अब स्थानीय निकायबाटै श्रम स्वीकृतिका लागि सहयोग लिन मिल्ने
वैशाख १ गतेदेखि सातै प्रदेशका ७ सय ५३ स्थानीय तहबाट वैदेशिक रोजगारीको श्रम स्वीकृतिको लागी सहजिकरण गरिदिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन फाराम भर्न चाहिने आवश्यक कगजातहरु बारे स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रले सहयोग गरिदिने जनाएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, र सुरक्षित बनाउनको लागि सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जीविकोसँगको कुराकानीमा बताए ।
उनी भन्छन्, “बाहिर जिल्लाबाट काठमाडौं आउनु पर्ने, काठमाडौं आएपछि पनि दलालले मिलाइदिने भन्दै जुन ठगी गरिरहेका छन्, त्यो सबै हटाउन खोजिएको हो । जसले गर्दा वैदेशिक रोजगारीमा जाने ठगीबाट बच्ने छन् । अब स्थानीय तहबाटै श्रम स्वीकृतिको फारम भर्नका लागि म अनुरोध गर्दछु”
अब स्थानीय तहबाटै सजिलोसँग श्रम स्वीकृतिका लागि फारम भर्न अनुरोध गर्दै प्रवक्ता डण्डुराजले यसो भने:
स्थानीय निकायको सहयोगमा वैदेशिक रोजगारिमा जानेहरुका लागि श्रम स्विकृति लिनको लागि फाराम भर्न, फारम भर्नको लागि चाहिने कागजातहरु मिलाउने लगाएतका काम गर्ने भएको छ । साथै वैदेशिक रोजगारमा जाँदा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुराहरूको बारेमा जनचेतना जगाउने काम गर्नेछ । यसले गर्दा बाहिर जिल्लाबाट काठमाडौं आउनु पर्ने, काठमाडौं आए पछि पनि दलालले ठग्ने जस्ता समस्या हटाउनका लागि यो प्रयास गरिएको हो ।
म सबै सरोकारवालामा के भन्न चाहान्छु भने अहिले श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रम स्वीकृति दिने प्रणालीलाई विकेन्द्रीकृत गरेको छ।
अहिले काठमाडौंको ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयसँगै अन्य ६ स्थान; बिराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत अनि धनगढीबाटबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।
त्यसका साथै कोही पनि बिचौलीयालाई प्रयोग नगरी तपाईंहरूकै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिका लागि सहयोग लिनसक्नुहुन्छ । हामीले सोही अनुरूपको निर्देशन सम्बन्धित स्थानीय तहहरूलाई दिइसकेका छौँ ।
त्यसैले म वैदेशिक रोजगारीमा जान लाग्नुभएका सम्पूर्णमा श्रम स्वीकृतिको फारम भर्नका लागि स्थानीय तहहरूको सहयोग लिन जानुहोस् भनेर अनुरोध गर्न चाहान्छु ।