त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाँदै गरेका यात्रुहरु
तस्विर: सुप्रिम बिष्ट/जीविको
यूएई रोजगारीमा ठगीबाट कसरी बच्ने? नेपाली दूतावासले जारी गर्यो सूचना
दुबई — नेपाली महावाणिज्यदूतावास, दुबईले भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा नेपाली नागरिकमाथि ठगीका घटना बढिरहेको भन्दै रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) आउँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
महावाणिज्यदूतावासले २०८३ भदौ २६ गते अर्थात् सेप्टेम्बर ११, २०२६ मा सूचना जारी गर्दै संस्थागत, वैधानिक र सुरक्षित माध्यमबाट यूएईमा रोजगारीका लागि आउने व्यवस्था हुँदाहुँदै पनि उल्लेख्य संख्यामा नेपाली नागरिक असुरक्षित बाटो प्रयोग गरी यूएई आउने र ठगीमा पर्ने गरेको जनाएको छ।
यसरी भइरहेको छ ठगी
महावाणिज्यदूतावासका अनुसार केही नेपाली नागरिकले नेपालमै दलाललाई लाखौँ रुपैयाँ बुझाएर अन्य मुलुकको भिजिट भिसामा काठमाडौंबाट यात्रा सुरु गर्ने गरेका छन्। उनीहरू शारजाह वा दुबईलाई ट्रान्जिटका रूपमा प्रयोग गर्छन्, तर भिसा लागेको भनिएको मुलुकतर्फ नगई व्यक्तिगत रोजगार भिसा प्रयोग गरेर यूएई प्रवेश गर्ने गरेका छन्।
यूएई पुगेपछि उनीहरूले आफूलाई बोलाउने भनिएको कम्पनीसँग सम्पर्क गर्न नसक्ने, कम्पनीले वास्ता नगर्ने वा काम नै उपलब्ध नगराउने समस्या भोगिरहेका छन्। यसका कारण नेपाली नागरिक यूएईमा अलपत्र पर्ने गरेको महावाणिज्यदूतावासले जनाएको छ।
कतिपय अवस्थामा ठगी गर्ने उद्देश्यले मात्रै व्यक्तिगत रोजगार भिसा निकालिएको र त्यसकै आधारमा नेपाली नागरिकलाई यूएई पुर्याइएको पाइएको छ।
भिजिट भिसामा आएर काम खोज्दा थप जोखिम
केही नेपाली नागरिक नेपालमा ठूलो रकम बुझाएर यूएईको भिजिट भिसा लिने र यूएई पुगेपछि रोजगारी खोज्ने उद्देश्यले आउने गरेका छन्। तर यहाँ आएपछि उनीहरू पुनः दलालको सम्पर्कमा परी थप ठगी र कानुनी समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ।
यसरी ठगी तथा कानुनी झमेला भोगेका नेपाली नागरिकबाट महावाणिज्यदूतावासमा उल्लेख्य संख्यामा गुनासा प्राप्त भइरहेको सूचनामा उल्लेख छ।
रोजगारीका लागि कसरी यूएई आउने?
महावाणिज्यदूतावासले रोजगारीका लागि यूएई आउन चाहने नेपाली नागरिकलाई भिजिट भिसामा नआउन आग्रह गरेको छ। रोजगारीका लागि आउँदा सरकारले तोकेको प्रक्रिया पूरा गरी संस्थागत रोजगार भिसाको वैधानिक र सुरक्षित बाटो अपनाउनुपर्ने दूतावासको सुझाव छ।
व्यक्तिगत रोजगार भिसामा यूएई आउनुअघि रोजगारदाता कम्पनी, कामको प्रकृति, तलब, सुविधा, करार अवधि र कम्पनीको आधिकारिकताबारे राम्रोसँग बुझ्न आवश्यक छ।
महावाणिज्यदूतावासले विशेषगरी निम्न अवस्थाबाहेक व्यक्तिगत रोजगार भिसामा यूएई नआउन अनुरोध गरेको छ:
- स्थापित र भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता तथा अनुभवसँग मिल्ने उच्च सीपयुक्त काम भएमा
- आफूले यसअघि रोजगारी गरिसकेको र विश्वास गर्न सकिने कम्पनीको काम भएमा
- यूएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरेर खोजिदिएको विश्वसनीय कम्पनीको काम भएमा
यी अवस्थाबाहेक दलाल वा अपरिचित व्यक्तिको विश्वासमा व्यक्तिगत रोजगार भिसा लिएर यूएई आउनु जोखिमपूर्ण हुन सक्ने दूतावासको चेतावनी छ।
यात्रा गर्नुअघि के कुरामा ध्यान दिने?
यूएईमा रोजगारीका लागि जाने व्यक्तिले रकम बुझाउनुअघि र यात्रा गर्नुअघि रोजगारदाता कम्पनीको वास्तविकता, कामको विवरण र भिसाको प्रकार सुनिश्चित गर्नुपर्छ। रोजगारी गर्ने उद्देश्य भए पनि भिजिट भिसामा यात्रा गर्नु हुँदैन।
दलालले दिएको मौखिक आश्वासनमा मात्र विश्वास नगरी रोजगार सम्झौता, तलब तथा सुविधा, कार्यस्थल, कम्पनीको नाम र सम्पर्क विवरण स्पष्ट रूपमा बुझ्नुपर्छ। आफूले बुझाएको रकमको आधिकारिक रसिद तथा रोजगारीसम्बन्धी सबै कागजात सुरक्षित राख्नुपर्छ।
ठगी वा समस्यामा परे कहाँ सम्पर्क गर्ने?
यूएईमा रोजगारीसम्बन्धी ठगीमा परेका, कम्पनीको सम्पर्कमा पुग्न नसकेका वा अलपत्र परेका नेपाली नागरिकले नेपाली महावाणिज्यदूतावास, दुबईमा सम्पर्क गर्न सक्छन्।
नेपाली महावाणिज्यदूतावास, दुबई
ठेगाना: अबु हेल स्ट्रिट, भिल्ला नम्बर १०९, दुबई
टेलिफोन: ०४–२६९९१७१
ह्वाट्सएप: +९७१ ५० ३९४ ९३०४
इमेल: [email protected]
वैकल्पिक इमेल: [email protected]
वेबसाइट: dxb.nepalconsulate.gov.np
महावाणिज्यदूतावासले भिजिट भिसा तथा अविश्वसनीय व्यक्तिगत रोजगार भिसाका नाममा हुने ठगीबाट जोगिन सचेत रहनुको विकल्प नभएको स्पष्ट पारेको छ।
