देशका विभिन्न ठाउँमा निःशुल्क सीप तालिमका अवसर, ड्राइभिङदेखि डिजिटल मार्केटिङ र मोबाइल रिपेयरसम्म

जीविको २०८३ असोज १२ गते ८:२४

रुपन्देही, बुटवल, दाङ र लमजुङमा विभिन्न सीपमूलक तालिमका लागि आवेदन खुला; युवा उद्यमीका लागि उद्यमशाला कार्यक्रम पनि सञ्चालन हुँदै

काठमाडौं — रोजगारी, स्वरोजगार तथा व्यवसायका लागि सीप सिक्न चाहने युवाका लागि देशका विभिन्न ठाउँमा निःशुल्क तथा सीपमूलक तालिमका अवसर खुलेका छन्।

 

लुम्बिनी प्रदेशको रुपन्देही र दाङ, बुटवल उपमहानगरपालिका तथा गण्डकी प्रदेशको लमजुङमा ड्राइभिङ, डिजिटल मार्केटिङ, मोबाइल फोन रिपेयर, कुकिङ, बेकरी, मन्टेश्वरी, कटाई–सिलाई, प्लास्टिक रिसाइकलिङलगायत विभिन्न विषयमा तालिम सञ्चालन गर्न आवेदन माग गरिएको छ।

यससँगै बागमती, मधेश र लुम्बिनी प्रदेशका साना तथा लघु व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीका लागि ‘उद्यमशाला’ कार्यक्रममार्फत तालिम, व्यवसाय विकास सहयोग तथा छनोट भएका केही व्यवसायलाई सिड ग्रान्ट उपलब्ध गराउने अवसर पनि खुलेको छ।

रुपन्देहीमा १५ प्रकारका निःशुल्क तालिम

घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत १५ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्न आवेदन माग गरेको छ।  

तालिममा एडभान्स ब्युटिसियन, नेपाली कुकिङ, ३९० घण्टाको मन्टेश्वरी, ड्राइभिङ, बारिस्ता तथा बेकरी, चप्पल-जुत्ता बनाउने, मोबाइल फोन रिपेयर, ब्याग बनाउने, नेल आर्ट, बुटिक र डिजिटल मार्केटिङलगायत विषय समावेश छन्। महिला लक्षित केही तालिम पनि सञ्चालन हुनेछन्। अधिकांश तालिममा २०–२० जना सहभागी गराइने उल्लेख छ।  

सामान्यतया २० वर्ष पूरा भएका लुम्बिनी प्रदेशमा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। युवा लक्षित कार्यक्रमका लागि भने १८ देखि ४० वर्षको उमेर सीमा उल्लेख गरिएको छ। तालिमका लागि कुनै शुल्क लाग्ने छैन।  

विस्तृत समाचार:
https://jibiko.com/2026/09/5905/

बुटवलमा प्लास्टिक रिसाइकलिङ र अपसाइकलिङ तालिम

बुटवल उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहोरलाई पुनर्चक्रण तथा पुनःउपयोग गरी उपयोगी वस्तु र व्यवसायसँग जोड्ने उद्देश्यले निःशुल्क सीप तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्दैछ।

कार्यक्रम यूएनडीपी नेपाल र बुटवल उपमहानगरपालिकाको सहकार्य तथा The Coca-Cola Foundation को सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत सञ्चालन हुन लागेको हो।  

कम्तीमा १८ वर्ष पूरा भएका तथा फोहोरमैला वा प्लास्टिकजन्य फोहोरको क्षेत्रमा काम गरिरहेका, व्यवसाय गरिरहेका वा यस क्षेत्रमा व्यवसाय सुरु गर्न चाहने व्यक्तिले आवेदन दिन सक्छन्। बेरोजगार युवालाई समेत आवेदन दिन सकिनेछ। दलित, जनजाति, महिला तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई प्रोत्साहन गरिने उल्लेख छ।  

आवेदन असोज १४ गतेसम्म बुटवल उपमहानगरपालिकाको सरसफाई तथा फोहोर व्यवस्थापन शाखामा बुझाउन सकिनेछ।  

विस्तृत समाचार:
https://jibiko.com/2026/09/5900/

दाङमा डिजिटल मार्केटिङ, सिलाई र मन्टेश्वरी

घरेलु तथा साना उद्योग कार्यालय, दाङले पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न आवेदन माग गरेको छ।

