बुटवल धागो कारखाना : चुँडियो रोजगारी, गाँसिएन पुर्नजीवन पाउने आशा
चालु आर्थिक वर्षको बजेट भाषणमा झण्डै दशक अगाडिबाट गुमनाम झैँ बनेको बुटवल धागो कारखानलाई पुर्नजीवन दिने कुरा संसदमा गुञ्जियो ।
त्यसबेला टेलिभिजन सेट अगाडि बसेर बजेट भाषणलाई सुनिरहेका आस्भान चौधरीलाई दिउँसै सपना देखेझैँ भयो । थोरै आशमा उनले लाखौँको खुसी भेटाएझैँ लाग्यो । उनी भन्छन्, “धागो कारखाना पुर्नजीवन भन्ने सुन्नेवित्तिकै म भित्रको निराशा पनि जीवन्त भएझैँ लाग्यो ।”
भाषण सँगसँगै उनी अतितमा डुबे ।
“जवान थिएँ । २० वर्षमै सरकारी कर्मचारी भएझैँ लागेको थियो । पहिलो दिन हातमा नियुक्ती पत्र पर्दाको क्षण अझै याद छ,” आस्भान कुरा सुरु गर्छन् ।
युवा उमेर, केही गरौँ भन्ने जाँगर अनि हातभरि सीप खुबै उत्साहित हुँदै आफ्नो पहिलो जागिरका लागि १४ किलोमिटर साइकल पेलेर उनी कारखानासम्म पुगेका थिए ।
“पहिलो दिन जागिर खान जाँदा १४ किलोमिटर साइकलको बाटो केही मिनेटमा नै पार गरेझैँ लागेको थियो, खुबै उत्साहित थिएँ,” आस्भानले अतित सम्झिए ।
हुन पनि बुटवल आसपास बस्ने अधिकांशको चाहना हुन्थ्यो, बुटवल धागो कारखानामा ‘जागिर खाउँ, सरकारी कर्मचारी बनौँ’ भन्ने । उनले त २० वर्षमा नै जागिर भेटेका थिए, अझ भनौँ चलन चल्तीको भाषामा सरकारी जागिर ।
बुटवल धागो त्यस समय नाफामा थियो । देशकै सफल कारखानाको रूपमा चिनिने धागो कारखानामा कर्मचारीको भीड हुन्थ्यो । कोही काँचो धागोलाई मिलाउने, कोही मेसिनमा काम गर्ने त कोही प्याकेजिङमा सानो तिनो बजार लागेझैँ हुन्थ्यो कारखानामा ।
आस्भानले त्यहाँ स्पीन शाखामा अपरेटरको रूपमा काम गरे । केही महिना उनको काम राम्रैसँग चल्यो । जीविको चलाउन आस्भानले १४ किलोमिटर साइकल पेलिरहे, कारखाना धाइरहे । निर्वाध रुपमा चलिरहेको बुटवल धागो कारखानाको उत्पादन समयक्रममा सुस्ताउँदै गयो कारखाना बिस्तारै थलिँदै गयो अनि आस्भान र उनीजस्ता सयौँ कामबाट निकालिए ।
“कारखानामामा हड्ताल सुरुभयो, कोहीसमय मात्र कारखाना चल्ने चक्रमा म पनि परेँ मलाई मौसमी कामदार बनाइन थालेँ,” आस्भान थप्छन्, “सायद धागो कारखानाले सबैभन्दा दुःख दिएको कर्मचारी नै म हो । नयाँ केटाहरूलाई बिदाइ गर्ने भन्दै कारखानाबाट आदेश आउँथ्यो म निकालिन्थेँ, फेरी केही महिनापछि बोलाइन्थ्यो र पुनः म नयाँ कामदार बनेर छिर्थे र फेरी निकालिन्थेँ ।”
करिब ६ पल्ट जति आस्भानलाई निकाल्ने फेरी बोलाउने शृङ्खला चल्यो । कारखाना चल्दा आस्भान नियुक्त हुन्थे भने कारखानामा काम घट्यो कि त निकालिन्थे ।
२०६२ सालपछि बुटवल धागो कारखाना लडखडिन थाल्यो । माओवादी युद्द, सँगै कारखाना भित्रको चरम राजनीति बुटवल धागोले थेग्नै सकेन । घाटामा रहेको कारखानामा दैनिकजसो हुने आन्दोलनका बाबजुत पनि बुटवल धागो २ वर्षसम्म चल्यो ।
एक समयमा उक्त कारखानामा ७ सय भन्दा बढीले रोजगारी पाएका थिए । ती सबैलाई केही रकम दिएर अनिवार्य अवकाश दिइयो । सरकारले कारखानालाई सँधैका लागि बन्द गर्ने निधो गरेपछि यहाँ अन्तिमसम्म रहेका चार सय १६ कर्मचारीलाई बिदा दिने निधो भयो । यसरी अन्त्यमा अवकास पाउनेहरूमा आस्भान पनि थिए ।
बुटवल राजमार्गको चौराहबाट दुई किलोमिटर पर पूर्व–पश्चिम राजमार्गको किनारमा १४३ दशमलव ७ रोपनी जग्गामा फैलिएको छ – बुटवल धागो कारखाना । यहि कारखाना बन्द हुँदा कर्मचारीलाई बिदा गर्न सरकारको ४७ करोड २२ लाख ४५ हजार रुपैयाँ खर्च भएको थियो ।
बन्द हुँदै, खुल्दै गर्दा पनि कम्पनीले ०६४ सालसम्म सानो परिमाणमा उत्पादन दिइरहेको थियो । कारखानामा राजनीतिक हस्तक्षेप नरोकिएपछि कर्मचारीबीच पनि फाटो आउन थाल्यो । दैनिक १० टन क्षमताको कारखानाले अन्तिम समयसम्म सात टनसम्म उत्पादन दिइरहेको थियो ।
अन्ततः फागुन ०६४ मा बुटवल धागो सधैंका लागि चुँडियो । त्यसको दुई वर्षपछि सरकारले कारखाना बन्द भएको घोषणा गरेको थियो ।
बुटवल धागो कारखाना बन्द हुँदा परेको असर
सरकारले बुटवल धागो कारखाना सुरूवात गर्दाखेरी योजना बनाएको थियो – नेपालगञ्जलाई कपास खेतीको जोन बनाउने । त्यहाँको कपासबाट वुटवलमा धागो बनाउने र हेटौँडामा ल्याएर कपडा उत्पादन गर्ने ।
बुटवल धागो बन्द हुँदा यी तिनै क्षेत्रमा असर पुग्यो । नेपालगञ्जका किसानहरूले कपास उत्पादन घटाए, हेटौँडा कपडा उद्योगमा पनि कपडा बन्न पाएन ।
अथाह सम्भावना हुँदाहुँदै पनि धागोमा भारत अनि चिनमा निर्भर हुनुपर्यो नेपाल । र, सुरू भयो कपास, उन, पस्मिना बेच्दै धागो र कपडा आयात गर्ने शृङ्खला ।
भन्सार विभागको चालु आर्थिक वर्षको अर्धवार्षीक तत्थ्याङ्क अनुसार करिब १ अर्ब ४४ करोड रूपैयाँ बराबरको कपडा विदेशबाट आयात भएको देखिन्छ । जबकी नेपालमा वार्षीक आवश्यक पर्ने १ अर्ब ६० करोड रूपैयाँ बराबरको कपडामध्ये १६ करोड रुपैयाँ बराबरको कपडा मात्र नेपालमा उत्पादन हुने गर्दछ ।
रोचक कुरा त के छ भने विदेशबाट आउने झण्डै डेढ अर्बको कपडामध्ये ८० प्रतिशत कपडा बनाउन लाग्ने धागो नेपालबाट नै निर्यात हुने गर्छ ।
के सम्भव छ – बुटवल धागो कारखानाको पुर्नजीवन ?
बुटवल धागो कारखाना बन्द भएको १५ वर्ष पुग्दै गर्दा गत जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेट भाषणले पुनः चर्चामा आयो । चुँडिएको धागो फेरी जोडिन्छ कि भनेर पुनः एकपटक आश पलायो । तर जेठ १४ गते गरिएको बजेट भाषणको १० महिना बितिसक्दा पनि बुटवल धागो कारखाना सहितका उद्योगहरु व्यवहारमा कार्यान्वयनमा आएकै छैन । अहिले पनि बुटवल धागो कारखानाको टाउकोमा १ अर्ब भन्दा भढी ऋण छ । कारखानाका आधाजसो मेसिनहरू काम नलाग्ने भइसकेका छन् ।
कारखाना सुरूवात गर्नका लागि अत्याधुनिक मेसिनहरू पुनः आयात गर्नुपर्ने हुन्छ । कारखानाको ऋण चुक्ता गर्नकै लागि पनि सरकारले १ अर्ब भन्दा बढी खर्चिनुपर्छ । मेसिन आयात गर्न त्यसमाथि थप खर्च लाग्छ । सरकारलाई कारखानाको मर्मत सम्भार गर्नुपरेको खण्डमा ५० करोड रूपैयाँ जति थप लगानी लाग्छ भन्ने सरकारको रुग्ण उद्योग प्रतिवेदनले देखाउँछ ।
यसबाहेक पनि व्यवस्थापन खर्च, कर्मचारी पुनः पदपूर्ती गर्न पनि सरकारको थप लगानी लाग्छ । तर, दृढ भएर सरकारले बन्द भएको बुटवल धागो कारखानालाई व्यूँताउन चाहेको खण्डमा यो असम्भव भने हुँदैन ।
कारखानालाई पुर्नजीवन दिन सकेको खण्डमा अझै पनि आस्भान जस्तै बुटवल आसपासका सयौँले रोजगारी पाउने थिए भने स्वदेशी उत्पादनको प्रवर्द्वन पनि हुने थियो ।
तर, कारखानालाई ब्यूँताउने र स्वदेशी कारखानालाई प्रोत्साहित गर्ने किसिमको कदम सरकारले नचाल्दा दैनिक कारखाना भित्र रहेका औजारहरू बिग्रने संघारमा पुगेको छ ।
कारखाना ब्यूँताउने प्रयास नगरेपनि अहिले पनि कारखानाको व्यवस्थापन हेर्ने भनेर निर्देशक छुट्याएको छ । बुटवल धागो कारखानाको निर्देशकमा अहिले डोलराज आचार्य रहेका छन् ।
सालैपिछे फेरिने मन्त्रीबाट संस्थान र बन्द भएका रुग्ण उद्योगको नाम निरन्तरको बजेटमा सुनिने भएपनि काम सञ्चालनमा एक रति काम नहुनु, बजेट नछुटिनु अनि सालैपिच्छे पूरानो हुँदै गएका मेसिनहरूले काम नगर्नुले बन्द भएको बुटवल धागो कारखानाले पुर्नजीवन पाउने सम्भावाना भने घट्दै गएको छ ।
हुनत: यसअघि वि.स २०७७ मा नेपाल सरकारका पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वमा बनेको समितिले रुग्ण उद्योग प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदनले पनि बुटवल धागो कारखानलाई सरकारी संयन्त्रबाटै पुर्नजीवन दिन सम्भव नभएको निचोड निकालेको थियो ।
“यस संस्थालाई यही अवस्थामा राख्नुभन्दा जग्गा बाहेकको सम्पत्ति बिक्री गरी सरकारको शेयर स्वामित्व निजी क्षेत्रलाई हस्तान्तरण गरी सञ्चालन गर्न सकिने देखिन्छ । यदि सो सम्भव नभए संस्थालाई पूर्ण रुपमा खारेजीको प्रकृयामा लैजान उपयुक्त हुने देखिन्छ ।”
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजु भन्छन्, “स्थानीय कारखाना बन्द हुँदा युवामाझ हालसम्म नैराश्यता छ, बुटवल धागोकै उदाहरण दिएर नेपालमा बुटवल आसपासका युवाहरू विदेश पलायन हुन्छन् । बाणिज्य संघले अब धागो कारखानालाई पुनः सञ्चालन गराउनका लागि भनेर हामी दबाब दिनेछौँ । निजिकरण गरेर भएपनि सञ्चालनमा ल्याउनुपर्छ ।”
धागो कारखाना बन्द भएपछि कारखाना अवलोकनका लागि आउने सरकारी उच्च अहोदाका कर्मचारीलाई धागो कारखाना घुमाउने अनि समय समयमा उद्योग मन्त्रालयसम्म कारखानाको प्रगती प्रतिवेदन पुर्याउने मात्र काम भइरहेको हाल बुटवल धागो कारखानाका प्रमुख रहेका डोलराज शर्मा बताउँछन् ।
उनी भन्छन्, “धागो कारखानालाई सञ्चालन गराउन भनेर सरकारबाट बजेट पनि आएको छैन कुनै निर्णय पनि भइहालेको छैन । वार्षीक लिजमा लिएको कारखानामा ४ करोड बढी खर्च मात्र भएको छ आम्दानी शून्य नै छ । कारखाना भित्र रहेका मेसिनहरूको अवस्था पनि ठीक छैन पुनः सञ्चालनमा ल्याउन पनि अफ्ट्यारो छ”
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय धागो कारखाना ब्यूँताउन आफ्नो ठाउँबाट निरन्तर पैरवी गरिरहेको बताउँछन् ।
उनी भन्छन्, “बुटवल धागो कारखाना ब्यूँताउन कदम चाल्नुपर्ने संघिय सरकार अनि प्रदेश सरकारको त्यती चासोमा पर्न सकेको छैन । म यस क्षेत्रको जनप्रतिनिधी भएका कारण आफ्नो पनि दायित्व सम्झेर पटक पटक उद्योग मन्त्रालयसम्म पुग्दै आएको छु । यसपटक पनि बुटवलमा औद्योगीक क्षेत्र स्थापना गराउने र बुटवल धागो कारखानालाई पनि पूर्नजीवन दिलाउन मन्त्रालय पुगेँ, संघिय सरकारबाट सकरात्मक पहलको आश गरेका छौँ ।”
बुटवलमा उद्योग कारखानाको प्रचुर सम्भावना भएको र विशेषगरी धागो कारखानासँग बुटवल बासीको भावनात्मक सम्बन्ध रहेको खेलराज बताउँछन् ।
“औद्योगीक विकास मेेरो पनि चासोको विषय हो । रुग्ण कारखाना ब्यूँताउन र नयाँ खुलाउन म निरन्तर क्रियाशील रहन्छु,” खेलराज भन्छन् ।