दक्षिण कोरियामा रोजगारीको अवसर: कामदार लैजान आवेदन खुला
नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिच भएको सम्झौता अनुसार ‘जीटूजी’ (G2G) प्रक्रिया अन्तर्गत ‘रुट इन्डस्ट्री’ अन्तर्गत वेल्डिङ क्षेत्रमा नेपाली कामदार लैजाने भएको हो । यसका लागि इच्छुक युवाहरूले चैत्र ३ गतेदेखि चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
को–को हुन् त योग्य उम्मेदवार?
यस अवसरका लागि आवेदन दिन कक्षा १२ उत्तीर्ण भएको, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको र अन्य देशमा रोजगारीका लागि जान कुनै कानुनी अवरोध नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
तालिम र प्रक्रिया:
आवेदन दिएका उम्मेदवारहरूले रुपन्देहीको बुटवलस्थित ‘कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय’ मा २४० घण्टाको तालिम लिनुपर्नेछ। तालिममा १२० घण्टा वेल्डिङसम्बन्धी प्राविधिक प्रशिक्षण र १२० घण्टा कोरियन भाषा अध्ययन समावेश गरिएको छ। तालिमको खर्च प्रशिक्षार्थी स्वयंले बेहोर्नुपर्नेछ। आवासीय सुविधा नलिनेका लागि न्यूनतम ५५ हजार ५०० रुपैयाँ र आवासीय सुविधा लिनेका लागि न्यूनतम ८८ हजार रुपैयाँ शुल्क लाग्नेछ।
तालिम अवधिमा कम्तीमा ८० प्रतिशत उपस्थिति कायम गर्ने, अभ्यास परीक्षामा औसत ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने र भाषा परीक्षामा उच्च अंक ल्याउने उत्कृष्ट ५० जनालाई मात्र अन्तिम योग्य सूचीमा राखिने व्यवस्था छ।
आवेदन कसरी र कहाँ दिने?
इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट वा तोकिएको अनलाइन प्रणालीमार्फत आफ्नो आवश्यक शैक्षिक प्रमाणपत्र र कागजातसहित आवेदन दिन सक्नेछन्। यसबारे विस्तृत जानकारीका लागि वैदेशिक रोजगार विभागको सूचना पाटी वा आधिकारिक पोर्टल https://dofe.gov.np/ हेर्न सकिनेछ।
आधिकारिक सूचनाका लागि : files_1773644416
