फोटो : पुष्कल श्रेष्ठ जीविको
वैदेशिक रोजगार विभागमा गठन भयो ‘र्यापीड रेस्पोन्स टिम’
वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न ‘सिघ्र प्रत्युत्तर टोली’ ( र्यापीड रेस्पोन्स टिम ) गठन गरेर उजुरी गर्नका लागि सरकारले ९८५१३३४१०७ नम्बर सार्वजनिक गरेको छ ।
टोलीले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै पनि व्यक्ति, समुह वा संस्थाले वैदेशिक रोजगारमा पठाइ दिने भनेर आश्वासन दिई प्रलोभनमा पारिरहेको, तोकिएभन्दा धेरै रकम असुल गरेको, विदेशमा लगेर अलपत्र पारेको, भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा लगेको जस्ता सूचना प्राप्त भएमा छानविन गर्न आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्ने जनाएको छ ।
यसरी उजुरी दिने व्यक्तिको परिचय गोप्य राख्ने विभागले जनाएको छ । विभागले मोबाइल नम्बरसँगै rrt@feo.gov.np, dg@dofe.gov.np इमेल पनि सार्वजनिक गरेको छ । जेठ १९ गते महानिर्देशकको संयोजकत्वमा गठन गरिएको सिघ्र प्रत्युत्तर टोलीमा विभागसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि पनि सदस्यका रुपमा रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको योजना अनुरूप वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको हो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले बताए ।
उनी भन्छन्, “ अहिले धेरै जसो युवाहरूको रोजाइ भनेको वैदेशिक रोजगारी हो । तर यसक्रममा ठगिने, अलपत्र पर्ने, काम नपाएर दुःख, हन्डर बेहोर्नुपर्ने समस्याहरू दिन प्रतिदिन बढिरहेको हुँदा टोलीले यसलाई समाधान गर्ने काम गर्ने छ ।”
हेर्नुहोस्,सूचना

