मलेसिया रोजगारी: नेपालीले पाउने सेवा, सुविधा र तलब बढ्ला ? (भिडियो संवाद)

जीविको २०७९ माघ २९ गते १७:२९

मलेसियामा कार्यरत नेपालीको सेवा, सुविधा र तलब वृद्धि गर्नका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल सकारात्मक रहेको नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् ।

गत माघको तेस्रो साता मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपाल भ्रमणमा आएका थिए । । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्याल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेर नेपालीलाई अब मलेसिया रोजगारीमा तलब तथा सेवा, सुविधा अनि सामाजिक सुरक्षामा त्यहाँकै नागरिक सरह व्यवस्था गर्ने नेपाल सरकारको प्रस्तावमा गहिरो छलफल गरेका थिए ।

प्रवक्ता डण्डुराजको विश्वास छ – श्रम सम्झौता कार्यान्वयनका विषयले प्राथमिकता पाएको यस भ्रमणबाट नेपाललाई धेरै लाभ हुने छ । 

हेर्नुहोस्, यसबारेमा गरिएको भिडियो संवाद

नेपालीहरूको वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियामा मासिक ४५ हजार रुपैयाँ न्यून्तम पारिश्रमिक रहेको छ भने यहाँ ४ लाखभन्दा बढी नेपाली कार्यरत रहेको सरकारी तत्थ्याङ्क छ  । 

हाल ठूलो सङ्ख्यामा नेपालीहरू काम गरिरहेको मलेसियामा उल्लेख्य सङ्ख्यामा कामदार लैजाने मलेसिया सरकारको सङ्केत छ । प्रवक्ता डण्डुराजका अनुसार मलेसियन गृहमन्त्रीलाई त्यहाँ रहेका श्रमिकहरूले दैनिक कामको समयमा भोग्नुपरेका समस्याहरूबारे जानकारी गराएको र श्रमिकका समस्याहरूलाई समाधान गर्नका लागि मलेसियन सरकार तत्पर देखिएको छ । 

डण्डुराज भन्छन्, “मलेसियामा रहेको सामाजिक सुरक्षा कोष सोस्कोमा नेपाली कामदारलाई पनि आवद्ध गराइ श्रमिक सुरक्षाको क्षेत्रमा काम गर्ने, त्यहाँ काम गर्ने श्रमिकको जीउधनको सुरक्षाका लागि मलेसियन सरकार जिम्मेवार बन्ने जस्ता सकारात्मक प्रतिकृया हामीले मलेसियाका गृहमन्त्री ज्यूबाट पाएका छौं ।”

सोस्कोका बारेमा बुझौँ :

पेशागत सुरक्षा योजनाहरू मार्फत कामदार र तिनीहरूमा आश्रित परिवारहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नु सोस्को मुख्य काम हो। मलेसियाको सामाजिक सुरक्षा ऐन अन्तर्गत गठन भएको यस संगठनले कामदारको दुर्घटना भएमा वा वैदेशिक रोजगारीका क्रममा कुनै रोग लागेमा कामदारलाई वा उसको परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने गर्दछ । मलेसियाका नागरिक मात्र होइन त्यहाँ कार्यरत नेपालीहरू पनि यो स्किममा जोडिँदै गएका छन् ।

रोजगारदाता कम्पनीले कामदारले पाउने मासिक तलबको १.२५ प्रतिशत रकम मासिक रुपमा बुझाएर सोस्कोमा आबद्ध हुन सकिन्छ । विदेशी श्रमिक भर्ना गर्दा मलेसियाको रोजगारदाता कम्पनीले सोस्कोमा कामदार दर्ता गराउनुपर्ने प्रावधान रहेको छ ।

सोस्कोलाई मलेसियामा पेर्केसो भनिन्छ । SOCSO (Social Security Organization) is sometimes referred to as PERKESO (Pertubuhan Keselamatan Sosial).

थप जानकारीको लागि मलेसियामा रहेकाहरूले सोस्कोको ग्राहक सेवा लाइन १-३००-२२-८००० मा सम्पर्क गर्न सक्नेछन् भने यसको वेबसाइट www.perkeso.gov.my वा मलेसियाभर रहेको कुनै पनि नजिकैको सोस्को कार्यालयमा गएर बुझ्न पनि सकिन्छ ।

हेर्नुहोस्, मलेसियन सरकारसँग नेपाल सरकारले गरेको कुराकानीबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेसँग जीविकोले गरेको भिडियो संवाद :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *