वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? यस्तो छ नयाँ व्यवस्था
कामको प्रकृति स्पष्ट नभए मागपत्र प्रमाणीकरण नहुने
काम कम्पनीभित्र वा बाहिर कहाँ गर्नुपर्ने हो खुलाउनुपर्ने, दुवै प्रकारको काम भए कार्यसमयसमेत उल्लेख गर्नुपर्ने
काठमाडौं। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण गर्दा अब कामको विस्तृत कार्य विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले साउन १३ गते बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ व्यवस्था लागू गरेको हो। साउन १४ गते बिहीबारदेखि लागू भएको व्यवस्थाअनुसार रोजगारदाताले श्रमिकले विदेश पुगेपछि गर्नुपर्ने कामको प्रकृति र जिम्मेवारी स्पष्ट रूपमा खुलाउनुपर्नेछ।
श्रमिकले छुट्टै विवरण बुझाउनुपर्ने होइन
यो व्यवस्थाको अर्थ वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकले आफैँले छुट्टै ‘जब डिस्क्रिप्सन’ तयार गरी मन्त्रालयमा बुझाउनुपर्ने भन्ने होइन।
गन्तव्य देशको रोजगारदाता कम्पनीबाट आउने मागपत्र प्रमाणीकरण गर्दा त्यसमा श्रमिकले गर्नुपर्ने कामको विस्तृत विवरण समावेश गर्नुपर्ने हो। रोजगारदाताले दिएको विवरणका आधारमा नेपाली नियोग तथा सम्बन्धित निकायले मागपत्र जाँच गर्नेछन्। मागपत्र प्रमाणीकरण भएपछि मात्रै वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीले कामदार छनोट तथा विदेश पठाउने प्रक्रियाका लागि पूर्वस्वीकृति पाउने व्यवस्था छ।
के–के विवरण खुलाउनुपर्छ?
नयाँ व्यवस्थाअनुसार रोजगारदाताले काम कम्पनीको भवन वा परिसरभित्र गरिने ‘इनडोर’ काम हो अथवा कम्पनीबाहिर वा खुला क्षेत्रमा गरिने ‘आउटडोर’ काम हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ।
एउटै श्रमिकले इनडोर र आउटडोर दुवै प्रकारका काम गर्नुपर्ने भए कुन काम कति समय गर्नुपर्ने हो भन्ने कार्यसमयसमेत उल्लेख गर्नुपर्नेछ। कामको विस्तृत विवरण नखुलेको मागपत्र अब प्रमाणीकरण नगरिने मन्त्रालयले जनाएको छ।
यसअघि मागपत्रमा ‘लेबर’, ‘क्लिनर’ वा अन्य पदको सामान्य नाम मात्र उल्लेख गरिएको अवस्थामा पनि प्रमाणीकरण हुने गरेको थियो। नयाँ व्यवस्थापछि पदको नाम मात्रै लेखेर पुग्ने छैन। श्रमिकले दैनिक रूपमा गर्नुपर्ने वास्तविक काम र कामको प्रकृति स्पष्ट हुनुपर्नेछ।
पारिश्रमिक र सुविधाको विवरण पनि जाँचिने
कामको विस्तृत विवरणसँगै रोजगारदाताले प्रस्ताव गरेको पारिश्रमिक, सेवा–सर्त, आवास, अन्य सुविधा, कार्य वातावरण र रोजगार सम्झौताका पक्षहरूको जाँच पनि यथावत् रहनेछ।
यी विषय ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ अनुसार परीक्षण तथा प्रमाणीकरण गरिँदै आएका छन्। निर्देशिकाअनुसार रोजगारदाता कम्पनीको वैधानिकता, कार्यस्थल, न्यूनतम पारिश्रमिक, श्रमिकको आवास, स्वास्थ्य तथा सुरक्षा र रोजगारदाताको विगतको अवस्थासमेत जाँच गर्न सकिन्छ।
सम्झौताभन्दा फरक काम लगाउने जोखिम घट्ने अपेक्षा
मन्त्रालयले नयाँ व्यवस्थाबाट कामको विवरण स्पष्ट नभएका कारण नेपाली श्रमिकमाथि हुन सक्ने शोषण, ठगी र ज्यादती न्यूनीकरण हुने अपेक्षा गरेको छ।
कामको पद मात्र लेखिएको तर वास्तविक जिम्मेवारी नखुलाइएको अवस्थामा विदेश पुगेपछि श्रमिकले अपेक्षा गरेभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने जोखिम रहन्छ। विस्तृत कार्य विवरण अनिवार्य हुँदा कामदार, म्यानपावर कम्पनी, रोजगारदाता र प्रमाणीकरण गर्ने निकायबीच जिम्मेवारी स्पष्ट हुने मन्त्रालयको विश्वास छ।
विद्यमान कानुनमा के छ?
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २५ अनुसार रोजगारदाता वा उसको प्रतिनिधि र कामदार तथा म्यानपावर कम्पनी र कामदारबीच विदेश प्रस्थान गर्नुअघि रोजगार करार हुनुपर्ने व्यवस्था छ।
करार गर्नुअघि सम्बन्धित देशमा श्रमिकको सुरक्षा, रोजगारीका सेवा–सर्त, दुवै पक्षले पालना गर्नुपर्ने सर्त र श्रमिकले पाउने पारिश्रमिकबारे स्पष्ट रूपमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ। उक्त करार नेपाली भाषामा अनुवाद गरी एक प्रति कामदारलाई उपलब्ध गराउनुपर्ने पनि ऐनमा उल्लेख छ। नयाँ कार्य विवरणसम्बन्धी व्यवस्थाले यही कानुनी प्रावधानलाई थप स्पष्ट र प्रभावकारी बनाउन सहयोग गर्ने देखिन्छ।
विदेश जाने श्रमिकले के जाँच गर्ने?
वैदेशिक रोजगार विभागले श्रमिकलाई विदेश जानुअघि आफू जाने देश, कम्पनी, कामको पद तथा वास्तविक जिम्मेवारी, तलबभत्ता, खाना र आवास, दैनिक कार्यसमय, ओभरटाइम सुविधा तथा करार अवधिबारे राम्रोसँग बुझ्न आग्रह गर्दै आएको छ।
विभागका अनुसार सबै विवरण चित्त बुझेपछि मात्र सम्झौतामा हस्ताक्षर गर्नुपर्छ र हस्ताक्षर गरिएको करारपत्रको एक प्रति आफूसँग राख्नुपर्छ। म्यानपावर कम्पनीले दिएको जानकारी, विज्ञापन र करारपत्रमा उल्लेख भएको काम तथा सुविधाबीच फरक भएमा श्रमिकले हस्ताक्षर गर्नुअघि स्पष्ट जानकारी माग्नुपर्छ। एउटै रोजगारीका लागि फरक–फरक सम्झौतामा हस्ताक्षर नगर्न पनि विभागले सचेत गराएको छ।
