काठमाडौं महानगरको ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ : नेपाली अनुसन्धानकर्ताबाट प्रस्ताव माग

जीविको २०८३ भदौ ९ गते १२:४०

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको नीति निर्माण तथा सहरी विकासमा उपयोगी अनुसन्धानलाई प्रोत्साहन गर्न मेयर्स रिसर्च फेलोसिप २०८३’ अन्तर्गत नेपाली अनुसन्धानकर्ताबाट अनुसन्धान प्रस्ताव माग गरेको छ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले २०८३ भदौ ९ गते सूचना जारी गर्दै तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्तालाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनुसन्धान प्रस्ताव (Research Proposal) पेस गर्न आह्वान गरेको हो।

यो अवसर विशेषगरी अनुसन्धान, नीति अध्ययन, सहरी विकास, सामाजिक तथा आर्थिक विषय, वातावरण, शिक्षा, स्वास्थ्य, प्रविधि, शासनलगायत क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्ता, प्राज्ञ तथा विषयगत पेशाकर्मीका लागि हो।

अनुसन्धानकर्ताले काठमाडौं महानगरपालिकाको काम, नीति वा सहरी विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा अनुसन्धान प्रस्ताव तयार गरी प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ।

किन सञ्चालन हुँदैछ मेयर्स रिसर्च फेलोसिप?

महानगरका अनुसार कार्यक्रमको प्रमुख उद्देश्य महानगरको सर्वाङ्गीण विकाससँग सम्बन्धित विषयमा नीतिगत अनुसन्धान (Policy Research) गरेर प्रमाणमा आधारित नीति अर्थात् Evidence-Based Policy निर्माणमा सहयोग पुर्‍याउनु हो।

त्यस्तै कार्यमूलक अनुसन्धान (Action-Oriented Research) मार्फत काठमाडौंको सहरी विकाससँग सम्बन्धित समस्या, आवश्यकता तथा सम्भावित आयोजनाको पहिचान गर्न सहयोग पुर्‍याउने पनि कार्यक्रमको उद्देश्य हो।

यसको अर्थ अनुसन्धान केवल शैक्षिक प्रयोजनमा सीमित नभई महानगरले नीति, योजना वा कार्यक्रम निर्माण तथा कार्यान्वयनमा प्रयोग गर्न सक्ने खालको हुनुपर्ने अपेक्षा गरिएको छ।

कसका लागि हो यो अवसर?

हाल प्रकाशित सूचनाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ता” लाई आवेदन दिन आह्वान गरेको छ। २०८३ को आवेदनका लागि आवश्यक अन्तिम शैक्षिक योग्यता, अनुभव तथा अन्य सर्त महानगरले प्रकाशित गरेको Call for Expression of Interest (EOI) मा हेर्नुपर्नेछ।

यद्यपि, काठमाडौं महानगरपालिकाको आधिकारिक मेयर रिसर्च फेलोसिप कार्यक्रम कार्यविधि, २०७६ मा अनुसन्धानकर्ताका लागि आधारभूत रूपमा निम्न योग्यता उल्लेख गरिएको छ:

  • मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण
  • सम्बन्धित विषयमा कम्तीमा दुई वर्षको अनुभव वा अध्ययन–अनुसन्धान गरेको
  • नेपाली वा अंग्रेजी भाषामा काम गर्न सक्ने
  • आवश्यक सञ्चार सीप तथा कम्प्युटर प्रयोगसम्बन्धी ज्ञान भएको
  • उमेरको निश्चित सीमा नराखिएको
  • योग्य महिला तथा सीमान्तकृत समूहका आवेदकलाई प्राथमिकता दिने व्यवस्था

तर यी प्रावधान २०७६ को मूल कार्यविधिका व्यवस्था हुन्। २०८३ को फेलोसिपमा आवेदन दिँदा अहिले प्रकाशित EOI मा उल्लेख गरिएका अद्यावधिक योग्यता तथा सर्तलाई नै अन्तिम आधार मान्नुपर्नेछ।

कस्ता विषयमा अनुसन्धान गर्न सकिन्छ?

महानगरको कार्यविधिअनुसार अनुसन्धानको विषय काठमाडौं महानगरपालिकासँग प्रत्यक्ष रूपमा सान्दर्भिक हुनुपर्ने र त्यसको नतिजा नीति निर्माण तथा कार्यान्वयनमा प्रयोग गर्न सकिने हुनुपर्ने व्यवस्था छ।

कार्यविधिमा प्राथमिकताका सम्भावित क्षेत्रका रूपमा विभिन्न विषय उल्लेख गरिएका छन्, जसमा:

  • सहरी सुशासन, कानुनी शासन र जनसहभागिता
  • इतिहास, कला, संस्कृति, परम्परा तथा सांस्कृतिक नीति
  • भाषा तथा साहित्य
  • सहरी योजना तथा सहरी डिजाइन
  • भवन निर्माण शैली तथा वास्तुकला
  • यातायात तथा भौतिक पूर्वाधार
  • जनसांख्यिकीय, समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन
  • शिक्षा तथा सामाजिक विकास
  • लैङ्गिक तथा सामाजिक समावेशीकरण
  • अपाङ्गता भएका व्यक्तिसम्बन्धी विषय
  • स्थानीय आर्थिक विकास
  • सहरी वित्त
  • उद्यमशीलता तथा मानव पुँजी विकास
  • गरिबी तथा अनौपचारिक बस्ती
  • प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन
  • जलवायु परिवर्तन तथा अनुकूलन
  • स्वास्थ्य, जीवनस्तर तथा नागरिकको शारीरिक र मानसिक अवस्था
  • वातावरण तथा दिगो विकास
  • प्रदूषण व्यवस्थापन
  • जल पुनर्भरण
  • फोहोरमैला व्यवस्थापन
  • सहरी विकासमा युवाको सम्भावना
  • स्मार्ट सिटी
  • सूचना तथा सञ्चार प्रविधि
  • सरकारी सेवाको डिजिटलाइजेसन तथा डिजिटल विभाजन

लगायत काठमाडौं महानगरको नीति, योजना, विकास तथा सहरी व्यवस्थापनसँग सम्बन्धित अन्य विषय समावेश छन्।

यसपटक कुन विषयलाई विशेष प्राथमिकता दिइएको छ भन्ने विषयमा भने आवेदकले २०८३ को EOI अनिवार्य रूपमा हेर्नुपर्नेछ।

आवेदन कसरी गर्ने?

यसपटक महानगरले जारी गरेको सूचनामा आवेदनका लागि QR Code उपलब्ध गराएको छ।

उक्त QR Code ले काठमाडौं महानगरपालिकाको अनलाइन डेटा कलेक्सन तथा आवेदन प्रणालीमा लैजान्छ।

मेयर्स रिसर्च फेलोसिप २०८३ को अनलाइन आवेदन पोर्टल

आवेदन दिनुअघि अनुसन्धानकर्ताले काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना र Call for Expression of Interest (EOI) ध्यानपूर्वक अध्ययन गर्नुपर्ने महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट

आवेदन दिने समय कति छ?

सूचना २०८३ भदौ ९ गते प्रकाशित भएको हो।

आवेदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *