तीन जलविद्युत आयोजनाले मागे ५२ कर्मचारी
मनाङ मर्स्याङ्दीमा ३५, माथिल्लो त्रिशूली–१ मा १२ र माथिल्लो तमोर जलविद्युत आयोजनामा पाँच कर्मचारी माग; सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं। मनाङ, रसुवा र ताप्लेजुङ जिल्लामा निर्माणाधीन तथा निर्माण हुन लागेका तीन जलविद्युत आयोजनाका लागि विभिन्न प्राविधिक, व्यवस्थापकीय र दक्ष पदमा कुल ५२ जना कर्मचारी माग गरिएको छ।
जलविद्युत आयोजना निर्माणमा संलग्न सिनोहाइड्रो ब्युरो ७ कम्पनी लिमिटेड, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड र फेवा कन्स्ट्रक्सन प्रालिले व्यवस्थापक, परियोजना निर्देशक, इन्जिनियर, प्रशासन अधिकृत, टेक्निसियन, फोरम्यान तथा सुरक्षा अधिकृतलगायत पदमा आवेदन खुलाएका हुन्।
तीनवटै कम्पनीले २०८३ साउन १७ गते सूचना प्रकाशित गरेका छन्। सूचनाअनुसार योग्यता र अनुभव पुगेका उम्मेदवारले प्रकाशित मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ।
तीन आयोजनामा मागिएको कुल जनशक्ति
- मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना: ३५ जना
- माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना: १२ जना
- माथिल्लो तमोर जलविद्युत आयोजना: ५ जना
- तीन आयोजनामा कुल माग: ५२ जना
तीनवटै सूचनामा समेटिएका पदगत समूह जोड्दा २७ प्रकारका पदमा कर्मचारी माग गरिएको छ।
मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनामा ३५ जना माग
मनाङ जिल्लाका नासोँ र चामे गाउँपालिकामा निर्माण हुन लागेको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि सिनोहाइड्रो ब्युरो ७ कम्पनी लिमिटेडले १७ प्रकारका पदमा ३५ जना कर्मचारी माग गरेको छ।
माग गरिएका पद र संख्या
१. कन्ट्र्याक्ट विभाग व्यवस्थापक– १ जना
२. लजिस्टिक तथा सामग्री विभाग व्यवस्थापक– १ जना
३. सहायक टोलीका टिम लिडर– १ जना
४. एचएसई विभाग व्यवस्थापक– २ जना
५. क्यासियर– १ जना
६. सेफ्टी इन्जिनियर– ३ जना
७. सर्भे इन्जिनियर– २ जना
८. सिभिल इन्जिनियर– ३ जना
९. मेकानिकल तथा इलेक्ट्रिकल इन्जिनियर– २ जना
१०. डिजाइन इन्जिनियर– २ जना
११. साइट टेक्निसियन– ५ जना
१२. मेजरमेन्ट इन्जिनियर– २ जना
१३. टनेल वर्क्सका लागि साइट व्यवस्थापकका सहायक– २ जना
१४. अर्थ वर्क्सका लागि साइट व्यवस्थापकका सहायक– २ जना
१५. जेनेरेटरसम्बन्धी प्रमुख इन्जिनियरका सहायक– २ जना
१६. एचडब्ल्यू अर्थात् स्पिलवे गेट, स्टिल पेनस्टकलगायतका कामका लागि साइट व्यवस्थापकका सहायक– २ जना
१७. सुरक्षा तथा स्वास्थ्य अर्थात् दुर्घटना रोकथाम अधिकृत– २ जना
यी सबै पदमा गरी कुल ३५ जना कर्मचारी माग गरिएको हो।
व्यवस्थापकीय पदको योग्यता
कन्ट्र्याक्ट विभाग व्यवस्थापक, लजिस्टिक तथा सामग्री विभाग व्यवस्थापक, सहायक टोलीका टिम लिडर र एचएसई विभाग व्यवस्थापक पदका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यता आवश्यक छ।
सम्बन्धित क्षेत्रमा दुईदेखि तीन वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले यी पदमा आवेदन दिन सक्नेछन्।
क्यासियरको योग्यता
क्यासियर पदका लागि स्नातक, डिप्लोमा, एसोसिएट डिग्री वा सोसरहको शैक्षिक योग्यता आवश्यक छ। उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा दुईदेखि तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
इन्जिनियरिङ पदको योग्यता
सेफ्टी, सर्भे, सिभिल, मेकानिकल तथा इलेक्ट्रिकल, डिजाइन र मेजरमेन्ट इन्जिनियर पदका लागि सम्बन्धित विषयमा बीई उत्तीर्ण गरी एकदेखि तीन वर्ष काम गरेको अनुभव आवश्यक छ।
एसोसिएट डिग्री भएका उम्मेदवारको हकमा सम्बन्धित क्षेत्रमा चार वर्षभन्दा बढीको अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।
टेक्निसियन तथा सहायक पदको योग्यता
साइट टेक्निसियन तथा विभिन्न साइट व्यवस्थापक र प्रमुख इन्जिनियरका सहायक पदका लागि डिप्लोमा, व्यावसायिक तालिम, पेसागत योग्यता प्रमाणपत्र, माध्यमिक वा उच्च माध्यमिक तह अथवा सोसरहको योग्यता आवश्यक छ।
उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा दुईदेखि तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
चिनियाँ भाषा जान्नेलाई प्राथमिकता
सिनोहाइड्रोले चिनियाँ भाषाको ज्ञान भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने जनाएको छ।
कार्यस्थल, अवधि र तलब
छनोट भएका कर्मचारीले काठमाडौं तथा आयोजना स्थलमा काम गर्नुपर्नेछ। कार्यरत रहने अवधि एक वर्ष तोकिएको छ। तलब आपसी समझदारीका आधारमा निर्धारण गरिने सूचनामा उल्लेख छ।
सम्पर्क ठेगाना:
सिनोहाइड्रो ब्युरो ७ कम्पनी लिमिटेड
मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना
पुल्चोक–३, ललितपुर
इमेल: [email protected]
माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा १२ जना माग
रसुवा जिल्लाको मैलुङमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडले सात प्रकारका पदमा १२ जना कर्मचारी माग गरेको छ।
माग गरिएका पद र संख्या
१. जनरल म्यानेजर– १ जना
२. डिजाइन म्यानेजर– १ जना
३. सिभिल इन्जिनियर– २ जना
४. प्रशासन अधिकृत– ३ जना
५. गुणस्तर विश्लेषण अधिकृत– २ जना
६. कन्स्ट्रक्सन फोरम्यान– २ जना
७. ब्लास्टर फोरम्यान– १ जना
यी पदमा गरी कुल १२ जना कर्मचारी माग गरिएको छ।
जनरल म्यानेजरको योग्यता
जनरल म्यानेजर पदका लागि स्नातक, एसोसिएट डिग्री वा सोसरहको योग्यता आवश्यक छ। उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा सम्बन्धित काम गरेको कम्तीमा आठ वर्षको अनुभव हुनुपर्नेछ।
डिजाइन म्यानेजरको योग्यता
डिजाइन म्यानेजर पदका लागि स्नातक, एसोसिएट डिग्री वा सोसरह उत्तीर्ण गरी जलविद्युत निर्माण कम्पनीमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव आवश्यक छ।
सिभिल इन्जिनियरको योग्यता
सिभिल इन्जिनियर पदका लागि स्नातक, एसोसिएट डिग्री वा सोसरहको शैक्षिक योग्यता आवश्यक छ। उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा कम्तीमा चार वर्षको अनुभव हुनुपर्नेछ।
प्रशासन र गुणस्तर विश्लेषण अधिकृत
प्रशासन अधिकृत तथा गुणस्तर विश्लेषण अधिकृत पदका लागि एसोसिएट डिग्री, डिप्लोमा, उच्च माध्यमिक तह वा सोसरहको योग्यता आवश्यक छ।
यी पदका उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
फोरम्यान पदको योग्यता
कन्स्ट्रक्सन फोरम्यान र ब्लास्टर फोरम्यान पदका लागि व्यावसायिक तालिम, पेसागत योग्यता प्रमाणपत्र, माध्यमिक वा उच्च माध्यमिक तह अथवा सोसरहको योग्यता आवश्यक छ।
उम्मेदवारसँग जलविद्युत निर्माण कम्पनीमा दुईदेखि तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।
कार्यस्थल, अवधि र तलब
छनोट भएका कर्मचारीले आयोजना स्थलमा काम गर्नुपर्नेछ। रोजगारीको अवधि एक वर्ष रहने र तलब आपसी समझदारीका आधारमा निर्धारण गरिने सूचनामा उल्लेख छ।
सम्पर्क ठेगाना:
पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड
झम्सीखेल, ललितपुर
इमेल: [email protected]
माथिल्लो तमोर जलविद्युत आयोजनामा पाँच जना माग
फेवा कन्स्ट्रक्सन प्रालिले ताप्लेजुङ जिल्लामा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाका लागि तीन प्रकारका पदमा पाँच जना कर्मचारी माग गरेको छ।
कम्पनीले अनुभवी प्राविधिक तथा दक्ष जनशक्ति माग गर्दै परियोजना निर्देशक, वरिष्ठ इन्जिनियर र निर्माण व्यवस्थापक पदमा आवेदन खुलाएको हो।
माग गरिएका पद र संख्या
१. परियोजना निर्देशक– १ जना
२. वरिष्ठ इन्जिनियर– २ जना
३. निर्माण व्यवस्थापक– २ जना
यी तीन पदमा गरी कुल पाँच जना कर्मचारी नियुक्त गरिने सूचनामा उल्लेख छ।
परियोजना निर्देशकको योग्यता
परियोजना निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ, निर्माण व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोसरहको शैक्षिक योग्यता आवश्यक छ।
उम्मेदवारसँग जलविद्युत निर्माण आयोजनामा कम्तीमा १० वर्षको अनुभव हुनुपर्नेछ। विशेषगरी टीबीएम, बाँध, सुरुङ तथा भूमिगत संरचनासम्बन्धी निर्माण परियोजनाको अनुभव माग गरिएको छ।
उम्मेदवारसँग १०० मेगावाटभन्दा ठूला अन्तर्राष्ट्रिय जलविद्युत आयोजना व्यवस्थापन गरेको अनुभवसमेत हुनुपर्ने सूचनामा उल्लेख छ।
वरिष्ठ इन्जिनियरको योग्यता
वरिष्ठ इन्जिनियर पदका लागि इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारसँग जलविद्युत आयोजनामा कम्तीमा पाँच वर्षको सम्बन्धित कार्यानुभव आवश्यक छ। अन्तर्राष्ट्रिय आयोजनामा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइएको छ।
निर्माण व्यवस्थापकको योग्यता
निर्माण व्यवस्थापक पदका लागि इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारसँग निर्माण व्यवस्थापनमा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक छ। अन्तर्राष्ट्रिय परियोजनामा काम गरेको पूर्वअनुभवसमेत माग गरिएको छ।
आवेदनमा पेस गर्नुपर्ने कागजात
फेवा कन्स्ट्रक्सनले टीबीएमसम्बन्धी अनुभव तथा अन्तर्राष्ट्रिय आयोजनाको अनुभव भएका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।
आवेदनका साथ निम्न कागजात पठाउनुपर्नेछ:
- अद्यावधिक व्यक्तिगत विवरण अर्थात् बायोडाटा
- शैक्षिक योग्यताका प्रमाणपत्र
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
आवेदन पठाउने इमेल: [email protected]
हेर्नुहोस् सूचना

