उद्यम गर्न चाहनेलाई सरकारको सहुलियत कर्जा: २५ लाखदेखि ५ करोडसम्म, कसले र कसरी पाउने?
महिला उद्यमीलाई २५ लाख, विदेशबाट फर्किएका र शिक्षित युवालाई २० लाखसम्म कर्जा; सरकारले ३ प्रतिशत ब्याज अनुदान दिने, बैंकले १५ कार्यदिनभित्र निर्णय गर्नुपर्ने
काठमाडौं। आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाउनुभएको छ तर लगानीको अभाव छ? अथवा सञ्चालन गरिरहेको व्यवसाय विस्तार गर्न चाहनुहुन्छ तर आवश्यक पुँजी जुटाउन सक्नुभएको छैन? तपाईंका लागि सरकारले विभिन्न शीर्षकमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ।
महिला उद्यमी, कृषि व्यवसायी, वैदेशिक रोजगारीबाट फर्किएका युवा, शिक्षित युवा, दलित समुदायका उद्यमी तथा स्टार्टअप व्यवसाय सञ्चालन गर्नेहरूले तोकिएका मापदण्ड पूरा गरी यस्तो कर्जाका लागि आवेदन दिन सक्छन्।
सरकारले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ तथा २०८३ मा भएका संशोधनअनुसार विभिन्न उद्यम तथा व्यवसायका लागि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ।
यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजमा सरकारले ३ प्रतिशत बिन्दु अनुदान उपलब्ध गराउँछ। कर्जाको प्रकारअनुसार ऋणको सीमा, योग्यता र आवश्यक कागजात फरक हुन सक्छन्।
१. महिला उद्यमशीलता कर्जा: २५ लाख रुपैयाँसम्म
आफ्नै व्यवसाय सुरु गर्न वा सञ्चालन गरिरहेको व्यवसाय विस्तार गर्न चाहने महिलाहरूले २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिन सक्छन्।
यो कर्जा महिलाले व्यक्तिगत वा सामूहिक रूपमा सञ्चालन गर्ने उद्यम तथा व्यवसायका लागि उपलब्ध गराउन सकिने व्यवस्था छ।
यसअन्तर्गत सिलाइकटाइ, हस्तकला, कृषि प्रशोधन, खाद्य उत्पादन, घरेलु उद्योग, उत्पादनमूलक उद्यम तथा अन्य तोकिएका व्यवसाय सञ्चालन गर्न सकिन्छ।
कसले पाउने?
महिला उद्यमशीलता कर्जाका लागि व्यवसायको स्वामित्व शतप्रतिशत महिलाको हुनुपर्ने व्यवस्था छ। व्यवसाय कानुनबमोजिम दर्ता भएको, स्थायी लेखा नम्बर (प्यान) लिएको र आवश्यक व्यावसायिक प्रस्ताव तयार गरेको हुनुपर्छ।
यो कर्जाका लागि घरजग्गा धितो अनिवार्य रूपमा राख्नैपर्छ भन्ने व्यवस्था कार्यविधिमा छैन। तर व्यवसाय वा परियोजना धितो तथा व्यक्तिगत वा सामूहिक जमानीको व्यवस्था छ। बैंकले कर्जा स्वीकृत गर्नुअघि व्यवसायको सम्भाव्यता र ऋण तिर्न सक्ने क्षमता मूल्याङ्कन गर्छ।
२. कृषि तथा पशुपन्छी कर्जा: ५ करोड रुपैयाँसम्म
व्यावसायिक रूपमा खेतीपाती, पशुपालन, मत्स्यपालन तथा कृषि उत्पादन र प्रशोधनसम्बन्धी उद्यम सञ्चालन गर्न चाहनेका लागि सरकारले ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ।
व्यावसायिक तरकारी खेती, फलफूल खेती, गाईभैंसीपालन, बाख्रापालन, कुखुरापालन, माछापालन, कृषि प्रशोधनलगायत कार्यविधिले तोकेका व्यवसाय यसमा समेटिन सक्छन्।
यसका लागि किसान, कृषि उद्यमी, कृषि फर्म, कम्पनी तथा योग्य समूह वा संस्थाले आवेदन दिन सक्छन्।
कति कर्जा स्वीकृत गर्ने भन्ने निर्णय व्यवसायको प्रकृति, प्रस्तावित लगानी, आम्दानीको सम्भावना, कर्जा सुरक्षण तथा बैंकको मूल्याङ्कनमा निर्भर हुन्छ।
५ करोड रुपैयाँ कर्जाको अधिकतम सीमा हो। सबै आवेदकले त्यति नै रकम पाउने भन्ने होइन।
३. वैदेशिक रोजगारीबाट फर्किएका युवालाई २० लाखसम्म
विदेशमा काम गरेर फर्किएका युवाले विदेशमा सिकेको सीप, अनुभव र व्यावसायिक दक्षता नेपालमै उपयोग गरी उद्यम सञ्चालन गर्न २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिन सक्छन्।
यसका लागि श्रम स्वीकृति प्राप्त गरी विदेशमा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ।
विदेशमा होटल, रेस्टुरेन्ट, कृषि, उत्पादन, मर्मतसम्भार, सेवा वा अन्य क्षेत्रमा काम गरेर सिकेको सीप प्रयोग गरी नेपालमा व्यवसाय सञ्चालन गर्न चाहने युवाका लागि यो कर्जा उपयोगी हुन सक्छ।
कसले पाउँदैन?
कुनै पनि देशको स्थायी बसोबास अनुमति प्राप्त गरेका व्यक्तिलाई यो शीर्षकमा कर्जा उपलब्ध गराइँदैन।
आवेदन गर्दा विदेशमा काम गरेको अनुभव, श्रम स्वीकृति र व्यवसायसँग सम्बन्धित आवश्यक प्रमाणहरू बैंकले माग्न सक्छ।
४. शिक्षित युवा परियोजना कर्जा: २० लाखसम्म
कम्तीमा स्नातक तह उत्तीर्ण गरेका युवाहरूले आफ्नो शिक्षा, ज्ञान, सीप, रुचि र अनुभवसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिन सक्छन्।
यो कर्जा विशेषगरी शिक्षा हासिल गरे पनि रोजगारी नपाएका वा आफैं उद्यम सञ्चालन गर्न चाहने युवालाई लक्षित गरी व्यवस्था गरिएको हो।
उदाहरणका लागि, सूचना प्रविधि, कृषि प्रविधि, सेवा, उत्पादन वा अन्य योग्य व्यावसायिक परियोजना सञ्चालन गर्न यस्तो कर्जा उपयोग गर्न सकिन्छ।
यसको मुख्य आधार शैक्षिक योग्यता, व्यवसायको प्रकृति, परियोजनाको सम्भाव्यता र आवश्यक कागजात हुन्।
नयाँ कार्यविधिमा यसलाई ‘शिक्षित युवा परियोजना कर्जा’ भनिएको छ। त्यसैले शैक्षिक प्रमाणपत्र मात्रै धितो राखेपछि स्वत

One thought on “उद्यम गर्न चाहनेलाई सरकारको सहुलियत कर्जा: २५ लाखदेखि ५ करोडसम्म, कसले र कसरी पाउने?”