अब पोखराबाटै दैनिक दुबई उडान हुने

जीविको २०८३ जेठ २७ गते १७:२६

पोखराबाट दुबईका लागि फ्लाई दुबईको दैनिक उडान सेप्टेम्बर २३ देखि सुरु हुने तयारी

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने प्रयासले नयाँ चरणमा प्रवेश गरेको छ। पोखरा–दुबई रुटमा फ्लाई दुबईले दैनिक उडान सञ्चालन गर्ने तालिका स्वीकृत भएको विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ र सेप्टेम्बर २३ देखि दैनिक उडान सुरु गर्ने तयारी छ। उनले फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत भएको बताएका छन्।

यसअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी पक्षबारे अध्ययन गरेको थियो। उक्त अध्ययनपछि सेप्टेम्बरदेखि दैनिक उडान सञ्चालनको सम्भावना अघि बढेको जनाइएको थियो।

फ्लाई दुबईका Aviation Security Vice President Adrian Lukasz ले केही दिनअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेका थिए। उक्त भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।

तर टिकट बुकिङबारे अझै कुर्नुपर्ने

फ्लाई दुबईको आधिकारिक वेबसाइटमा हाल नेपालअन्तर्गत काठमाडौं गन्तव्य मात्रै देखिएको छ, पोखरा अझै सूचीमा देखिएको छैन। त्यसैले यात्रुहरूले टिकट बुकिङ, उडान समय, भाडादर र अन्तिम तालिका सम्बन्धी जानकारीका लागि फ्लाई दुबई, विमानस्थल वा आधिकारिक ट्राभल एजेन्टबाट थप पुष्टि गर्नुपर्ने हुन्छ।

पोखराबाट दुबईका लागि नियमित उडान सफल रूपमा सञ्चालन हुन सकेमा यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्रै होइन, नेपालको पर्यटन र क्षेत्रीय हवाई कनेक्टिभिटीका लागि पनि महत्वपूर्ण उपलब्धि हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *