दैनिक कमाएर खानेले यसरी मनाउँदै छन् दसैँ
दुना टपरी बेच्ने १४ वर्षीय अप्सना सापकोटाको दसैंँ
दसैँ नजिकिँदै गर्दा पनि सिन्धुपाल्चोककी १४ वर्षीय अप्सना सापकोटा नयाँ लुगा किन्न, साथीभाइसँग घुम्न जान अनि पिङ्ग खेल्न भ्याउँदिनन् । उनी नौरथा लागेदेखि काठमाडौं असनको सडक पेटीमा सालको पातले बुनेको टपरी बेच्न बस्छिन् । अझ घटस्थापनामा त उनलाई भ्याइनभ्याई नै हुन्छ । यो समय उनले कमाउनै पर्ने छ । चाडबाडको समयमा टपरी बढी बिक्ने गर्दछ । हामीले अप्सनालाई घटस्थापनाको दिन भेट्यौं, उनलाई बोल्न पनि फुर्सद थिएन ।
“आज र भोलि टपरी बेच्ने अनि २ दिन फूलपाती भित्र्याउन चाहिने सामानको जोहो गरेर फेरी यहीँ बेच्न ल्याउने,” उनी सुनाउँथिन् ।
फूलपतीलाई चाहिने उखु, अदुवाको बोट, फूल अनि पाती जस्ता सरसामान बेचेपछि मात्र उनलाई दसैँ लाग्ने गर्छ । दसैँका लागि घर खर्च टार्न अप्सना असन चोकमा यो समयमा व्यापार गर्छिन् ।
उनी भन्छिन्, “म वर्षभरी व्यापार गर्दिन तर दसैँ लागेपछि मेरो स्कुल पनि बिदा हुन्छ । आमा बुबा अन्यत्र व्यापार गर्नुहुन्छ म चाहिँ यहाँ बसेर सामान बेच्छु,”
रिक्सा पेलेर जीवन धान्ने तिलक कार्कीको दसैँ
“आज त १ जना सवार भेटेको छैन, बिहानदेखि खाली रिक्सा लिएर इन्द्रचोकमा बसेको बसै छु,” असन ठमेल क्षेत्रमा रिक्सा चलाउने नुवाकोटका तिलक कार्कीले गुनासो पोखे ।
दसैँ भित्रँदै गर्दा तिलकका छोराले लुगा किनिदिनु भनेर उनलाई फोन गर्न थालिसके । उनकी श्रीमती पनि घरको रासन पानीका लागि उनलाई गुहार्न थालिसकिन् । तर, दसैँमा सामान किन्ने मानिसहरूले असन बजार पूरै भरिँदा पनि तिलकको रिक्सा भने खाली नै छ ।
उनी भन्छन्, “खै, यो साल त के भयो भयो.. दसैँ मनाउनै सकिँदैन कि जस्तै छ । ॠण खोजेर दसैँ मनाउनु पर्ला,” तिलक फूलपातीसम्म नै रिक्सा पेल्ने सोचमा छन् । त्यतिञ्जेलमा केही कमाई गर्न सके घरका सरसामान किनेर उनी नुवाकोट जाने बताउँछन् ।
फूटपाथमा लुगा सिलाउने ७२ वर्षीय भक्त सेन्चुरीको दसैँ
वीर अस्पतालको अगाडि रहेको अवैध संरचना भत्काएर राखिएको माटोको थुम्कोको अग्लो भागमा बसेर कालीकोटका ७२ वर्षीय भक्त निरन्तर लुगा सिलाउने कल चलाउँदै थिए । फुर्सदले हामीसँग बोल्ने समय पनि थिएन उनीसँग । दसैँ लागेसँगै उनकोमा पुराना लुगा मर्मत गर्न आउने मान्छेहरू टनाटन छन् ।
दसैँ नै हो भक्तले केही पैसा कमाउने समय । तर, नयाँ लुगा बोकेर उनीकहाँ सिलाउन आउनेहरू भने त्यति हुँदैनन् ।
