
तपाईंको उत्पादनले बजार पाएन ? सम्झनुहोस् – उद्यमी घरलाई (भिडियो)
नेपालमा आफ्नो व्यवसाय सञ्चालन गर्न खोज्दा वा उद्यम गर्ने सोच बनाउँदा सुरुवातमा नै बजारको चिन्ताले सताउँछ । उद्यम व्यवसाय गरेर वस्तु तथा सेवा उत्पादन त गर्ने, तर त्यसलाई कहाँ लगेर बेच्ने ? बनाएको सामानले बजार पाउने हो की होइन ? भन्ने सोचाइ प्राय सबै नवउद्मद्यमी(स्टार्टअप) लाई आउने गर्छ । त्यसमा पनि धेरैजसो हस्तकलाका सामान बनाउने उद्यमीहरू व्यवसायीक रुपमा अघि बढेपछि त्यो समानको उचित बजार नपाएर समस्यामा पर्ने गरेको पाइन्छ । आफूले उत्पादन गरेको सामानको बजार नपाएपछि, कति उद्यमीहरूले पेशा नै छाडेर अन्य पेशा अँगालेका उदाहरण पनि छन् । यसरी कुनै पनि उद्यमीले आफूले बनाएका सामानको बजार नपाएर समस्यामा नपरून् भन्ने उद्देश्यले ललितपुरको चापागाउँ दोबाटोमा ‘उद्यमी घर’ को स्थापना भएको छ ।
“कतिपय उद्यमीहरूको एउटै गुनासो हुन्छ, हामीले सामान त बनाउँछौ तर कहाँ लगेर बेच्ने भन्ने अन्यौल हुन्छ। त्यसैले उद्यमीहरूलाई बजारको अभाव नहोस्, सामानहरू बिक्री बितरण गर्न सजिलो होस् भन्ने उद्देश्यले हामीले उद्यमी घरको स्थापना गरेका हौ ।” उद्यमी घरका सञ्चालक, दिपक कार्की सुनाउँछन् ।

विगत २ दशकदेखि घरेलु कृषि, हस्तकला तथा लघु उद्यमका क्षेत्रमा निरन्तर काम गर्दै आएका दिपकले देशका ४२ जिल्लामा उद्यमी कसरी बन्ने, व्यवसाय कसरी चलाउने भन्ने बारे तालिम दिए । उनले तालिम दिँदा उनकी श्रीमती सोभा घिमिरे पनि सँगसँगै हुन्थिन् दुबै मिलेर गाउँ गाउँमा दशकसम्म स्थानिय स्रोतको सदुपयोग कसरी गर्नेगरेर नै सामान बनाउन सकिन्छ भनेर सिकाए । यसरी उद्यमशीलताको तालिम दिँदै जाँदा उनीहरूबाट तालिम लिएर धेरै मानिसहरू उद्यमी बने । विशेषत यसरी उद्यम गर्न सुरूवात गरेका उद्यमीहरूले हस्तकला, चित्रकलाका थुप्रै सामानहरू बनाए तर उचित बजार भने भेटेनन् । उद्यमीले बजार नपाउँदा धेरैले आफ्नो व्यवसायनै छाडेको र कतिले व्यवसायको आकार घटाएको दिपक दम्पतीलाई थाहा भयो । त्यसपछि यी दम्पतीलाई सोच पलायो उद्यमीले बनाएका समानहरूलाई बेच्ने एउटा बेग्लै ठाउँ बनाउन पर्छ । फलतः उनीहरूले उद्यमी घर भनेर छुट्टै कम्पनी दर्ता गराए ।

अहिले उनीहरूले उद्यमी घरमा देशैभरबाट उद्यमीहरूले बनाएका हस्तकलाका सामनहरू राखेका छन् । उद्यमी घरको माध्यमबाट उनीहरूले सानो स्तरको व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूले बनाएका हस्तकला तथा चित्रकलाका सामनहरू बिक्री गर्ने गरेका छन् ।
दिपक भन्छन्, “हामीले उद्यमशीलताको तालिम दिँदा तालिम लिने सबैजना उत्साहित हुन्थे सामान पनि बनाउँथे र आफ्नै आइडिया पनि लिएर आउँथे तर तालिम सक्किएको केही महिनापछि नै सामान नबिकेको गुनासो हामीलाई आउने गर्थ्यो । हामीलाई पनि सामान बेच्न यहाँ लैजानु भन्न कुनै ठाउँ थिएन । त्यसैले यस्ता सर-सामान बेच्ने एउटा छुट्टै मार्ट चाहिन्छ भन्ने लागेर उद्यमीघर सुरूवात गर्यौँ ।”

उद्यमी घरमा गाँजाको रेशाबाट तयार गरेका कपडा, बाँसबाट बनेका हस्तकलाका सामाग्रीहरू, काठबाट बनेका विभिन्न सामग्री, माटोका भाँडाकुँडा, स्वदेशी ब्रान्डका गुन्द्री सुकुल, मिथिला चित्रकलाका सामाग्रीहरू जस्ता अनेकौँ सामाग्रीहरू राखिएको छ । यसरी राखिएका सामाग्रीहरू घरमा सजावटका लागि उपहार दिनका लागि एकदमै उपयोगी छन् ।
“यो सबै उद्यमीहरूका लागि खुलामञ्च हो, आफूले उत्पादन गरेका सामान बिक्दैन कि भनेर अब चिन्ता लिनुपर्दैन,” दिपकले भने ।
सरकारले उद्यमशीलता प्रवर्द्धन गर्नका लागि भनेर विभिन्न स्वरोजगार तथा कर्जा कार्यक्रमहरू सुरुवात गरेपनि उद्यमीहरूले उत्पादन गरेका सरसामानलाई बजारसम्म पुर्याउन नसक्दा स्टार्टअपहरू अगाडि बढ्न नसकेको दिपकको बुझाइ छ ।

उनी भन्छन्, “उत्पादकले उत्पादन गरेको सामानलाई बजारको व्यवस्था गर्नुपर्ने जिम्मेवारी सरकारको हो, तर यस विषयमा सरकार त्यति जिम्मेवार देखिँदैन । यदि सरकारले उद्यमीलाई बजारको व्यवस्था गर्न सकेमा नेपाली स्रोत साधनकै उपयोग गरेर बनाइएका सामानहरूले बजार पाउन सक्छन् ।”
हेर्नुहोस् उद्यमी घरका सञ्चालक दिपक कार्कीसँग जीविको डटकमले गरेको भिडियो कुराकानी:
