यहाँ ४० कटेपछि पनि रमाउन पाईदैँन !

धर्मराज रिमाल २०७९ चैत १७ गते २१:१२

सजिलै अनुमान लगाउन सकिन्थ्यो, उनले पक्कै ५० वर्ष नाघिसके । तर वाध्यता र विवशताले गर्दा होला ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना बाँडेको देशको एउटा नागरिक राहदानी विभाग अगाडि पासपोर्ट रिन्यू गर्न लामबद्ध थियो ।

यो दृश्य देखेपछि केही दिनदेखि मन आशान्त छ । मन कुडिएको छ ।

म आफूलाई आशावादी मान्छे भन्न रुचाउँछु । साँच्चै भन्नुपर्दा आजको दिनसम्म हत्तपत्त निराशाले मलाई आफ्नो काबुमा राख्न सकेको छैन। मेरा साथी सर्कलमा जब चिया गफमा राजनीतिका कुरा आउँछन् तब मेरा साथीहरूले राजनीतिक दल, तिनका नेतृत्व, सरकार, संसद् सबैको सत्तोसराप गर्छन् । तर म भने देश बनाउने भनेको नेतृत्व र नागरिकको आपसी पहल हो भनेर आफूलाई भिन्दै कित्तामा उभ्याउँछु । ‘देश बिगारे नेताहरूले’ भन्दै जब साथीहरू गफ सुरु गर्छन् तब म ‘देश सपार्न तैँले र मैले के गर्यौँ ?’ भनेर प्रश्न गर्ने गर्छु । साथीहरूको अपेक्षा छ, रातारात देशमा कायापलट हुनुपर्छ तर मेरो विश्वास छ परिवर्तन भनेको नियमित र गतिशील हुन्छ, धैर्य भएर प्रयास गरिरहनुपर्छ ।

सुरुवातमै यति धेरै भूमिका बाँध्नुको कारण पछिल्लो केही दिनदेखिको मेरो ‘अशान्त मन’ नै हो । पछिल्लो एक सातामा केही यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा छाइरहे जसले मेरो ‘आशावादी आत्मविश्वास’को जगलाई ८ रेक्टरको ‘तितो यथार्थ’को झट्काले हल्लाई दियो ।

हो, मलाई अहिले लाग्न थालेको छ, ‘परदेशबाट म आउँला.. चालीस कटेसी रमाउँला’ भनेर गाएका हेमन्त रानाले सो गीतको शब्द सच्याएको भए हुन्थ्यो । ‘चालीस कटे पनि स्वदेश आउन पाइन, जहान बाल बच्चासँग रमाउन पाइन’ भनेर साइली गीतको दोस्रो भागमा फेरी गाउन् भन्ने मेरो आग्रह छ उनीसँग ।

किन विक्षिप्त भएँ म ?

जीर्ण भएको सेतो कमिज, उस्तै रङको फुलेको केश, खुट्टामा फित्ते चप्पल, गलामा गम्छा अनि मास्कले मुख ढाक्दा पनि उदास र थकित देखिने प्रौढ उमेर लाग्दै गरेका एक व्यक्ति त्रिपुरेश्वर काठमाडौंमा रहेको राहदानी विभागको ‘अत्यावश्यक टोकन’ लिने लाइनमा एक घण्टादेखि उभिरहेका थिए । बेलाबेलामा उनलाई पालो दिन २०-२२ लाग्दै गरेको एउटा युवा आउँथ्यो तब उनी छेउमा बसेर आराम गर्थे ।

त्रिपुरेश्वर काठमाडौंमा रहेको राहदानी विभागको ‘अत्यावश्यक टोकन’ लिने लाइनमा ५४ वर्षे राम मण्डल

‘तपाईंको बुवा हो वहाँ ?’ युवालाई सोधेँ मैले । उनले भने, “गाउँको काका हो । छुट्टीमा आउनुभएको थियो अब फर्किहाल्नु पर्ने भएकाले पासपोर्ट रिन्यू गर्न आउनु भएको हो’

‘कति उमेर भयो वहाँको ?’ मैले सोधेँ । हातमा रहेको नागरिकता देखाउँदै उनले भने ‘५४ वर्ष कट्नुभयो’

विस्मित हुँदै मैले फेरी सोधेँ, ‘यो उमेरमा पनि विदेश ?’

ती युवाले फिक्का हाँसो मात्र हाँसे, थप केही भनेनन् वा भन्न चाहेनन् । सायद २०-२२ वर्षे ठिटोले आफ्नो भविष्यलाई ५४ वर्षे गाउँले काका उभिएको लाइनमा देख्दै थियो ।

एक चिम्टी खैनी मुखमा च्यापेर गाउँले काका फेरी लाइनमा उभिन आइपुगे ।

सोध्न मन थियो, ‘काका यो उमेरमा पनि किन विदेश’ भनेर । तर आगोले पोल्छ, कागती अमिलो हुन्छ, अँध्यारोमा देखिँदैन, पृथ्वी गोलो छ जस्ता सर्वमान्य सत्य जस्तै थियो उत्तर पनि – ‘देशको हालत’

‘काका, कुन देश जान लाग्नुभएको ?’ आफूलाई रोक्दारोक्दै पनि प्रश्न फुत्कियो मेरो मुखबाट ।

‘कतार हो बाबु’ मधेशी लवजमा काकाले उत्तर दिए ।

‘कहिले छ फ्लाइट ?’ कुराकानीलाई निरन्तरता दिए मैले ।

‘तुरुन्तै बोलाएको छ कम्पनीले वही कारण पासपोर्ट बनाउन आएको’ पासपोर्ट नवीकरण गर्नुको कारण खुलाउँदै काकाले छोटो उत्तर दिए ।

खाडी पस्नका लागि भनेर सयौँ मान्छेको भिडमा उभिएर टोकन लिने, स्पष्टीकरण दिने, रुजु गर्ने अनि पैसा तिर्ने काममा वृद्ध हुँदै गरेको शरीर कुदेको देख्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गिज्याइरहेको भान भयो ।

पैसा बुझाएर काकाले मलाई ‘नौ नम्बर कोठा कता हो बाबु ?’ भनेर सोधे । त्यहाँ कार्यरत प्रहरीलाई सोधेर काकालाई त्यता जाने बाटो देखाइदिएँ । इ-पासपोर्टका लागि फोटो खिचाएर विवरण पेश गरी फर्किएका काकाले अब पर्सि पासपोर्ट लिन आउने कुरा सुनाए मलाई ।

उनको कथा जान्न मन लागेर सोधेँ, ‘काका, कतारमा के काम गर्नुहुन्छ ?’

‘के काम हुनु बाबु, उही लेबर हेल्पर काम हो । कहिले यहाँ भारी बोक्ने अनि कहिले वहाँ भारी पुर्‍याउने’ कागजात बुझाएर गाउँले भतिजोको डेरामा जान हतारिएका काकाले भने, ‘हामीले पाउने काम यही नै हो अनि १०-१२ घण्टा खटेर कमाउने भनेको बढीमा त्यही ३५ हजार हो बाबु ‘

युवा उमेरमा भारतमा रोजगारीका लागि भौँतारिएका रहेछन् काका । नाम बल्ल थाहा भयो – राम मण्डल अनि घर – महोत्तरी । १० वर्ष भएछ कतारको गर्मीमा सेकिएर गुजारामुखी कमाइ गर्न थालेको । अझै १-२ वर्ष खाडीमै हाड छाला घोट्ने र कम्पनीमा भएको बचत रकम लिएर देश फिर्ने योजना छ उनको ।

दुई छोरा र एक छोरीका बाउ हुन् उनी । जेठो छोरो २२ वर्षको छ, उ पनि काम गर्छ तर कमाइ भने उस्तै । खेतबारी पनि छ काकाको तर त्यहाँको उब्जनीले केही महिनालाई मात्र भरथेग गर्छ । जीवन चलाउनका लागि राम मण्डल जस्ता वृद्ध उमेरका काका खाडी नपसेर के गरुन् त अनि ? 

हातगोडा चलुन्जेल काकाले रगत पसिना बगाउलान् त्यसपछि त खाडीमा बाउलाई पालो दिन उनको छोरा तयार भएकै छ । छोरोले पनि आफ्नो छोरोलाई फेरी म्यानपावर धाउन अनि देश छोड्न सिकाउनै पर्ने वाध्यता छ ।

‘आफ्नो स्वास्थ्यको ख्याल गर्नुस् है काका’ भन्दै उनीसँग छुट्टिएँ ।

काका जाँदै गरेको देख्दा लाग्यो देश त डढेलो लागेको वन जस्तै पो भएछ । बेरोजगारीको डढेलो, बेइमानीको डढेलो, धोकाधडीको डढेलो, भ्रष्टाचारको डढेलो, राजनीतिक दलको गद्दारीको डढेलोले देश सखाप बनाइसकेको रहेछ । यो डढेलो निभेर फेरी पालुवा लाग्ने कहिलेकहिले ।

विद्यालय तहको पढाइ सकाएर ‘खाडीमा भेटौँला साथी’ भन्दै छुट्टिन्छन् किशोरकिशोरीहरू ।

न किशोरकिशोरीले देशभित्र सपना देख्न पाएका छन्, न युवाले आफ्नो पसिना यहाँ बगाउन पाएका छन् । राम मण्डल जस्ता वृद्ध उमेरका काकाले त धर पाएका छैनन् भने सुखी र समृद्ध देशको सपना त गुलाबी ‘कटन क्याण्डी’ जस्तै हो । देख्न चाँहि ठूलो र आकर्षक देखिने तर मुखमा पर्ने बित्तिकै बिलाउने ।

जनगणना २०७८ ले भन्छ, ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिले कुनै पनि आर्थिक आय हुने काम गर्दैनन्, यो कूल जनसंख्याको ३०.७७ प्रतिशत हो । २१ लाख ९० हजार ५१२ जना व्यक्ति प्रवासमा छन् जुन अघिल्लो जनगणना भन्दा २ लाख ६९ हजार ९८ ले बढी हो । देशबाट भागेर विदेश पुगे पनि कहाँ सजिलो छ र नेपालीलाई ? वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार यो वर्षको साउनदेखि पुष मसान्तसम्म ६१२ जनाले आफ्नो ज्यान गुमाए भने ११४ जना अङ्गभङ्ग भएर काम गर्न नसक्ने अवस्थामा फर्किएका छन् । दैनिक २ हजार जनाले मुलुक छोड्दै छन् । गत महिना फागुनमा मात्र ६२ हजारले श्रम स्वीकृति लिए । यो आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा सवा ५ लाखले देश छोडेका छन् । दुःख त झन् त्यतिबेला लाग्छ जतिबेला देशमा करिव आधा जनसंख्या (४२%) युवाको छ तर देश युवाविहीन बनेको छ ।

सरकार रेमिट्यान्सको ओछ्यानमा सुतेर समृद्धिको सपना देखाउँदैछ । देशभित्रै रोजगारी र अवसर भन्दै सरकार हरेक वर्ष पानीका फोका जस्ता बजेट निकाल्छ, नीति तथा कार्यक्रम बनाउँछ तर पासपोर्ट बनाउनेको भिड थामिदैन अनि पलायन हुनेको संख्या लाखौँमा बढ्छ ।

अहिले काठमाडौंमा मिटरब्याज पीडितहरू जम्मा भएका छन् तर यो तमाम अवस्था हेर्दा लाग्छ, सरकार आफै ‘मिटरब्याजी’ बनेको छ अनि विदेशिनेहरू मिटरब्याज पीडित । नेपालमा जन्मिएकै कारण लागेको ऋणको बोझ परदेशिनेहरूको कति पुस्ताले रेमिट्यान्सको नाममा तिर्नुपर्ने हो कसैलाई थाहा छैन ।

यहाँ सत्ता र शक्तिका लागि दलहरूले गठबन्धन बनाउँछन् र भत्काउँछन् । विडम्बना, युवाको एउटा ठूलो जमात तिनै राजनीतिक दलका नेताहरूको भक्त भएर बसेका छन् । उद्यमीले यहाँ आत्मदाह गर्छन् अनि अनुदान लिन पार्टीका नेता कार्यकर्ता रातारात उद्यमी बन्छन् । चुनावका बेलामा अनि सरकार बनाउने बेलामा एजेण्डा मिल्दछन् तर जनताका आधारभुत आवश्यकताको सम्बोधन गर्ने सवालमा मत बाझिन्छन् ।

नबोली बस्न मनले मान्दैन, बोल्यो भने सुन्ने कुनै निकाय हुँदैन । सुनिहाले भने पनि जिम्मेवार भएर काम गर्ने कोही भेटिँदै भेटिँदैन ।

अवस्था यस्तै रह्यो भने राम मण्डल काकाको नातिसम्मले मिटरब्याजी सरकारको ऋण तिर्न रेमिट्यान्सको बोझ बोकिदेला तर मण्डल काकाको कमिज जस्तै जीर्ण भएको मुलुक सङ्कटको दलदलमा फस्यो भने कसरी पार लाग्ला ?

ट्विटर : twitter.com/DharmaRajRimal3

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *