‘खोकनामा पहिलेजस्तै तोरी फूलोस्, आफ्नै ब्राण्डको तेल बजारमा पुगोस्’ फोटो : पुष्कल श्रेष्ठ/जीविको

प्रतिक ढकाल २०७९ पुष २४ गते १२:३८

पाखुरीभर बल भएका युवाहरूले अहिले खोकनाको तेल मिलमा कोल घुमाएको बिरलै देखिन्छ । दशक अगाडिसम्म खोकनामा युवाहरू तोरीबारीमा काम गर्दै भेटिन्थे । अहिले समय फेरियो, तोरी फलाएर जीविको धानिने नदेखिएपछि यहाँका युवा विदेशिन थाले । कोही खाडी मलेशिया पुगे त कोही अष्ट्रेलिया अनि अमेरिका । खोकना अहिले सुनसान छ, खर्पनमा तेल बोक्ने बयस्क पनि तोरी नउम्रिएपछि चिन्तित भएर घरमै छन् । केही बाँकी रहेका युवाहरू जागिरको लागि काठमाडौं पुग्छन् त कोही गाउँमा नै ज्याला मजदुरी गर्छन् । अधिकांशले तोरी रोप्ने अनि पेल्ने पुर्ख्यौली कामलाई बिट मारेका छन् ।

“मेरो उमेरका केही व्यक्तिले मात्र तेलको काम गर्छन्, युवा त कोही छैन भन्दा पनि हुन्छ, अधिकांश विदेश पुगिसके,” भर्खर युवा उमेर कटेका ४२ वर्षिय खोकना तेपयूँ तेल मिलका सञ्चालक अष्टराम महर्जन भन्छन्, “तेल दिएर तोरी साट्न पाटन, लुभु, टोखा, चाबहिल, भक्तपुर, काठमाडौं आसपासको ठाउँहरूमा मेरो बुबा खर्पन काँधमा हालेर जानुहुन्थ्यो । म पनि उहाँकै पछि पछि लाग्थे,” 

खोकनाको परम्परागत मौलिक उद्यम पहिचान सङ्कटमा पर्दै गएकोमा चिन्तित हुँदै उनी भन्छन्, “अहिले त तोरी फलाएर हात मुख जोर्नै मुस्किल भयो, खेतबारी प्लटिङ भए अब न त तोरी फल्ने नै ठाउँ नै छ न युवा तोरी फलाउन चाहन्छन् अरू उपाय नदेखे पछि यहाँका युवा विदेशिन बाध्य छन्”

बर्षौँ अगाडिदेखि खोकनाबाट यसरी तोरी बटुल्न ललितपुर र काठमाडौंका ति ठाउँहरू जाने चलन हराएको उनी बताउँछन्

पाटन, टोखा अनि चाबहिलले तोरी फलाउन छाडेपनि खोकनाले तेल पेल्न भने छाडेको छैन । अष्टरामले पनि बाबु बाजेदेखि चलिआएको तोरीको तेल पेल्ने अनि बेच्ने पुर्ख्यौली पेसा छाडेका छैनन् । गत महिना उनले ४० लाख खर्चिएर तेल मिल बनाए ।   

खोकनाको तेल मिलमा कोल घुमाउँदै, फोटो : पुष्कल श्रेष्ठ/जीविको

“मिल बनाएँ तर तोरी भने न खोकनामा छ, न नेपालकै तोरीले पुग्छ,” अष्टरामले गुनासो पोखे । 

डेढ दशक अगाडिसम्म धादिङ, मकवानपुर, भिमफेदी अनि खोकनामै पनि पर्याप्त मात्रमा तोरी पाइन्थ्यो । नेपालकै तोरी पेलेर खोकनाले देशका विभिन्न ठाउँमा तेल पुर्‍याउँथ्यो । तोरी तेल र खोकना एक अर्काका पर्यायवाची  थिए ।

खोकनाका किसानको मुख्य पेशा नै तोरी फलाउनु र तेल बेच्नु थियो । कार्तिक – मङ्सिरमा धान काटे लगत्तै तोरी छरे पछि २\३ महिनामै पहेँलपुर भएर फाँटै रङ्गाउने तोरीको फूल हिजोआज खासै फुल्दैन । तोरी फूल्ने ति खेतका गराहरूमा अहिले घरहरू ठडिएका छन् ।  

अहिले पनि खोकनाले तोरी पेल्न भने छाडेको छैन, तर खोकनाको उत्पादनले त्यहाँकै माग पुग्दैन । पहिले देशका विभिन्न ठाउँमा खोकनाको मगमगाउने तोरीको तेल पुग्थ्यो । तर अहिले समय परिवर्तन भएको छ, प्याकेटको तेल किनेर खाने बाध्यता अहिले खोकना बासीलाई नै छ ।

खोकनामा मात्र होइन मकवानपुर, धादिङ जस्ता वरपरका जिल्लाहरूमा पनि तोरी उत्पादन कम छ त्यसैले त खोकनाले अहिले युक्रेन र अष्ट्रेलियाको तोरी पेलिरहेको छ ।

“खोकनाको तोरी बास्नाका लागि मात्र हुन्छ, हामीले पेल्ने तेलमा ९५ प्रतिशत तोरी युक्रेन कि त अष्ट्रेलियाकै हुन्छ,” अष्टराम सुनाउँछन् । बाहिरबाट तोरी ल्याएर तेल पेल्दा महँगो पर्दैन त ? भन्दा उनी भन्छन्, “बाहिरबाट ल्याँउदा महङ्गो पर्छ, तर बाध्यता हाम्रोमा उत्पादन हुँदैन अनि के गर्नु ?” अष्टराम प्रतिप्रश्न गर्दछन् ।

तेल पेल्नका लागि तोरीलाई भुट्दै, तेपयूँ तेल मिल, फोटो : पुष्कल श्रेष्ठ/जीविको

अष्ट्रेलिया, युक्रेनबाट करिव १ सय ६० रुपैयाँ किलोमा तोरी नेपाल आउने गरेको अष्टराम बताउँछन् । परम्परागत तरिकाबाट तोरी पेल्दा पनि उनको मिलमा दैनिक २ सय लिटर तेल उत्पादन हुने गरेको छ । कहिले खेती किसान त कहिले ज्याला मजदुरी गरेका अष्टरामले बाबु बाजेले गरेको कामलाई बच्चाइ राख्न र खोकनाबाट तोरीको तेल लोप नहोस् भन्ने उद्देश्यले मिल बनाएका छन् । भर्खरै मिल सञ्चालन गरेका उनले बजारको माग, व्यवसाय योजना, दर्ता प्रक्रिया बुझ्दै छन् । यो उद्यम सुरु गर्न पूँजी अभाव भएको तर पनि सघाउने निकाय नभएको उनको गुनासो छ । 

विभिन्न चुनौतीहरुले व्यवसाय अगाडि बढाउन अवरोध सिर्जना गरे तापनि आफ्नो गन्तव्यमा पुगेरै छाड्ने अठोट अष्टरामको छ ।

अष्टराम भन्छन्, “एक दिन खोकनाले आफ्नै ब्रान्डको तोरीको तेल बेच्ने दिन पक्कै आउनेछ, सबैले प्रयास गर्नु पर्‍यो”

हेर्नुहोस्, खोकनामा पहिले जस्तो तोरी उत्पादन नभएर यहाँको परम्परागत मौलिक उद्यम पहिचान नै सङ्कटमा परेको अवस्थामा पनि तेल पेल्ने साख बचाइरहेका अष्टरामको कथा:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *