आफू कार्यरत देशबाटै वेबसाइट मार्फत गरौँ श्रम स्वीकृति नवीकरण

जीविको २०७९ कार्तिक २९ गते १३:२३

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरूले आफू कार्यरत देशबाटै वेबसाइट मार्फत श्रम स्वीकृति नवीकरण गर्नका लागि आव्हान गरेको छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।  

एकपटक श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपाल फर्कि पुनः सोही देशको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर श्रम स्वीकृतिको समयावधि समाप्त भएपछि पुनः श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको भवितव्य परि मृत्यु भएमा, अंगभंग भएमा, दीर्घ रोग लागेमा मृतकको हकमा वैदेशिक रोजगार कल्याणकारी कोषमा भएको रकमबाट शवको व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिम सेवा सुविधा प्रदान गर्ने व्यवस्था छ ।

त्यस्तै रोजगारीमा रहेका नेपाली कामदारलाई कुनै रोग लागे वा अंगभंग भएमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमा वापतको रकम दाबी गर्न सक्ने व्यवस्था छ तर श्रम स्वीकृतिको अवधि सकिएको छ भने यी सेवा सुविधा प्राप्त नहुने हुँदा श्रम स्वीकृतिको अवधि समाप्त हुनु अघिनै वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा लग इन गरि आफू कार्यरत रहेको देशबाट नै श्रम स्वीकृति नवीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ । 

श्रम स्वीकृति नवीकरण गर्दा वैदेशिक रोजगार कल्याणकारी कोष र बीमा वापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैङ्क खाताबाट सोझै वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बीमा कम्पनीको खातामा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । 

आफ्नो श्रम स्वीकृतिको समयावधि वैदेशिक रोजगार विभागको वेबसाइटमा सिधै हेर्न सकिन्छ ।

सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *