बागमती, मधेश र लुम्बिनीका २०० युवा उद्यमीका लागि ‘उद्यमशाला’ आवेदन खुला, ४५ व्यवसायले पाउनेछन् डेढ लाख रुपैयाँसम्म
काठमाडौं — बागमती, मधेश र लुम्बिनी प्रदेशमा सानो तथा लघु व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न सहयोग गर्ने उद्देश्यले ‘उद्यमशाला युथ एक्सेलेरेसन प्रोग्राम (Youth Acceleration Program–YAP)’ का लागि आवेदन खुला गरिएको छ।
कार्यक्रमअन्तर्गत तीन प्रदेशबाट २०० वटा युवा नेतृत्वका माइक्रो तथा नानो उद्यम छनोट गरिनेछ। छनोट भएका उद्यमीले उद्यमशीलता तथा व्यवसाय व्यवस्थापन, डिजिटल मार्केटिङ तथा ई–कमर्स, प्राविधिक सीप, उत्पादन विकास, प्याकेजिङ, ब्रान्डिङ र बजार पहुँचलगायत विषयमा तालिम तथा व्यवसाय विकास सहयोग पाउनेछन्।
२०० उद्यमीलाई तालिम, ४५ लाई थप सहयोग
पहिलो चरणमा बागमती, मधेश र लुम्बिनी प्रदेशबाट गरी २०० वटा उद्यम छनोट गरिनेछन्। उनीहरूलाई तीनदिने आवासीय उद्यमशीलता तथा व्यवसायसम्बन्धी तालिमसहित डिजिटल तथा प्राविधिक क्षमता विकासका विभिन्न कार्यक्रम प्रदान गरिनेछन्।
कार्यक्रममा २० वटा डिजिटल Business Acceleration Workshop, उपकरण र demonstration kit प्रयोग गरी दुईवटा प्राविधिक सीप तालिम, मूल्य अभिवृद्धि र प्याकेजिङसम्बन्धी तालिम तथा कम्प्युटर, इन्टरनेट, सफ्टवेयर र ई–कमर्स प्लेटफर्म प्रयोगसम्बन्धी डिजिटल बजार पहुँच तालिमसमेत समावेश छन्।
यी २०० व्यवसायमध्ये थप मूल्यांकन गरी ४५ वटा उद्यमलाई विशेष सहयोगका लागि छनोट गरिनेछ। प्रत्येक प्रदेशबाट कम्तीमा १५ वटा उद्यम छनोट गर्ने व्यवस्था छ। ToR_English_Udhyamshala
४५ उद्यमले के–के पाउँछन्?
दोस्रो चरणमा छनोट हुने ४५ उद्यमले प्रतिउद्यम १ हजार अमेरिकी डलर अर्थात् हालको विनिमय दरअनुसार करिब डेढ लाख रुपैयाँ बराबरको सिड ग्रान्ट प्राप्त गर्नेछन्। नेपाली रुपैयाँमा वास्तविक रकम भुक्तानी हुँदाको विनिमय दरअनुसार केही फरक पर्न सक्छ।
यसका साथै उनीहरूले व्यवसाय सञ्चालन र विस्तारका लागि आवश्यक स्टार्टअप किट, साना उत्पादन उपकरण, औजार तथा साना मेसिन, व्यवसाय मोडल विकास तथा वित्तीय योजना सहयोग, विशेषज्ञबाट मेन्टरसिप तथा बिजनेस कोचिङ, नेटवर्किङ कार्यक्रम, exposure visit तथा बजारसँग जोडिने सहयोगसमेत पाउनेछन्।
यद्यपि सिड ग्रान्ट प्राप्त गर्न छनोट भएका उद्यमीले ३० प्रतिशत सहलगानी (co-financing) गर्न सक्ने तयारी देखाउनुपर्नेछ। ToR अनुसार १ हजार अमेरिकी डलरको सिड ग्रान्टमा उद्यमीको ३० प्रतिशत योगदानसमेत जोडिँदा प्रतिउद्यम करिब १ हजार ३०० अमेरिकी डलर बराबरको कुल पूँजीकरण हुने उल्लेख छ।
कसले आवेदन दिन सक्छ?
