नयाँ उद्यमी र साना व्यवसायीका लागि ‘ग्लोबल आइएमई उद्यमशाला’, आवेदन खुला
२ हप्ते बिजनेस एक्सेलेरेशन र ५–६ महिनाको बिजनेस इन्क्युबेशन कार्यक्रममार्फत मेन्टरसिप, तालिम, वित्तीय परामर्श र व्यवसायिक सञ्जाल उपलब्ध हुने
काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ उद्यमी, स्टार्टअप तथा साना र मझौला व्यवसायीलाई लक्षित गर्दै ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
कार्यक्रममार्फत व्यवसाय सुरु गर्न चाहने युवाहरू, नयाँ सोच भएका व्यक्तिहरू, स्टार्टअप र नेपालमा सञ्चालनमा रहेका साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विकास, मेन्टरसिप, वित्तीय परामर्श, बजार तथा सञ्जाल विस्तारमा सहयोग गर्ने उद्देश्य राखिएको छ।
दुई किसिमका कार्यक्रम
‘ग्लोबल आइएमई उद्यमशाला’ अन्तर्गत दुई किसिमका कार्यक्रम सञ्चालन हुनेछन्।
१. बिजनेस एक्सेलेरेशन कार्यक्रम
यो २ हप्ते मेन्टरसिपमा आधारित कार्यक्रम हो। हाल सञ्चालनमा रहेका दर्ता भएका व्यवसाय, स्टार्टअप तथा साना र मझौला उद्यमहरू यसमा सहभागी हुन सक्नेछन्।
विशेषगरी कानुनी प्रक्रिया, व्यवसाय सञ्चालन, स्रोत व्यवस्थापन, नाफा वृद्धि, बजार विस्तार, वित्तीय व्यवस्थापन, उत्पादन वा सेवा सुधारजस्ता चुनौती भोगिरहेका व्यवसायीहरूका लागि यो कार्यक्रम उपयोगी हुने बैंकले जनाएको छ।
यसमा सहभागी हुने व्यवसायीलाई सम्बन्धित क्षेत्रका अनुभवी मेन्टर तथा विज्ञहरूले व्यावहारिक सुझाव, समस्या समाधानका उपाय र व्यवसाय विस्तारका रणनीतिमा मार्गदर्शन गर्नेछन्।
२. बिजनेस इन्क्युबेशन कार्यक्रम
यो ५ देखि ६ महिनासम्म चल्ने कार्यक्रम हो। व्यवसाय सुरु गर्ने सोच भएका तर अझै व्यवसाय सुरु नगरेका युवाहरू, नयाँ उद्यमी र व्यवसायिक आइडिया भएका व्यक्तिहरूका लागि यो कार्यक्रम लक्षित छ।
यस कार्यक्रमले सहभागीहरूलाई व्यवसाय दर्ता, स्टार्टअप विकास, व्यवसायिक योजना निर्माण, लेखा प्रणाली, कानुनी अनुपालन, स्रोतको सदुपयोग, बजार रणनीति, सञ्चालन व्यवस्थापन र उद्यमशीलता विकासमा सहयोग गर्नेछ।
काम, अध्ययन वा अन्य जिम्मेवारीसँगै सहभागी हुन सहज होस् भनेर मेन्टरसिप तथा तालिम सत्रहरू मुख्यतः सप्ताहन्त वा बिदाका दिन सञ्चालन हुने बैंकले जनाएको छ।
कसले आवेदन दिन सक्छन्?
नेपालमा सञ्चालनमा रहेका दर्ता भएका स्टार्टअप, साना तथा मझौला उद्यम, व्यवसायिक आइडिया भएका नेपाली नागरिक वा नेपालमा दर्ता भएका संस्था तथा व्यवसायहरूले आवेदन दिन सक्नेछन्।
प्रविधि, कृषि, पर्यटन, उत्पादन, सेवा क्षेत्रलगायतका क्षेत्रमा काम गरिरहेका वा काम गर्ने योजना बनाएका व्यवसाय र उद्यमीहरूका लागि यो कार्यक्रम खुला छ।
दर्ता भएका व्यवसाय मात्र होइन, बजार सम्भावना भएका नयाँ व्यवसायिक सोच वा आइडिया भएका व्यक्तिहरूले पनि आवेदन दिन सक्नेछन्। आवेदकमा नवीन सोच, व्यवसाय विस्तारको सम्भावना, कार्यक्रममा पूर्ण रूपमा सहभागी हुने प्रतिबद्धता, दिगोपन र रोजगारी सिर्जनामा योगदान गर्ने सोच हुनु आवश्यक मानिएको छ।
कार्यक्रमले महिला, सीमान्तकृत समुदाय, दुर्गम क्षेत्रका उद्यमी, कम अवसर पाएका समूह र फरक क्षमता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ।
सहभागीहरूले के–के सुविधा पाउँछन्?
छनोट भएका सहभागीहरूले अनुभवी क्षेत्रगत मेन्टरबाट मार्गदर्शन पाउनेछन्। साथै, व्यवसाय विकास, मार्केटिङ, वित्तीय व्यवस्थापन, कानुनी अनुपालन, डिजिटल उपकरणको प्रयोग, लगानी तथा ऋण तयारी, बजार सञ्जाल र व्यवसाय सञ्चालनसम्बन्धी तालिम तथा परामर्श पाउनेछन्।
कार्यक्रमले सहभागीलाई सहकार्य गर्ने ठाउँ, प्राविधिक स्रोत, लगानीकर्ता तथा व्यवसायिक सञ्जालसँग जोडिने अवसर पनि दिनेछ। कार्यक्रम पूरा गर्ने सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नेछन्।
के यो ऋण वा अनुदान कार्यक्रम हो?
यो कार्यक्रम प्रत्यक्ष रूपमा अनुदान वा ऋण वितरण गर्ने योजना होइन। तर, यसले उद्यमी र व्यवसायहरूलाई बैंक तथा लगानीकर्तासँग जोडिन, ऋणका लागि आवश्यक कागजात तयार गर्न, वित्तीय रूपमा व्यवस्थित हुन र व्यवसायलाई बैंक–रेडी तथा ग्रोथ–रेडी बनाउन सहयोग गर्नेछ।
कार्यक्रमपछि सहभागीहरूलाई बैंक, लगानीकर्ता, व्यवसायिक सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग जोडिने अवसर उपलब्ध हुन सक्नेछ।
कसरी आवेदन दिने?
इच्छुक व्यक्तिहरूले ग्लोबल आइएमई बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘Global IME Udhyamshala’ आवेदन फाराम भरेर आवेदन दिन सक्नेछन्। आवेदन दिने लिंक https://tinyurl.com/yeyeyzyt
वा थप जानकारीको लागि ग्लोबल बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
आवेदन फाराममा आफूले कुन कार्यक्रमका लागि आवेदन दिने हो, छान्नुपर्नेछ। फाराममा स्टार्टअप वा व्यवसायको नाम, स्थापना वर्ष, दर्ताको प्रकार, PAN/VAT विवरण, ठेगाना, सम्पर्क व्यक्ति, फोन नम्बर, इमेल, व्यवसायको क्षेत्र, व्यवसायको छोटो विवरण, हालको अवस्था, कर्मचारी संख्या, नवीनता, आम्दानीको मोडल, प्रमुख उपलब्धि, कार्यक्रममा सहभागी हुन चाहनुको कारण, हालका चुनौती र आगामी २–३ वर्षको योजना उल्लेख गर्नुपर्नेछ।
दर्ता भएको व्यवसाय भए व्यवसाय दर्ता प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। सीमान्तकृत, अल्पसंख्यक, वञ्चित वा फरक क्षमता भएका व्यक्ति वा समूहसँग सम्बन्धित प्रमाण भए त्यसलाई पनि अपलोड गर्न सकिनेछ।
आवेदन जुन २७, २०२६ देखि खुला गरिएको छ। इच्छुक उद्यमी तथा व्यवसायीले म्याद र थप विवरणका लागि ग्लोबल आइएमई बैंकको आधिकारिक वेबसाइटमा रहेको उद्यमशाला पृष्ठ हेर्न सक्नेछन्।
छनोट कसरी हुन्छ?
कार्यक्रमका लागि सहभागी छनोट गर्दा व्यवसाय वा आइडियाको सम्भावना, आवेदकको प्रतिबद्धता, व्यवसायिक सोचको स्पष्टता, नवप्रवर्तन, दिगोपन, रोजगारी सिर्जना गर्ने सम्भावना र कार्यक्रमका प्राथमिक क्षेत्रसँगको मिल्दोजुल्दोपनलाई आधार मानिनेछ।
छनोट भएका सहभागीहरूले नियमित रूपमा सत्रमा सहभागी हुनुपर्ने, असाइनमेन्ट पूरा गर्नुपर्ने, मेन्टरसँग काम गर्नुपर्ने र सिकाइलाई आफ्नो व्यवसाय वा व्यवसायिक योजनामा लागू गर्नुपर्नेछ।
