वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै, घरबाटै प्रगति हेर्न सकिने

जीविको २०८३ साउन ५ गते १९:३७

काठमाडौं। वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर गरिएको ठगी, म्यानपावर कम्पनी वा एजेन्टबाट भएको अनियमितता तथा रोजगार सम्झौता उल्लङ्घनसम्बन्धी उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले पीडितलाई उजुरी दर्ता गर्न काठमाडौंसम्म आउनुपर्ने बाध्यता कम गर्न अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएका हुन्। विभागको आधिकारिक पोर्टलमार्फत मोबाइल वा कम्प्युटर प्रयोग गरी घरबाटै उजुरी पेस गर्न सकिन्छ।

विभागको अनलाइन प्रणालीमा वैदेशिक रोजगारका नाममा भएको ठगी, इजाजतप्राप्त म्यानपावर कम्पनी वा रोजगारदाताबाट रोजगार सम्झौताको उल्लङ्घन तथा अन्य अनियमिततासम्बन्धी उजुरी दर्ता गर्न सकिने उल्लेख छ।

अनलाइनबाट उजुरी कसरी दिने?
अनलाइन उजुरी दिन पीडितले वैदेशिक रोजगार विभागको आधिकारिक उजुरी पोर्टलमा गएर पहिले आफ्नो खाता खोल्नुपर्छ। खाता खोल्दा पूरा नाम तथा इमेल वा मोबाइल नम्बरमध्ये कम्तीमा एउटा विवरण अनिवार्य रूपमा राख्नुपर्छ।

उजुरी दर्ता गर्ने आधिकारिक वेबसाइट:
https://ujuri.dofe.gov.np/
मोबाइल नम्बर प्रयोग गर्दा ९ बाट सुरु हुने १० अङ्कको नेपाली मोबाइल नम्बर राख्नुपर्ने व्यवस्था छ। पासवर्ड कम्तीमा आठ अक्षरको हुनुपर्ने र त्यसमा एउटा ठूलो अक्षर, एउटा अङ्क तथा एउटा विशेष चिन्ह समावेश गर्नुपर्ने पोर्टलमा उल्लेख छ।

खाता बनाएपछि पीडितले ठगी भएको घटना, संलग्न व्यक्ति, एजेन्ट वा संस्थाको विवरण तथा आफूसँग उपलब्ध प्रमाणहरू समावेश गरी उजुरी पेस गर्न सक्छन्।
उजुरीसँग रकम बुझाएको रसिद, बैंक भौचर, अनलाइन भुक्तानीको विवरण, रोजगार सम्झौता, विज्ञापन, राहदानी वा भिसासम्बन्धी कागजात, मोबाइल सन्देश, इमेल, सामाजिक सञ्जालमा भएको कुराकानी, अडियो, तस्बिर वा अन्य उपलब्ध प्रमाण राख्दा अनुसन्धानमा सहयोग पुग्न सक्छ।

उजुरी दर्तापछि म्यासेज र इमेल आउने
अनलाइनबाट उजुरी पेस भएपछि विभागको सम्बन्धित टोलीले उजुरी र संलग्न प्रमाणको अध्ययन गर्नेछ। उजुरी दर्ता प्रक्रिया अगाडि बढेपछि उजुरीकर्तालाई मोबाइल सन्देश वा इमेलमार्फत जानकारी पठाइने व्यवस्था गरिएको छ।

उजुरीकर्ताले प्राप्त गरेको ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर आफ्नो उजुरीको अवस्था तथा कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी अनलाइनबाटै हेर्न सक्नेछन्। यसले उजुरीको अवस्था बुझ्न पटकपटक विभागमा फोन गर्न वा काठमाडौं आउनुपर्ने समस्या कम गर्ने अपेक्षा गरिएको छ।

विभागका अनुसार साउन १ गतेदेखि प्रणाली पूर्ण रूपमा लागू भएपछि सुरुका चार दिनमा अनलाइनमार्फत १४ वटा उजुरी दर्ता भएका थिए। विभागमा कागजात लिएर आउने सेवाग्राहीको उजुरीसमेत कर्मचारीले कार्यालयबाटै अनलाइन प्रणालीमा प्रविष्ट गरिरहेको जनाइएको छ।

उजुरी गर्दा प्रमाण सुरक्षित राख्न आग्रह
वैदेशिक रोजगारका नाममा ठगीमा परेका व्यक्तिले पैसा दिएको प्रमाण, सम्बन्धित व्यक्तिको नाम र सम्पर्क विवरण, म्यानपावर वा एजेन्टको जानकारी तथा भएका सम्पूर्ण कुराकानी सुरक्षित राख्नुपर्छ।
अनलाइनमा उजुरी पेस गरेको मात्र आधारमा आरोप प्रमाणित हुने होइन। विभागले उजुरी र प्रमाणको अध्ययन गरेपछि आवश्यक दर्ता, अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउनेछ। त्यसैले उजुरीमा सही विवरण दिनु र उपलब्ध प्रमाण स्पष्ट रूपमा पेस गर्नु महत्त्वपूर्ण हुन्छ।

वैदेशिक रोजगार विभागको आधिकारिक प्रणालीले ठगीमा परेका श्रमिकलाई उजुरी दर्ता, अभिलेखीकरण र उजुरीको प्रगति अनुगमन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
पीडितले वैदेशिक रोजगार विभागको आधिकारिक उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीमा गएर मोबाइल वा कम्प्युटरबाट उजुरी दर्ता गर्न सक्छन्।

उजुरी दर्ता गर्ने आधिकारिक वेबसाइट:
https://ujuri.dofe.gov.np/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित