मानव अधिकार आयोगले अनुसन्धान फेलोसिप दिने, साउन २६ गतेसम्म आवेदन दिन सकिने
डिजिटल अधिकार, जलवायु न्याय, श्रमिक अधिकार, सुरक्षित आप्रवासनलगायत १० विषयमध्ये तीन विषयमा अनुसन्धान गराइने; साउन २६ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्न तीन जना मानव अधिकार रक्षकलाई अनुसन्धान फेलोसिप तथा अध्ययनवृत्ति प्रदान गर्ने भएको छ।
आयोगको केन्द्रीय कार्यालय, पुल्चोकले सार्वजनिक गरेको सूचनाअनुसार प्रस्तावित १० वटा विषयमध्ये तीनवटा छुट्टाछुट्टै विषयमा अनुसन्धान गराउन तीन जना अनुसन्धानकर्ता छनोट गरिनेछ। प्रत्येक फेलोसिपका लागि एक लाख २० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। पारिश्रमिकबाट प्रचलित नियमअनुसार कर कट्टी हुनेछ। फेलोसिपको अवधि तीन महिना रहनेछ।
कुन–कुन विषयमा अनुसन्धान गर्न सकिन्छ?
इच्छुक आवेदकले आयोगले निर्धारण गरेका निम्न १० विषयमध्ये आफूले अनुसन्धान गर्न चाहेको विषय स्पष्ट रूपमा आवेदन पत्रमा उल्लेख गर्नुपर्नेछ।
१. डिजिटल अधिकार
साइबर नीतिमा रहेका अन्तर, गोपनीयताको अधिकार, सूचनामा पहुँच तथा सीमान्तकृत समुदायको डिजिटल बहिष्करण।
२. जलवायु न्याय तथा वातावरणीय अधिकार
अधिकारमा आधारित दृष्टिकोण, विपद्का कारण हुने विस्थापन, वातावरणीय शासन तथा राष्ट्रिय रूपमा निर्धारित योगदान अर्थात् एनडीसी कार्यान्वयन।
३. व्यवसाय र मानव अधिकार
श्रम अधिकार, व्यावसायिक सुरक्षा, आपूर्ति शृङ्खलाको उत्तरदायित्व तथा अनौपचारिक अर्थतन्त्रमा कार्यरत श्रमिकका विषय।
४. प्रवासी श्रमिकको अधिकार
आन्तरिक तथा अन्तर्राष्ट्रिय आप्रवासनका जोखिम र प्रवासी श्रमिकको सामाजिक सुरक्षा।
५. सङ्क्रमणकालीन न्याय
पीडितको दृष्टिकोण, सत्य अन्वेषण तथा क्षतिपूर्तिको ढाँचा।
६. सीमान्तकृत समुदायको अधिकार
दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार।
७. आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
खाद्य सुरक्षा, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार तथा सामाजिक सुरक्षाको अधिकार।
८. लैङ्गिक तथा महिला अधिकार
लैङ्गिक हिंसा, महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि—सीडको कार्यान्वयन तथा महिला मानव अधिकार रक्षकको सुरक्षा।
९. स्थानीय तहको शासन तथा मानव अधिकार
नगरपालिका तथा स्थानीय तहबाट हुने सेवा प्रवाह, स्थानीय मानव अधिकार फोकल संयन्त्र र न्यायमा पहुँच।
१०. बालबालिकाको अधिकारसम्बन्धी विषय।
यीमध्ये आयोगले तीनवटा विषयमा अनुसन्धान गराउन तीन जना मात्र छनोट गर्ने जनाएको छ।
कसले आवेदन दिन पाउँछन्?
आवेदकले मानव अधिकार, कानून, समाजशास्त्र वा त्यससँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सोसरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ।
स्वतन्त्र रूपमा गुणात्मक तथा परिमाणात्मक अध्ययन–अनुसन्धान गर्न सक्ने, नीतिगत तथा विश्लेषणात्मक प्रतिवेदन तयार गर्न सक्ने र विभिन्न समुदाय तथा सरोकारवालासँग समन्वय तथा परामर्श गर्न सक्ने क्षमता आवश्यक पर्नेछ।
त्यस्तै, आवेदकमा प्रभावकारी सञ्चार सीप, विविधता व्यवस्थापन गरी काम गर्ने क्षमता तथा आवश्यकताअनुसार स्थलगत अध्ययन गर्न सक्ने अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ।
अनुसन्धानकर्ता, युवा तथा सीमान्तकृत समुदायका आवेदकलाई छनोटमा विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ।
छनोट भएका अनुसन्धानकर्ताले के गर्नुपर्छ?
छनोट भएका अनुसन्धानकर्ताले आयोगको सम्बन्धित महाशाखासँग समन्वय गरी तोकिएको विषयमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नुपर्नेछ।
अनुसन्धानपछि कम्तीमा १५ मिनेटको भिडियो सामग्री तयार गर्न वा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था छ। मानव अधिकार प्रवर्द्धनका लागि नवीन वा अद्वितीय काम पनि प्रस्ताव गर्न सकिनेछ।
अनुसन्धानको विस्तृत कार्यविवरण अर्थात् टीओआर आवेदक छनोट भएपछि दुवै पक्षबीचको छलफलका आधारमा निर्धारण गरिनेछ। अनुसन्धानअन्तर्गत तयार भएका सामग्री तथा प्रतिवेदनको प्रतिलिपि अधिकार राष्ट्रिय मानव अधिकार आयोगमा रहनेछ।
आवेदनसँग के–के बुझाउनुपर्छ?
इच्छुक तथा योग्य आवेदकले आफूले अनुसन्धान गर्न चाहेको विषय स्पष्ट खुलाएर निम्न कागजात बुझाउनुपर्नेछ:
- आवेदन पत्र अर्थात् कभर लेटर
- अद्यावधिक व्यक्तिगत विवरण—सीभी
- नेपाली नागरिकताको प्रमाणपत्र
- शैक्षिक योग्यताका प्रमाणपत्र
- कार्यक्षमता तथा कार्यानुभव पुष्टि गर्ने कागजात
एकभन्दा बढी फेलोसिप विषयमा आवेदन दिने व्यक्तिले प्रत्येक विषयका लागि छुट्टाछुट्टै आवेदन पत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
आवेदन कसरी दिने?
आवेदन राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा इमेलमार्फत बुझाउन सकिनेछ।
आवेदन दिने अन्तिम मिति २०८३ साउन २६ गते अर्थात् अगस्ट ११, २०२६ तोकिएको छ।
आयोगले आवेदकको शैक्षिक योग्यता, कार्यानुभव, कार्यक्षमता तथा सम्बन्धित विषयको दक्षताका आधारमा छनोट गर्नेछ। प्राप्त आवेदन स्वीकार वा अस्वीकार गर्ने तथा आवश्यकताअनुसार छनोट प्रक्रिया आंशिक वा पूर्ण रूपमा रद्द गर्ने अधिकार आयोगमा सुरक्षित रहने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि यस लिंकमा क्लिक गर्नुहोस्
सम्पर्क विवरण
कार्यालय: राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालय
ठेगाना: पुल्चोक, ललितपुर, कर्मचारी सञ्चय कोष भवन
फोन: ०१–५०१००१५
एक्सटेन्सन: १२३ र ११०
इमेल: [email protected]
