कम्पनी दर्तापछि अब प्यान नम्बर अनलाईनबाटै, राजस्व कार्यालय धाउन नपर्ने

जीविको २०८३ असार १७ गते ८:१३

काठमाडौं। कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर र त्यसको प्रमाणपत्रका लागि छुट्टै आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने छैन।

कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणाली र आन्तरिक राजस्व विभागको विद्युतीय प्रणालीबीच अन्तरआबद्धता गरिएपछि कम्पनी दर्तापछि सोही प्रणालीबाट प्यान नम्बर र प्यान प्रमाणपत्र प्राप्त गर्न सकिने भएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने सम्बन्धी समझदारीपत्रमा २०८३ वैशाख ३१ गते हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार विकास गरिएको प्रणाली २०८३ असार १५ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणालीमा लाइभ गरिएको कार्यालयले जनाएको छ।

यससँगै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर अर्थात् PAN र त्यसको प्रमाणपत्र सेवाग्राहीले CAMIS प्रणालीमार्फत सिधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।

यसअघि कम्पनी दर्तापछि प्यान नम्बर तथा प्रमाणपत्रका लागि आन्तरिक राजस्व कार्यालयमा थप प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थाले कम्पनी दर्ता तथा करसम्बन्धी प्रारम्भिक प्रक्रियालाई थप छिटो, सरल र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

उद्यमी र सेवाग्राहीलाई के फाइदा?

यो प्रणाली लागू भएपछि नयाँ कम्पनी दर्ता गर्ने व्यक्ति, उद्यमी तथा व्यवसायीलाई समय र खर्च दुवै बचत हुने देखिन्छ। कम्पनी दर्तापछि प्यान नम्बर प्राप्त गर्ने प्रक्रिया एउटै प्रणालीबाट पूरा हुने भएकाले सेवाग्राहीलाई कागजी प्रक्रिया र कार्यालय धाउने झन्झट कम हुनेछ।

विशेषगरी नयाँ उद्यम सुरु गर्न चाहने युवा, स्टार्टअप, साना तथा मझौला व्यवसायी र औपचारिक रूपमा व्यवसाय दर्ता गर्न चाहने व्यक्तिहरूका लागि यो व्यवस्था उपयोगी हुनेछ।

कम्पनी रजिष्ट्रारको कार्यालयले यसबारे आम सेवाग्राही तथा सरोकारवालालाई जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित