उद्यमी बन्न चाहनेका लागि सरकारको सहुलियत कर्जा: कसरी लिने?
तपाईं आफ्नो उद्यमलाई बढाउन तर लगानी जुटाउन सकिरहनुभएको छैन ? तपाईंहरु जस्तै उद्यमीहरुको लागि सरकारले विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ । यहाँ हामी दर्ता भइसकेका व्यवसाय वा नयाँ सोच बोकेका उद्यमीहरूका लागि सरकार र बैंकहरूले दिने विभिन्न सहुलियत कर्जाका बारेमा विस्तृत जानकारी दिनेछौँ।
१. २५ लाखसम्मको स्टार्टअप कर्जा
नवीनतम ज्ञान, सोच र सीप भएका युवा उद्यमीका लागि सरकारले ३ वर्ष देखि ‘स्टार्टअप कर्जा’ दिँदै आएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत कार्यान्वयन हुने यो योजनामा वार्षिक मात्र ३ प्रतिशत ब्याजदरमा २० लाख रुपैयाँसम्म ऋण पाइन्छ। यसका लागि सूचना प्रविधि, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका १८ वटा तोकिएका क्षेत्रमा तपाईंको व्यवसाय हुनुपर्छ। विशेषगरि उद्यम सुरुवात गरेको ७ वर्ष ननाघेका स्टार्टअप उद्यमहरु यो कर्जमा आवेदन दिनका लागि योग्य हुन्छन् । यो कर्जा वार्षिक रुपमा प्रतिष्ठानले खुलाउँछ, प्रतिष्ठानले कर्जाका लागि आवेदन मागेको समयमा तपाईंले अनलाइन मार्फत आवेदन देिनुपर्ने हुन्छ आवेदनपश्चात् प्रतिष्ठानले योग्य उद्यमी छनोट गर्दछ यसरी छनोटमा परेका उद्यमीले तोकिएको बैङ्कमार्फत् कर्जा पाउनेछन् । यो कर्जा प्रत्येक वर्ष बैशाख देखि साउसम्मको समयबीच प्रतिष्ठानले खुलाउने गर्छ ।
२. विना धितो १५ लाखसम्मको महिला उद्यमशीलता कर्जा
महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन यो कर्जा निकै लोकप्रिय छ। यसमा १५ लाख रुपैयाँसम्म ऋण पाइन्छ र सबैभन्दा ठूलो विशेषता भनेको यसका लागि घरजग्गा धितो राख्नु पर्दैन; तपाईंको परियोजना वा व्यवसायलाई नै धितो मानिन्छ। यसमा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिने भएकाले महिला उद्यमीले निकै सस्तो ब्याजदरमा पुँजी परिचालन गर्न पाउँछन्। आवेदकमध्ये कतिपयले यो कर्जा पाएर आफ्नो व्यसवाय सञ्चालन गरिरहेका छन् भने धेरैले भने यो कर्जा माग गर्न बैङ्क जाँदा वास्ता नगरेको भनेर पनि गुनासो गर्ने गरेका छन् । यो कर्जामा आवेदन दिनका लागि तपाईंले राष्ट्रबैङ्कले तोकेका बैङ्कहरुमा आफ्नो व्यवसायिक प्रस्तवना सहित निवेदन दिनलाई जानुपर्छ
३. कृषि तथा पशुपन्छी कर्जा
यो कर्जा कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा खेतीपाती, पशुपालन वा मत्स्यपालन गर्न चाहने उद्यमीले ५ करोड रुपैयाँसम्मको ऋण लिन सक्छन्। १० लाख रुपैयाँसम्मको ऋणका लागि सामूहिक जमानी भए पुग्छ भने सोभन्दा बढीका लागि धितो आवश्यक पर्छ। यसमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ। चिया, कफी, अलैंची जस्ता नगदे बालीदेखि गाईभैंसी पालनसम्मका लागि यो ऋण उपलब्ध छ। यो कर्जामा आवेदन दिनका लागि पनि सरकारले छुट्याएका बैङ्कहरुमा जानुपर्छ।
४. वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा
विदेशमा कम्तीमा ६ महिना काम गरेर फर्किएको ३ वर्ष नकटेका युवाहरूले १० लाख रुपैयाँसम्मको सहुलियत कर्जा पाउन सक्छन्। विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गरी उद्यम सुरु गर्न यो कर्जा ल्याइएको हो। यसका लागि पासपोर्ट र भिसाको प्रतिलिपि अनिवार्य चाहिन्छ। यसमा पनि ऋणीले ५ प्रतिशत ब्याज अनुदान पाउने व्यवस्था छ।
५. शैक्षिक प्रमाणपत्र धितोमा शिक्षित युवा स्वरोजगार कर्जा
कम्तीमा स्नातक तह उत्तीर्ण गरेका र ४० वर्ष उमेर ननाघेका युवाहरूले आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। यसका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा ७ दिनको तालिम लिएको प्रमाणपत्र र ठोस व्यावसायिक योजना आवश्यक पर्दछ। यो कर्जाले शिक्षित युवालाई जागिरको पछि लाग्नुभन्दा आफैं स्वरोजगार बन्न प्रेरित गर्दछ।
६. दलित समुदाय व्यवसाय विकास कर्जा
दलित समुदायका व्यक्ति वा समूहले आफ्नो परम्परागत सीपलाई आधुनिकीकरण गर्न वा नयाँ व्यवसाय सुरु गर्न १० लाख रुपैयाँसम्म ऋण पाउन सक्छन्। ५ प्रतिशत ब्याज अनुदान पाइने यो कर्जा १८ वर्ष उमेर पुगेका दलित समुदायका जो कोहीले व्यक्तिगत वा समूहगत रूपमा आवेदन दिन सक्छन्।
७. प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा
आर्थिक रूपमा विपन्न, सीमान्तकृत वा अपाङ्गता भएका विद्यार्थीहरूलाई उच्च वा प्राविधिक शिक्षा अध्ययनका लागि ५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था छ। माध्यमिक शिक्षा उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेका विद्यार्थीले स्वदेशमै प्राविधिक विषय पढ्न यो ऋण लिन सक्छन्। यसले पैसाको अभावमा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्य राखेको छ।
८. सीपमूलक तालिमका लागि विशेष कर्जा
कुक, बरिसता, सिलाई-बुनाई वा अन्य प्राविधिक तालिम लिएर आत्मनिर्भर बन्न चाहनेका लागि २ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध छ। सिटीईभीटी वा सरकारी मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको शुल्क तिर्न यो ऋण उपयोग गर्न सकिन्छ, जसले दक्ष जनशक्ति उत्पादनमा मद्दत पुर्याउँछ।
कर्जाका लागि कस्ता कागजातहरू तयार पार्ने?
सहुलियत कर्जाका लागि आवेदन दिँदा तपाईंले पेश गर्ने कागजातहरू “मिठो र स्पष्ट” हुनुपर्छ। मुख्य रूपमा निम्न कागजातहरू तयार राख्नुहोस्:
- विस्तृत परियोजना प्रस्ताव (Business Plan): यो सबैभन्दा महत्त्वपूर्ण कागजात हो। यसमा तपाईंको व्यवसायको परिचय, बजारको अवस्था, आम्दानी र खर्चको अनुमानित विवरण (Financial Projection) प्रष्ट हुनुपर्छ।
- दर्ताका कागजात: व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि र कर चुक्ता प्रमाणपत्र।
- व्यक्तिगत विवरण: नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र परिवारका सदस्यहरूको विवरण।
- अन्य सिफारिस: वडा कार्यालयको व्यवसाय सञ्चालन सिफारिस र तालिम लिएको भए सोको प्रमाणपत्र।
- यदी कर्जा कार्यक्रममा कुनै विशेष क्षेत्र वा समुदाय तोकिएको छ भने उक्त क्षेत्र वा समुदायबाट हो भनि खुल्ने कागजात
- कतिपय कर्जा कार्यक्रमहरुमा भने अगाडि नै कुनै एक विधामा सहलियतपूर्ण कर्जा लिएर उपभोग गरिरहेको खण्डमा कार्यक्रममा आवेदन दिन नपाउने व्यवस्था पनि छ ।
यी सबै कागजात लिएर तपाईंले ‘क’, ‘ख’ वा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्नुहुन्छ। यदि बैंकले प्रक्रियामा असहयोग गरेमा नेपाल राष्ट्र बैंकको गुनासो पोर्टलमा उजुरी गर्ने व्यवस्था पनि छ। सही तयारी र स्पष्ट योजनाका साथ अघि बढ्नुभयो भने यी कर्जाहरू तपाईंको सफलताको आधार बन्न सक्छन्।
कस्तो अवस्थामा कर्जा पाइँदैन ?
सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिँदैमा सबैले ऋण पाउँछन् भन्ने हुँदैन; यसका केही कडा शर्त र सीमाहरू छन्। मुख्य रूपमा, यदि तपाईं वा तपाईंको परिवारको कुनै सदस्य बैंकको ‘कालोसूची’ (Blacklist) मा पर्नुभएको छ भने यो कर्जा पाइँदैन।
त्यस्तै, एउटै व्यक्तिले दुईवटा फरक-फरक सहुलियत कर्जा सुविधा लिन पाउँदैनन्; अर्थात् एकपटक एउटा शीर्षकमा सहुलियत ऋण लिइसकेपछि अर्को शीर्षकमा पुनः आवेदन दिन मिल्दैन। वैदेशिक रोजगारीबाट फर्केकाहरूको हकमा यदि तपाईंसँग कुनै पनि देशको स्थायी बसोबास अनुमति (PR वा Green Card) छ भने तपाईं यो कर्जाका लागि अयोग्य ठहरिनुहुन्छ।
यसबाहेक, व्यवसाय दर्ता नभएको, कर चुक्ता प्रमाणपत्र नभएको, वा बैंकले तपाईंको परियोजना व्यावसायिक रूपमा सफल हुने ठोस आधार (Project Viability) नदेखेमा पनि ऋण अस्वीकृत हुन सक्छ। अन्त्यमा, यदि कर्जा लिएर तोकिएको व्यवसायमा लगानी नगरी अन्य व्यक्तिगत काममा खर्च गरेको पाइएमा सरकारले ब्याज अनुदान रोक्का गरी बैंकले जरिवानासहित सम्पूर्ण रकम असुल गर्ने कडा प्रावधान छ।