कार्यालयका अनुसार कन्टेन्ट क्रिएटिङ/भिडियोग्राफी तथा डिजिटल मार्केटिङ, कटाई–सिलाई र आधारभूत मन्टेश्वरी तालिम सञ्चालन हुनेछन्। मन्टेश्वरी तालिम ३९० घण्टाको हुनेछ र सीप परीक्षणसमेत हुनेछ।  

आवेदक कम्तीमा १८ वर्ष पूरा भएको तथा लुम्बिनी प्रदेशको स्थायी बासिन्दा हुनुपर्नेछ। दाङ जिल्लाका स्थायी बासिन्दालाई प्राथमिकता दिइनेछ। मन्टेश्वरीका लागि न्यूनतम SLC वा SEE उत्तीर्ण हुनुपर्ने व्यवस्था छ।  

आवेदन घरेलु तथा साना उद्योग कार्यालय, दाङमा प्रत्यक्ष वा [email protected] मार्फत बुझाउन सकिनेछ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

विस्तृत समाचार:
https://jibiko.com/2026/09/5879/

बेँसीशहरमा ४० जनालाई ३० दिने ड्राइभिङ तालिम

लमजुङको बेँसीशहर नगरपालिकाले ड्राइभिङ पेशा गर्न इच्छुक युवाका लागि ३० दिने हलुका सवारी चालक तालिम सञ्चालन गर्ने भएको छ।

तालिममा महिला र पुरुष गरी ४० जना सहभागी छनोट गरिनेछ र शिक्षण शुल्क नगरपालिकाले व्यहोर्नेछ।  

आवेदक १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा कक्षा ८ उत्तीर्ण तथा बेँसीशहर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। आवेदन फाराम नगरपालिका वा सम्बन्धित वडा कार्यालयबाट निःशुल्क लिन सकिन्छ।  

विस्तृत समाचार:
https://jibiko.com/2026/09/5874/

२०० युवा उद्यमीका लागि उद्यमशाला

तालिमबाहेक व्यवसाय सञ्चालन गरिरहेका युवाका लागि पनि अर्को ठूलो अवसर खुलेको छ।

बागमती, मधेश र लुम्बिनी प्रदेशका २०० वटा युवा नेतृत्वका माइक्रो तथा नानो उद्यमलाई ‘उद्यमशाला युथ एक्सेलेरेसन प्रोग्राम’मा छनोट गरिनेछ।

छनोट भएका उद्यमीले व्यवसाय व्यवस्थापन, डिजिटल मार्केटिङ तथा ई–कमर्स, प्राविधिक सीप, उत्पादन विकास, प्याकेजिङ, ब्रान्डिङ तथा बजार पहुँचसम्बन्धी तालिम र व्यवसाय विकास सहयोग प्राप्त गर्नेछन्।  

ती २०० उद्यममध्ये दोस्रो चरणमा ४५ उद्यम छनोट गरिनेछ। उनीहरूले प्रतिउद्यम एक हजार अमेरिकी डलर अर्थात् हालको दरअनुसार करिब डेढ लाख रुपैयाँ बराबरको सिड ग्रान्ट, उपकरण, मेन्टरसिप, बिजनेस कोचिङ, नेटवर्किङ तथा बजारसँग जोडिने सहयोग पाउनेछन्।  

आवेदक नेपाली नागरिक तथा १६ देखि ४० वर्ष उमेर समूहको हुनुपर्नेछ। व्यवसाय बागमती, मधेश वा लुम्बिनी प्रदेशमा आधारित वा मुख्य रूपमा त्यहीँ सञ्चालन भइरहेको हुनुपर्नेछ। व्यवसाय दर्ता भइसकेको हुनु आवेदनकै चरणमा अनिवार्य छैन।  

विस्तृत समाचार:
https://jibiko.com/2026/09/5894/

आवेदन गर्नुअघि के ध्यान दिने?

यी तालिम र कार्यक्रमको उमेर, स्थायी बसोबास, शैक्षिक योग्यता, आवश्यक कागजात तथा आवेदन दिने तरिका फरक–फरक छन्। त्यसैले आफूलाई उपयुक्त अवसर छानिसकेपछि सम्बन्धित सूचना र विस्तृत समाचार राम्ररी पढेर मात्र आवेदन दिनु उपयुक्त हुन्छ।

जीविकोमा प्रकाशित प्रत्येक समाचारमा आवेदन प्रक्रिया, योग्यता, आवश्यक कागजात, सम्पर्क तथा उपलब्ध आवेदन लिंकसहित थप विवरण दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित