खाद्य र दाना उद्योगको अनुमति अब अनलाइनबाटै
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सेवाग्राहीको समय बचत र सुशासनलाई ध्यानमा राख्दै खाद्य तथा दाना उद्योगहरूको अनुमति प्रक्रियालाई पूर्ण रूपमा अनलाइन बनाएको छ। विभागले ‘नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली’ (NeFFILS) सञ्चालनमा ल्याएको जानकारी गराउँदै अब सबै सेवाहरू सोही पोर्टलबाट लिन आग्रह गरेको छ।
यस अनलाइन प्रणालीमार्फत उद्योग स्थापनाका लागि आवश्यक सिफारिस पत्र लिन, नयाँ अनुज्ञापत्र (License) प्राप्त गर्न, पुरानो अनुमति नवीकरण गर्न, उत्पादन थप गर्न र अनुमति खारेजी सम्बन्धी निवेदन दिन सकिनेछ।
सेवा लिन इच्छुक उद्योगीहरूले विभागको आधिकारिक पोर्टल https://neffils.dftqc.gov.np/ मा गई आफ्नो खाता दर्ता गर्नुपर्नेछ। थप जानकारीका लागि विभागले वेबसाइटमै प्रयोगकर्ता निर्देशिका (User Guide) समेत उपलब्ध गराएको छ। यो कदमले सरकारी सेवामा हुने ढिलासुस्ती कम गर्ने र पारदर्शिता बढाउने विश्वास लिइएको छ ।
