एक लाख बराबरको मल्टिमिडिया तालिम निःशुल्क, साउन २२ सम्म आवेदन

जीविको २०८३ साउन १९ गते १७:५४

काठमाडौं। सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता तालिमका लागि देशभरका पत्रकारबाट आवेदन माग गरेको छ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा सञ्चालन हुने तालिममा छनोट भएका पत्रकारले पूर्ण फेलोशिप प्राप्त गर्नेछन्। तालिमको नियमित शुल्क ९९ हजार रुपैयाँ भए पनि फेलोशिप प्राप्त गर्ने सहभागीले तालिम शुल्क तिर्नुपर्ने छैन।

तालिमका लागि आवेदन दिने अन्तिम मिति साउन २२ गते शुक्रबारसम्म तोकिएको छ। यसपटक प्राप्त भएका आवेदन सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने विभिन्न ब्याचका तालिमका लागि मान्य हुने जर्नलिजम एकेडेमीले जनाएको छ।

आवेदन दिएका पत्रकारमध्ये योग्य आवेदकलाई आवश्यकता र उपलब्धताअनुसार विभिन्न मिति तथा ब्याचमा सहभागी गराइनेछ। प्रत्येक ब्याचको तालिम सञ्चालन हुने मिति, स्थान र अन्य विवरण छनोट भएका सहभागीलाई पछि जानकारी गराइनेछ।

कसले आवेदन दिन सक्छन्?

तालिमका लागि पत्रकारितामा कम्तीमा तीन वर्षको अनुभव भएका नेपाली पत्रकारले आवेदन दिन सक्नेछन्।

यो मल्टिमिडिया पत्रकारितासम्बन्धी आधारभूत तालिम भएकाले मोबाइल पत्रकारिता वा मल्टिमिडिया सामग्री उत्पादनमा पहिले अनुभव नभएका तर सिक्न इच्छुक पत्रकारलाई पनि आवेदन दिन प्रोत्साहन गरिएको छ।

सहभागी छनोट गर्दा भौगोलिक, लैङ्गिक र संस्थागत विविधतालाई प्राथमिकता दिइने एकेडेमीले जनाएको छ। निःशुल्क तालिम भएकाले सामान्यतया एउटै सञ्चार संस्थाबाट एक जनाभन्दा बढी सहभागी छनोट नगरिने सूचनामा उल्लेख छ।

तालिममा के सिकाइन्छ?

तालिम मोबाइल पत्रकारिता अर्थात् ‘मोबाइल जर्नलिजम–मोजो’ र मल्टिमिडिया स्टोरीटेलिङमा केन्द्रित हुनेछ।

सहभागीले मोबाइल फोनलाई पत्रकारिताको प्रभावकारी उपकरणका रूपमा प्रयोग गरी गुणस्तरीय तस्बिर, अडियो र भिडियो सामग्री उत्पादन गर्ने सीप सिक्नेछन्।

तालिममा विशेषगरी निम्न विषयमा व्यावहारिक अभ्यास गराइनेछः

  • समाचार तथा फिचरका लागि तस्बिर, अडियो र भिडियो सङ्कलन
  • मोबाइलबाट अन्तर्वार्ता रेकर्डिङ
  • फ्रेमिङ र कम्पोजिसन
  • प्रकाशको उचित प्रयोग
  • तस्बिर, अडियो तथा भिडियो सम्पादन
  • समाचार वेबसाइट र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने तरिका
  • मल्टिमिडिया स्टोरीटेलिङ
  • फिल्ड रिपोर्टिङ र सामग्री योजना
  • डिजिटल प्रकाशन रणनीति
  • दर्शक तथा श्रोताको आवश्यकताअनुसार सामग्री तयार गर्ने विधि

सहभागीले सीमित स्रोतसाधनको प्रयोगबाट पनि गुणस्तरीय डिजिटल सामग्री उत्पादन, सम्पादन र प्रकाशन गर्ने अभ्यास गर्नेछन्। तालिम अवधिभर सहभागीले आफ्नै मल्टिमिडिया समाचार तथा कथा तयार गर्ने अवसरसमेत पाउनेछन्।

६+६+६’ मोडलमा तालिम

एकेडेमीले तालिमलाई आफ्नो विशिष्ट ‘६+६+६’ मोडलमा सञ्चालन गर्ने जनाएको छ।

पहिलो चरणमा लगातार ६ दिन प्रत्यक्ष भौतिक उपस्थितिमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कक्षा सञ्चालन हुनेछ।

त्यसपछि ६ सातासम्म अनलाइन अभ्यास र असाइनमेन्ट सञ्चालन गरिनेछ। यस अवधिमा सहभागीले अभ्यास तथा असाइनमेन्टका लागि प्रत्येक साता करिब ६ देखि ८ घण्टा समय दिनुपर्नेछ।

अन्तिम चरणमा पुनः ६ दिन प्रत्यक्ष कक्षा सञ्चालन हुनेछ। यस चरणमा थप व्यावहारिक अभ्यास, सामग्री उत्पादन र सम्पादनसम्बन्धी प्रशिक्षण दिइनेछ।

तालिम शुल्क नलाग्ने

तालिमको नियमित शुल्क ९९ हजार रुपैयाँ रहेको छ। तर छनोट भएका पत्रकारका लागि जर्मनीको इन्टरलिङ्क एकेडेमीले पूर्ण फेलोशिप उपलब्ध गराउने भएकाले सहभागीले तालिम शुल्क तिर्नुपर्ने छैन।

काठमाडौँ उपत्यकाबाहिरबाट आउने सहभागीले यातायात, आवास र अन्य व्यक्तिगत खर्च भने आफैँ बेहोर्नुपर्नेछ।

यद्यपि, दुर्गम क्षेत्रका, महिला तथा सीमान्तकृत समुदायका पत्रकारका लागि आवश्यकता र प्राथमिकताका आधारमा सीमित संख्यामा छात्रवृत्तिको व्यवस्था रहेको एकेडेमीले जनाएको छ।

आवेदन कसरी दिने

इच्छुक पत्रकारले आफ्नो अद्यावधिक बायोडाटा (CV) सहित अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन् । अनलाइन फारमको लिङ्क आवेदन सूचनाको अन्तिममा दिइएको छ ।

प्राप्त आवेदनको मूल्याङ्कन तालिम सहजकर्ता, जर्नलिजम एकेडेमी र इन्टरलिङ्क एकेडेमीका प्रतिनिधि सम्मिलित समितिले गर्नेछ।

तालिम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *