काठमाडौंमा आइतबार ४७ कम्पनीको सहभागितामा रोजगार मेला

जीविको २०८३ साउन २१ गते २१:४८

केएमसीमा आइतबार ‘जब फेयर’, ४७ कम्पनीमा रोजगारीको अवसर

काठमाडौं। काठमाडौं मोडेल कलेज (केएमसी), बागबजारले विद्यार्थी तथा रोजगारीको खोजीमा रहेका युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यले आगामी आइतबार ‘केएमसी जब फेयर–२०२६’ आयोजना गर्ने भएको छ।

रोजगार मेला साउन २४ गते अर्थात् सन् २०२६ अगस्ट ९ मा सञ्चालन हुनेछ। मेलामा ४७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने केएमसीले जनाएको छ। सहभागी कम्पनीहरूले आफ्ना संस्थामा रिक्त रहेका विभिन्न पदका लागि आवश्यक जनशक्ति खोज्ने तथा योग्य उम्मेदवार छनोट गर्नेछन्।

रोजगार मेला केएमसी नेटवर्कअन्तर्गतका कलेज तथा अन्य शैक्षिक संस्थाबाट स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। रोजगारीको तयारीमा रहेका अन्य योग्य युवाले पनि पूर्वदर्ता गरी मेलामा सहभागी हुन सक्ने जनाइएको छ।

कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेट र अन्तर्वार्ता

मेलामा सहभागी विद्यार्थी तथा युवाले आफ्नो शैक्षिक योग्यता, रुचि, अनुभव र सीपअनुसार विभिन्न कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्। सहभागी कम्पनीका प्रतिनिधिबाट रोजगारीका अवसर, आवश्यक योग्यता, छनोट प्रक्रिया तथा सम्बन्धित क्षेत्रमा करियर विकासका सम्भावनाबारे जानकारी लिन सकिनेछ।

मेलामा केही कम्पनीले प्रारम्भिक अन्तर्वार्ता लिनुका साथै उपयुक्त उम्मेदवारको विवरण सङ्कलन र छनोटसमेत गर्नेछन्। त्यसैले सहभागीलाई आफ्नो अद्यावधिक व्यक्तिगत विवरण अर्थात् सीभीसहित उपस्थित हुन उपयोगी हुने बताइएको छ।

कार्यक्रममा करियर परामर्श, रोजगारदातासँग संवाद तथा विभिन्न क्षेत्रमा उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन सकिनेछ। रोजगार बजारमा प्रवेश गर्न आवश्यक तयारी, सीप र व्यावसायिक व्यवहारबारे पनि सहभागीले बुझ्ने अवसर पाउनेछन्।

रोजगारदाताले खोज्ने सीपबारे प्यानल छलफल

जब फेयरअन्तर्गत ‘फ्रम एक्स्पेक्टेसन्स टु एम्प्लोयाबिलिटीः ह्वाट एम्प्लोयर्स भ्यालु इन नेपाल्स फ्युचर वर्कफोर्स’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिनेछ।

छलफलमा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाता संस्थाका प्रतिनिधिले नेपालको भविष्यको श्रमबजारमा आवश्यक जनशक्तिबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नेछन्।

विशेषगरी रोजगारदाताले कर्मचारीमा अपेक्षा गर्ने ज्ञान, व्यावहारिक सीप, सञ्चार क्षमता, नेतृत्व क्षमता, व्यावसायिक आचरण, समस्या समाधान गर्ने क्षमता र कार्यस्थलमा अनुकूलन हुन सक्ने दक्षताबारे छलफल हुनेछ।

यससँगै बदलिँदो रोजगार बजारको माग, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य तथा विद्यार्थीले सफल करियर निर्माण गर्न विकास गर्नुपर्ने क्षमताबारे अन्तरक्रिया गरिने केएमसीले जनाएको छ।

शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्य

काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वविद्यालयको औपचारिक पाठ्यक्रमसँगै समयसापेक्ष सीप, प्रविधिमैत्री शिक्षा र उद्योग–शिक्षा सहकार्यलाई केएमसीले प्राथमिकता दिँदै आएको बताएका छन्।

उनका अनुसार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा मात्र सीमित नराखी रोजगार बजारका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न कलेजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस्ता रोजगार मेलाले विद्यार्थीको शैक्षिक उपलब्धिलाई व्यावसायिक अवसरसँग जोड्नुका साथै रोजगारदातालाई आवश्यक जनशक्ति पहिचान गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ।

कसरी सहभागी हुने?

‘केएमसी जब फेयर–२०२६’ मा सहभागी हुन इच्छुक विद्यार्थी तथा युवाले केएमसीले उपलब्ध गराएको अनलाइन दर्ता लिङ्कमार्फत पूर्वदर्ता गर्नुपर्नेछ।  यहाँ क्लिक गर्नुहोस्  

सहभागीहरूले आफ्नो सीभी अद्यावधिक गरी शैक्षिक योग्यता, अनुभव, सीप र सम्पर्क विवरण स्पष्ट रूपमा उल्लेख गर्न सक्नेछन्। आफूले काम गर्न चाहेको क्षेत्र तथा पदबारे प्रारम्भिक जानकारी लिएर जाँदा सम्बन्धित कम्पनीका प्रतिनिधिसँग प्रभावकारी रूपमा संवाद गर्न सजिलो हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *