उद्यमी बन्न चाहने युवाका लागि अवसर: उद्यमशीलता बुटक्याम्प आवेदन खुला उत्कृष्टलाई सवा लाख
व्यवसायको आइडिया छ? युवाका लागि UDAAN बुटक्याम्पमा आवेदन खुला, उत्कृष्ट तीनले पाउनेछन् जनही सवा लाख अनुदान
देशभरबाट १४० उद्यम बुटक्याम्पका लागि छनोट हुने, उत्कृष्ट १४ राष्ट्रिय बुटक्याम्पमा पुग्ने; १८ देखि ३५ वर्षका नेपाली युवाले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने
काठमाडौं। व्यवसाय सुरु गर्ने सोचमा रहेका वा आफ्नो व्यवसायलाई थप विकास गर्न चाहने युवाका लागि UDAAN Digital Entrepreneurship Bootcamp मा आवेदन खुला भएको छ। नेपालका सातै प्रदेशका १८ देखि ३५ वर्ष उमेरका युवाले आफ्नो नवीन तथा विस्तार गर्न सकिने व्यवसायिक आइडियासहित कार्यक्रममा आवेदन दिन सक्नेछन्।
Youth Innovation Lab (YI-Lab) अन्तर्गत सञ्चालन हुने बुटक्याम्पमा देशभरबाट १४० उद्यम वा व्यवसायिक आइडिया छनोट गरी तीनदिने प्रादेशिक बुटक्याम्प मा सहभागी गराइनेछ। त्यसपछि उत्कृष्ट १४ उद्यम राष्ट्रियस्तरको बुटक्याम्पमा पुग्नेछन्। अन्तिम प्रतिस्पर्धाबाट उत्कृष्ट तीन उद्यम छनोट गरी प्रत्येकलाई एक लाख २५ हजार रुपैयाँका दरले उत्पादन विकास अनुदान प्रदान गरिने कार्यक्रमले जनाएको छ। प्रचलित सरकारी नियमअनुसार अनुदान रकममा कर कट्टा हुनेछ।
अन्तिम तीन विजेताले अनुदानसँगै तीनदेखि छ महिनासम्म इन्क्युबेसन र मेन्टरसिप समेत पाउनेछन्।
कसले आवेदन दिन सक्छ?
कार्यक्रममा नेपालमा बसोबास गरिरहेका १८ देखि ३५ वर्ष उमेरका नेपाली नागरिक ले आवेदन दिन सक्छन्। विद्यार्थी, करिअरको प्रारम्भिक चरणमा रहेका युवा तथा उद्यमशीलता, व्यवसाय विकास र डिजिटल समाधानमा रुचि भएकालाई आवेदन दिन प्रोत्साहित गरिएको छ।
विशेषगरी डिजिटल प्रविधिको प्रयोग गर्ने, बजारमा विस्तार गर्न सकिने र रोजगारी सिर्जना गर्न सक्ने नवीन व्यवसायिक आइडियालाई प्राथमिकताका साथ आवेदन दिन आग्रह गरिएको छ।
आवेदकले एक्लै वा समूह बनाएर आवेदन दिन सक्छन्। एउटा समूहमा बढीमा तीन जना सदस्य रहन सक्नेछन्। कम्तीमा एक महिला सदस्य रहेको समूहले छनोट मूल्यांकनमा थप एक अंक पाउने व्यवस्था छ।
महिलाले नेतृत्व गरेका समूह, फरक–फरक विषयगत पृष्ठभूमिका सदस्य रहेको टोली तथा सीमान्तकृत, आदिवासी, दुर्गम वा अवसरबाट पछाडि परेका समुदायका युवाको सहभागितालाई पनि प्रोत्साहन गरिएको छ।
व्यवसाय दर्ता भइसकेको हुनैपर्ने व्यवस्था छैन। केवल अवधारणाका रूपमा रहेको आइडियादेखि प्रारम्भिक चरणमा चलिरहेको वा सञ्चालनमा रहेको उद्यमसम्मले आवेदन दिन सक्छन्।
छनोट भएकाले के पाउँछन्?
कार्यक्रमअन्तर्गत देशभरबाट छनोट भएका १४० उद्यमले तीनदिने प्रादेशिक बुटक्याम्प मा व्यवसाय र डिजिटल सीपसम्बन्धी प्रशिक्षण पाउनेछन्।
त्यसमध्ये उत्कृष्ट १४ उद्यम राष्ट्रिय बुटक्याम्प का लागि छनोट हुनेछन्। राष्ट्रिय चरणमा उनीहरूले विषयगत विज्ञ, स्थापित उद्यमी तथा लगानीकर्ताबाट मेन्टरसिप, व्यावसायिक मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर पाउनेछन्।
सहभागीले वित्तीय संस्था, सहकारी, सरकारी निकाय तथा अन्य युवा उद्यमीसँग नेटवर्किङ गर्ने अवसरसमेत पाउनेछन्। आवश्यकताअनुसार छनोट भएको टोलीका एक सदस्यका लागि यात्रा तथा बसोबासमा सहयोग उपलब्ध गराइने उल्लेख छ।
साथै सातै प्रदेशका युवा उद्यमीबीच अनुभव आदानप्रदान, ‘Entrepreneurship Adda’ लगायतका सिकाइ गतिविधि, सहभागिताको प्रमाणपत्र तथा UDAAN, Youth Innovation Lab, साझेदार संस्था र युरोपेली संघका कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत उद्यमको प्रचार–प्रसार गर्ने अवसरसमेत रहनेछ।
उत्कृष्ट तीनलाई जनही सवा लाख
राष्ट्रियस्तरको अन्तिम ‘Pitch Day’ बाट उत्कृष्ट ठहरिएका तीन उद्यमलाई जनही एक लाख २५ हजार रुपैयाँ उत्पादन विकास अनुदान दिइनेछ।
यसरी तीन उद्यमलाई कुल तीन लाख ७५ हजार रुपैयाँ अनुदान प्रदान हुनेछ। विजेताले आर्थिक सहयोगसँगै आफ्नो उत्पादन विकास, बजारमा लैजाने तयारी र व्यवसायलाई विस्तार गर्न आवश्यक मेन्टरसिप तथा इन्क्युबेसन सहयोग पनि पाउनेछन्।
कसरी आवेदन दिने?
आवेदन अनलाइनमार्फत दिनुपर्नेछ। आवेदकले व्यक्तिगत तथा टोलीसम्बन्धी विवरण भर्नुका साथै आफ्नो व्यवसायिक आइडिया, त्यसले समाधान गर्न खोजेको समस्या, प्रस्तावित समाधान र उक्त व्यवसाय सुरु गर्न चाहनुको कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
व्यवसायसम्बन्धी concept note वा pitch deck भए आवेदनसँगै संलग्न गर्न प्रोत्साहित गरिएको छ। आवेदन बुझाउँदा कार्यक्रमको आचारसंहिता, दुर्व्यवहारविरुद्धको व्यवस्था, बौद्धिक सम्पत्ति तथा प्रविधिको नैतिक प्रयोगसम्बन्धी सर्तमा समेत सहमति जनाउनुपर्नेछ।
आवेदन Youth Innovation Lab को UDAAN Bootcamp वेबसाइट मार्फत दिन सकिन्छ।
आवेदनको अन्तिम मिति २८ अगस्ट २०२६ तोकिएको छ। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ।
चार वर्षे UDAAN कार्यक्रमअन्तर्गत बुटक्याम्प
UDAAN अर्थात् Unleashing Digital Acceleration and Ambition of Nepali Youth युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ४८ महिनाको कार्यक्रम हो। यसको उद्देश्य नेपाली युवा महिला तथा पुरुषको डिजिटल क्षेत्रमा र रोजगारी बजारमा सहभागिता बढाउँदै डिजिटल साक्षरता, सीप विकास, नवप्रवर्तन र भविष्यको श्रम बजारका लागि तयारीमा सहयोग गर्नु हो।
कार्यक्रम Youth Innovation Lab, Heifer Project Nepal, Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII) र Women in Animation Nepal सहितको साझेदारीमा सातै प्रदेशमा सञ्चालन भइरहेको छ।
UDAAN कार्यक्रमका Pathshala, Karmashala, Karyashala र Nitishala गरी चार मुख्य आधार छन्। अहिले आवेदन खुलेको UDAAN Bootcamp ‘Karyashala’ अन्तर्गतको उद्यम विकास कार्यक्रम हो, जसले युवाको प्रारम्भिक व्यवसायिक आइडियालाई तालिम, मेन्टरसिप, प्रस्तुतीकरण र इन्क्युबेसनमार्फत बजारमा जान सक्ने उद्यममा विकास गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।
