बागमती प्रदेशका युवाका लागि ‘युथ इनोभेसन च्यालेन्ज’, साउन ४ सम्म आवेदन दिन सकिने
काठमाडौं। जलवायु कार्य, हरित उद्यम र सर्कुलर इकोनोमीसँग सम्बन्धित नवीन सोच भएका बागमती प्रदेशका युवाका लागि ‘Youth Innovation Challenge 2026’ खुला भएको छ।
DanChurchAid (DCA) Nepal ले आयोजना गर्न लागेको यो ‘च्यालेन्ज”मा बागमती प्रदेशका युवाहरूले आफ्नो नवीन व्यावसायिक वा सामाजिक उद्यमसम्बन्धी अवधारणा पेश गर्न सक्नेछन्। आवेदन २० जुलाई २०२६ सम्म दिन सकिनेछ।
यो ‘च्यालेन्ज’को उद्देश्य युवाहरूलाई जलवायु उत्थानशीलता, हरित उद्यमशीलता र सर्कुलर इकोनोमी अभ्याससँग जोडिएका दिगो समाधान विकास गर्न प्रोत्साहन गर्नु हो।
कसले आवेदन दिन पाउँछन्?
यसमा १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूले आवेदन दिन सक्नेछन्। महिला आवेदकको हकमा भने ४० वर्षसम्मका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।
युवाद्वारा सञ्चालित स्टार्टअप, उद्यम तथा सामाजिक उद्यमहरूले पनि यसमा आवेदन दिन सक्नेछन्। महिला नेतृत्वमा रहेका, जलवायु–उत्तरदायी तथा सामाजिक रूपमा समावेशी पहलहरूलाई प्राथमिकता दिइनेछ।
आवेदन समूहगत रूपमा दिनुपर्नेछ। प्रत्येक समूहमा कम्तीमा एक जना महिला सदस्य अनिवार्य रूपमा समावेश हुनुपर्नेछ।
कुन विषयमा आवेदन दिन सकिन्छ?
आवेदकहरूले निम्नमध्ये एक वा बढी विषयगत क्षेत्रमा आफ्नो नवीन सोच वा उद्यम अवधारणा पेश गर्न सक्नेछन्।
पहिलो, दिगो सहरी तथा समुदायमा आधारित समाधान। दोस्रो, हरित उद्यम र हरित रोजगारी। तेस्रो, सर्कुलर इकोनोमी अर्थात् स्रोत, सामग्री र उत्पादनको पुनःप्रयोग, पुनर्चक्रण तथा दिगो उपयोगसँग सम्बन्धित समाधान।
आवेदन कसरी दिने?
आवेदकहरूले बढीमा दुई पृष्ठको अवधारणा पत्र तयार गरी पठाउनुपर्नेछ। अवधारणा पत्रमा आफ्नो व्यावसायिक वा सामाजिक नवप्रवर्तन विचार, त्यसको जलवायु कार्य, हरित उद्यम र सर्कुलर इकोनोमीसँगको सम्बन्ध स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
साथै, DCA Nepal बाट प्राप्त हुने सहयोगले उक्त पहलको वृद्धि, दिगोपन वा विस्तारमा कसरी योगदान पुर्याउँछ भन्ने विषय पनि अवधारणा पत्रमा समावेश गर्नुपर्नेछ।
सबै आवेदन इमेलमार्फत [email protected] मा पठाउनुपर्नेछ।
छनोट प्रक्रिया कसरी हुन्छ?
पहिलो चरणमा खुला आवेदन आह्वान गरिनेछ। त्यसपछि प्राप्त आवेदनहरूको समीक्षा गरी छनोट गरिनेछ। छनोट भएका सहभागीहरूले मेन्टरसिप, प्राविधिक मार्गदर्शन र नेटवर्किङ सहयोग प्राप्त गर्नेछन्।
अन्तिम चरणमा छनोट भएका सहभागीहरूले निर्णायक मण्डल र सरोकारवालासमक्ष आफ्नो नवीन विचार प्रस्तुत गर्नेछन्। उत्कृष्ट नवप्रवर्तनलाई अगस्ट २०२६ को अन्त्यमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सम्मान र पुरस्कार प्रदान गरिनेछ।
छनोटका आधार के हुन्?
आवेदनहरूको मूल्यांकन नवीनता र सिर्जनशीलता, चुनौतीका विषयसँगको सान्दर्भिकता, कार्यान्वयन सम्भाव्यता, दिगोपन, सामाजिक समावेशिता र लैंगिक उत्तरदायित्वका आधारमा गरिनेछ।
विजेताले के सहयोग पाउँछन्?
छनोट भएका विजेताले नवप्रवर्तन विकासका लागि बीउ सहयोग, प्राविधिक मेन्टरिङ तथा कोचिङ, नेटवर्किङ र साझेदारीको अवसर प्राप्त गर्नेछन्। साथै, DCA Nepal र साझेदार सञ्जालमार्फत उनीहरूको कामलाई थप दृश्यता प्रदान गरिनेछ।
कार्यक्रमको समयतालिका
DCA Nepal ले २६ जुन २०२६ मा यो चुनौती घोषणा गरेको हो। आवेदन दिने अन्तिम मिति २० जुलाई २०२६ तोकिएको छ। आवेदनहरूको छनोट प्रक्रिया अगस्ट २०२६ को पहिलो साता हुनेछ। छनोट भएका सहभागीलाई अगस्टको मध्य साता जानकारी दिइनेछ। अन्तिम पिच तथा पुरस्कार कार्यक्रम अगस्ट २०२६ को अन्त्यमा आयोजना
गरिनेछ।