“यहाँ सिलाउन आउने हामीजस्तै गरिब नै हुन् । फाटेको टाल्ने, उद्रिएको सिलाउने काम गर्छु । टुक्रे काम गरेर कहाँ पैसा कमिन्छ र हजुर,” भक्तले गुनासो पोखे ।
भक्तसँग नयाँ नयाँ लुगा सिलाउने पनि खुबै राम्रो सीप छ तर राम्रो चोकमा सटर भाडामा लिएर टेलर चलाउने पैसा भने छैन, त्यसैले उनको सीप ले उतिसारो पैसा कमाउन सकेको छैन ।
“फुटपाथमा लुगा सिलाउन बस्नेकोमा नयाँ लुगा आउँदैन, आए त खुब राम्रो सिलाउने थिएँ,” उनी सुनाउँछन् ।
उनी दसैँमा घर जाने सोचमा छैनन्, उनकी जहान यतै छिन् । कालीकोटसम्म पुग्दा उनले कमाएको सबै पैसा बस भाडामा नै सकिन्छ । त्यसैले भक्तबहादुरको यसपालिको दसैँ काठमाडौंमै बित्ने छ ।
मकै पोल्ने सानुमाया महर्जनको दसैँ
दसैँको लागि घर पोत्ने, लुगा धुने, वरपर सरसफाइ गर्ने जस्ता कामले यतिबेला धेरै गृहिणीहरूलाई भ्याइ नभ्याइ छ । काठमाडौं चन्द्रागिरी चेकपोष्टको सडकमा मकै पोल्न बसेकी सानुमाया महर्जनलाई भने घरधन्दा भन्दा मकै पोलेर बेच्ने चटारो छ । उनले नकमाइ न घरमा चुल्हो बल्छ न त दसैँ नै भित्रिन्छ । त्यसैले बिहानै सडकको पेटीमा कोइला फुक्दै सानुमाया मकै बेच्न थालिहाल्छन् ।
“दसैँको काम त छ, तर पैसा छैन भने दसैँ हुँदैन, जसरी भए पनि पैसा त कमाउनु पर्यो नी ।” सानुमाया सुनाउँछिन् ।
बिहानदेखि बेलुकासम्म मकै पोलेर कमाएको पैसाले छोरा छोरीलाई लुगा किनिदिने अनि मिठो मसिनो जे हुन्छ जोरजाम गरेर यसपालिको दसैँ मनाउने सोचमा छिन् सानुमाया ।
लागेन दसैँ लेबर काम गर्ने कालुराम थारूलाई !
कालुराम थारू गत साउन २० गते कामको खोजी गर्दै काठमाडौं आइपुगे । बर्दिया गुलरियामा खेती किसानी गर्ने कालुरामलाई दसैँ मनाउन भन्दा घरका दुःख कसरी टार्ने भन्ने चिन्ता छ । यही समस्याले उनलाई यसपटकको दसैँमा काठमाडौंमै रोकिनु पर्यो । काठमाडौंमै दैनिक ज्याला मजदुरी गरेर उनी यसपटकको दसैँ बिताउने छन् ।
“काम नगरी खान पुग्दैन.. ३ जना छोराछोरी छन्, यहाँ केही कमाएर पठाउँछु उनीहरूले दसैँ मनाउँछन्.. मेरो त त्यस्तै भयो,” कालुरामले आँखाभरी आँशु बनाएर भने ।
कालुराम आउने मङ्सिरमा धान काट्नलाई बर्दिया पुग्ने छन् । मौसमी रोजगारीका लागि काठमाडौं आएका उनी धान रोपी सकेपछि बेरोजगार बने । ५० वर्षको उमेरमा पनि उनलाई काम नगरी खाने वातावरण बन्न सकेन ।
यसपटक परिवारसँगै दसैँ मनाउने धोको हुँदाहुँदै पनि उनी बर्दिया पुग्ने छैनन् । परिवार साथमा नहुँदा उनी काठमाडौंमा एक्लिने छन् भने बर्दियामा कालुरामको घर सुन्ने हुनेछ ।