पर्वतको गाउँदेखि युनेस्कोको शिक्षा प्रमुखसम्म
पर्वतको वाहाकीमा जन्मिएका सन्तोष खत्रीले प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट हासिल गरे। बुवा भारतीय सेनामा कार्यरत भएकाले उनी बाल्यकालमै बुवासँग भारत गए र बाँकी पढाइ त्यहीँ पूरा गरे। भारतमा स्नातकसम्मको अध्ययन सकेपछि उनी नेपाल फर्किए र नेपालको शिक्षा क्षेत्रमा करिब सात वर्ष काम गरे।
नेपालमा काम गर्ने क्रममा उनले दूरदराजका गाउँ–गाउँसम्म पुगेर विद्यालय, विद्यार्थी, शिक्षक र समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाए। यही अनुभवले उनलाई नेपालको शिक्षा प्रणालीका समस्या, ग्रामीण क्षेत्रका बालबालिकाले भोग्ने कठिनाइ, शिक्षामा पहुँचको अभाव र गुणस्तरीय शिक्षाका चुनौतीलाई नजिकबाट बुझ्न सहयोग गर्यो। नेपालमा प्राथमिक शिक्षा विस्तारमा योगदानको अनुभव संगालेर सन २००२ मा युनेस्को मुख्यालय पेरिसमा काम गर्न छनोट भए। युनेस्कोको अभिलेखमा उनी पेरिसस्थित युनेस्कोमा “दिगो विकासका लागि शिक्षा दशक” सम्बन्धी कामसँग जोडिएको उल्लेख छ। युनेस्कोको मुख्यालयमा लामो समय काम गर्दा विश्वका ४० वटा भन्दा बढी देशहरुलाई शिक्षा सम्बन्धी प्राविधिक सल्लाहसेवा प्रदान गरिसकेका छन।
त्यसपछि उनले युनेस्कोको शिक्षा विभागअन्तर्गत कम्बोडिया, भियतनाम, अफगानिस्तान, इराकलगायतका देशमा काम गरे। कम्बोडियामा उनी युनेस्को नोमपेन्ह कार्यालयमा शिक्षा कार्यक्रम विशेषज्ञका रूपमा कार्य गरे।
हाल खत्री युनेस्कोको जकार्ता क्षेत्रीय कार्यालयमा “चीफ अफ एजुकेसन” का रूपमा कार्यरत छन्। जहाँ उनले शिक्षक क्षमता विकास, गुणस्तरीय शिक्षा र शिक्षा प्रणाली सुदृढीकरणसँग सम्बन्धित काममा नेतृत्वदायी भूमिका खेलिरहेका छन्। युनेस्कोको उच्च तहमा पुग्ने उनी औंलामा गन्न सकिने नेपालीमध्ये पर्छन्।

गाउँको साधारण विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा अहिले अन्तर्राष्ट्रिय शिक्षा नेतृत्वसम्म पुगेको छ। युनेस्कोको उच्च तहमा पुग्ने उनी औंलामा गन्न सकिने नेपालीमध्ये पर्छन्। शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार हो भन्ने विश्वास राख्ने खत्री विशेषगरी अवसरबाट वञ्चित, ग्रामीण तथा दूरदराजका बालबालिकासम्म गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न प्रतिबद्ध छन्।
उनी भन्छन्, “शिक्षा नै मेरो जीवनको मुख्य आधार हो। अवसरबाट वञ्चित विश्वका दूरदराजका बालबालिकासम्म शिक्षाको पहुँच पुर्याउनु नै मेरो मुख्य लक्ष्य हो।”
