत सहायक इकाइ प्रबन्धक पदमा ३७ जना कर्मचारी माग गरेको छ।
यस पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। ग्रामीण तथा दुर्गम क्षेत्रका शाखामा बसेर काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
उमेर सीमा
आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारले १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ।
छनोट तथा नियुक्ति प्रक्रिया
प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी गराइनेछ।
लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारलाई कम्तीमा छ महिनाको विषयगत तथा व्यावहारिक तालिममा सहभागी गराइनेछ। तालिमपछि पुनः परीक्षा लिइने र उत्तीर्ण उम्मेदवारलाई छ महिनाको परीक्षणकालमा नियुक्त गरिनेछ। परीक्षणकालको कार्यसम्पादन सन्तोषजनक भएमा स्थायी नियुक्ति दिइने संस्थाले जनाएको छ।
आवेदन दिने प्रक्रिया
आवेदन फाराम छिमेक लघुवित्तका तोकिएका कार्यालय वा संस्थाको वेबसाइटको डाउनलोड सेक्सनबाट प्राप्त गर्न सकिनेछ।
पूर्ण रूपमा भरिएको आवेदनसँग व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजका तीनप्रति फोटो, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्र र परीक्षा शुल्क बुझाएको भौचर संलग्न गर्नुपर्नेछ।
आवेदन पाँचथरको फिदिम, सुनसरीको इटहरी, बाराको जीतपुर, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, दाङको कमिरेचौर, रुकुम पूर्वको सिस्ने, सुर्खेत, कैलालीको गेटा, डोटीको गोपघाट, बाजुरा तथा काठमाडौंस्थित केन्द्रीय कार्यालयलगायत तोकिएका स्थानमा बुझाउन सकिनेछ।
परीक्षा शुल्क तीन सय रुपैयाँ तोकिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ भदौ २ गते कार्यालय समयभित्र रहेको छ। थप जानकारी www.chhimekbank.org बाट लिन सकिनेछ।
एनएमबी लघुवित्तमा चार क्षेत्रका पदमा कर्मचारी माग
एनएमबी बैंकको सहायक कम्पनी एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काम गर्ने गरी विभिन्न पदमा कर्मचारी माग गरेको छ।
संस्थाले आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, शाखा प्रमुख र फिल्ड सहायक जिम्मेवारीअन्तर्गत स्थायी सेवाका लागि केही कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको हो। प्रत्येक पदमा आवश्यक कर्मचारी संख्या भने खुलाइएको छैन।
आन्तरिक लेखापरीक्षण
अधिकृत वा सहायक श्रेणीअन्तर्गत कनिष्ठ अधिकृत, सुपरभाइजर वा वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ।
यसका लागि सीए, सेमी सीए वा व्यवस्थापन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।
सूचना प्रविधि
अधिकृत वा सहायक श्रेणीअन्तर्गत कनिष्ठ अधिकृत वा सुपरभाइजर पदमा कर्मचारी माग गरिएको छ।
उम्मेदवारले सूचना प्रविधि विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा चार वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।
शाखा प्रमुख
सुपरभाइजर, वरिष्ठ सहायक वा सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारसँग शाखा प्रमुखको जिम्मेवारीमा कम्तीमा एक वर्ष वा फिल्ड सहायकको जिम्मेवारीमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव आवश्यक छ।
फिल्ड सहायक
सहायक वा कनिष्ठ सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण गरी फिल्ड सहायकको जिम्मेवारीमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारलाई अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ।
उम्मेदवारको छनोट अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षणबाट गरिनेछ। संस्थाले प्रारम्भिक छनोटमा परेका उम्मेदवारको सूची २०८३ भदौ २ गते प्रकाशित गर्ने र अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण भदौ ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ।
आवेदन www.nmbmicrofinance.com मार्फत अनलाइन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ साउन २७ गते कार्यालय समयसम्म रहेको छ।
उन्नति सहकार्य लघुवित्तमा चार प्रकारका पदमा आवेदन खुला
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीका विभिन्न पदमा केही कर्मचारी माग गरेको छ। संस्थाले आवश्यक कर्मचारी संख्या निश्चित रूपमा उल्लेख गरेको छैन।
खुला गरिएका पदमा अधिकृत वा वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत वा अधिकृत, सहायक वा वरिष्ठ सहायक वा सुपरभाइजर र कनिष्ठ सहायक प्रशिक्षार्थी समावेश छन्।
पदअनुसार योग्यता
अधिकृत वा वरिष्ठ अधिकृत: चार्टर्ड अकाउन्टेन्ट, सीपीए, एसीसीए वा सोसरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। स्नातक वा सोसरह उत्तीर्ण गरी सेमी सीए गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
कनिष्ठ अधिकृत वा अधिकृत: अधिकृत पदका लागि स्नातक वा सोसरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तहमुनिको पदमा कम्तीमा चार वर्ष काम गरेको हुनुपर्नेछ। कनिष्ठ अधिकृतका लागि स्नातक वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी एक तहमुनिको पदमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ।
सहायक, वरिष्ठ सहायक वा सुपरभाइजर: प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तहमुनिको पदमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ।
कनिष्ठ सहायक प्रशिक्षार्थी: एसईई वा सोसरह उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी ज्ञान भएको हुनुपर्नेछ।
अधिकृत श्रेणीका पदमा आवेदन दिन २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको र अन्य पदका लागि १८ वर्ष पूरा गरी ३६ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमामा पाँच वर्ष थप हुनेछ।
आवेदकले नागरिकता, शैक्षिक योग्यता, अनुभव तथा तालिमका प्रमाणपत्र, संस्थामा काम गर्न चाहनुको कारण समेटिएको एक पृष्ठको हस्तलिखित निवेदन र व्यक्तिगत विवरण अनलाइन पेस गर्नुपर्नेछ।
आवेदन www.unnatislbs.com.np/Careers मार्फत दिन सकिनेछ। सूचना प्रकाशित भएको मिति २०८३ साउन १२ गतेदेखि १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने संस्थाले जनाएको छ।
हेर्नुहोस् सूचना