कार्यक्रममा आवेदन दिन आवेदक नेपाली नागरिक र आवेदन दिँदाको समयमा १६ देखि ४० वर्ष उमेर समूहको हुनुपर्नेछ।
आवेदक आफैंले सञ्चालन गरिरहेको वा सह–स्वामित्वमा रहेको पहिलेदेखि सञ्चालनमा रहेको माइक्रो उद्यम हुनुपर्नेछ। व्यवसाय बागमती, मधेश वा लुम्बिनी प्रदेशमा आधारित हुनुपर्ने वा मुख्य रूपमा यीमध्ये कुनै प्रदेशमा सञ्चालन हुने हुनुपर्छ।
व्यवसाय अहिले नै दर्ता भएको हुनैपर्ने व्यवस्था भने छैन। तर आवेदक व्यवसायलाई सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालय वा स्थानीय तहमा दर्ता गर्न तयार हुनुपर्नेछ। त्यस्तै, छनोट भएमा तीनदिने पूर्ण तालिममा सहभागी हुन सक्ने प्रतिबद्धता आवश्यक छ। ToR_English_Udhyamshala
महिला र सीमान्तकृत समुदायका उद्यमीलाई प्राथमिकता
कार्यक्रमले महिला नेतृत्वमा रहेका उद्यम, दलित, जनजाति/आदिवासी, मधेसी तथा अन्य सीमान्तकृत समुदायका उद्यमीलाई आवेदन दिन विशेष प्रोत्साहन गरेको छ।
यसैगरी वातावरण तथा जलवायुमैत्री व्यवसाय सञ्चालन गरिरहेका र सानो स्तरमै भए पनि यसअघि उद्यमशील गतिविधिमा संलग्न भएको देखाउन सक्ने आवेदकलाई पनि प्राथमिकता दिइने ToR मा उल्लेख छ। यसको अर्थ व्यवसाय ठूलो भइसकेको हुनुपर्ने छैन। सानो लगानीबाट सुरु भएको तर बजार विस्तार, उत्पादन वृद्धि वा थप रोजगारी सिर्जना गर्न सक्ने सम्भावना भएको व्यवसायले पनि आवेदन दिन सक्छ।
आवेदन गर्दा के चाहिन्छ?
व्यवसाय पहिल्यै दर्ता भएको भए व्यवसाय दर्ता प्रमाणपत्र पेस गर्न सकिन्छ। तर आवेदन दिने चरणमै व्यवसाय दर्ता प्रमाणपत्र अनिवार्य छैन।
आवेदकले अनलाइन आवेदन फाराममा आफ्नो व्यवसायको संक्षिप्त विवरणसमेत दिनुपर्नेछ।
आवेदन भर्दा व्यवसायले के उत्पादन वा सेवा दिन्छ, अहिले कुन स्तरमा सञ्चालन भइरहेको छ, व्यवसाय विस्तार गर्ने योजना के छ, बजारको सम्भावना कस्तो छ र कार्यक्रममा सहभागी भएपछि व्यवसायलाई कसरी अगाडि बढाउने योजना छ भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्नु उपयोगी हुन्छ।
कसरी हुन्छ छनोट?
आवेदन प्राप्त भएपछि पहिलो चरणमा आधारभूत योग्यता परीक्षण गरिनेछ। त्यसपछि २०० उद्यम छनोट गर्दा मुख्य रूपमा तीन आधारमा अंक दिइनेछ।
योग्यता मापदण्ड पूरा गरेको अवस्थामा २५ प्रतिशत, आवेदकको प्रेरणा तथा प्रतिबद्धतामा २५ प्रतिशत र व्यवसायको स्पष्टता तथा विस्तारको सम्भावनामा ५० प्रतिशत अंक राखिएको छ।
पछि २०० मध्ये ४५ उद्यम छनोट गर्दा व्यवसायको वृद्धि तथा रोजगारी सिर्जना गर्ने सम्भावना, व्यवसायको व्यावहारिकता, तालिममा सहभागिता तथा कार्यसम्पादन, समावेशी प्राथमिकता र ३० प्रतिशत सहलगानी जुटाउन सक्ने क्षमता लगायत आधार हेरिनेछ।
कसरी आवेदन दिने?
इच्छुक उद्यमीले अनलाइन आवेदन फाराम भर्नुपर्नेछ।
आवेदन लिंक:
https://shorturl.at/HA06D
ToR मा दिइएको प्रत्यक्ष Google Form लिंक:
https://forms.gle/pkDvSFXpypMyaid96
आवेदन फाराममा मागिएका विवरण सही रूपमा भरी आवश्यक जानकारी तथा उपलब्ध कागजात अनलाइनमार्फत बुझाउनुपर्नेछ। ढिलो वा अपूर्ण आवेदन विचार नगरिन सक्ने कार्यक्रमको ToR मा उल्लेख छ।
